समाज

बालिकाको अश्लील भिडियो बनाउनेलाई गाउँलेले समातेर प्रहरीमा बुझाए

विद्यालय अध्ययनरत बालिका तथा महिलाहरुको अश्लील भिडियो बनाएको आरोपमा गाउँलेहरुले एक युवकलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन्।

छिपहरमाई गाउँपालिका वडा नम्बर-५ निवासी ३० वर्षीय सज्जाद आलम अहमदले गाउँपालिका क्षेत्र भित्रका विद्यालय अध्ययनरत बालिका र गाउँका महिलाहरूको अश्लील भिडियो बनाएको आरोपमा गाउँलेहरुले आइतबार नियन्त्रणमा लिएर प्रहरी चौकी भिस्वाको जिम्मा लगाएका हुन्।

स्थानीयले कडा कारबाहीको माग गर्दै भिस्वामा टायर बालेर प्रदर्शन गर्नुका साथै बजार पनि बन्द गराएका थिए। त्यसपछि सज्जादलाई त्यहाँबाट इलाका प्रहरी कार्यालय पोखरियामा ल्याइएकाे इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक मोहनविक्रम केसीले जानकारी दिए।

सज्जादको साथबाट एक थान मोबाइल र २ थान पेनड्राइभ समेत बरामद गरिएको उनले जनाए। साथै उनको मोबाइल र पेनड्राइभमा केही अश्लील भिडियो पनि भेटिएको उनले सुनाए।

केही समय पहिले साउदी अरबबाट वैदेसिक रोजगारीबाट नेपाल फर्किएका उनी त्यसयता यस्तो गतिविधिमा लागेको स्थानीयवासीको आरोप छ।

आरोपित सज्जादलाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखिएको र पिडितहरुलाई लिखित जाहेरी लिएर आउन आग्रह गरिएको केसीले बताए।

‘पीडितबाट जाहेरी आएपछि त्यसकै आधारमा कारबाही प्रक्रिया अगाडि बढ्छ।’ उनले भने।

प्रकाशित: ४ चैत्र २०८० २०:२२ आइतबार