समाज

जो पर्दामा क्रिकेट हेर्दा लखेटिए उनैले बनाए रगंशाला

९ महिनामै तयार क्रिकेट मैदान

गुल्मीका विनोद कुँवरलाई सानैदेखि क्रिकेट खुब मन पर्थ्यो। स्कुल कलेज पढ्दा देखि नै क्रिकेटका राष्ट्रिय/अन्तर्राष्ट्रिय म्याचहरू सकभर नछुटाई हेर्थे। आइटीको विद्यार्थी भएपनि फुर्सद निकालेरै क्रिकेट म्याच हेर्न कीर्तिपुर र मुलपानी मैदान धाउँथे। अन्तर्राष्ट्रिय म्याच ठुलो पर्दामा हेर्न काठमाडौँका मलहरुमा पुग्थे।

एघार वर्ष अघिको कुरा हो, विश्वकप क्रिकेट २०१४ को क्वालिफायर गेमको फाइनल म्याचको दिन थियो। उनको मन पढाइमा लाग्न सकेन। साथीभाइ मिलेर क्वालिफायर गेम ठुलो पर्दामा हेर्न सिभिल मल पुगे। तर भिड यती बढ्यो की क्वालिफायरको अन्तिम ओभर हेर्नै नपाइ उनीहरु त्यहाँबाट लखेटिए।

त्यही भिडमा विनोद र उनका साथी पनि थिए। युवा जोशमा कुँवरले आवेगको ठट्टा गर्दै भनिदिए ‘ठिकै छ कुनै दिन यो भन्दा राम्रो ठाउँमा (अन्तर्राष्ट्रिय रंगशालामै) भिआइपीको ‘रो’ मा बसेर लाइभ क्रिकेट हेरिन्छ।’

कुँवरले भन्छन् ‘त्यो बोली आवेगको थियो, युवा जोशमा तातो रिस थियो, तैपनि समय बित्दै जाँदा बोलेकै कुरा पुरा गर्ने अवसर पाएको छु।’

त्यतीबेलै नेपालले पहिलो पटक क्वालिफायर म्याच जितेर स्वदेश फर्कँदा तीनै विनोद हुर्रिँदै खेलाडीको स्वागतकालागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुगेका थिए। खेलाडीहरूलाई गाडीमा राखेर नगर परिक्रमा गराइँदा उनी हातमा नेपालको झण्डा बोकेर दिनभर मार्चपासमा सहभागी भए।

पहिलो पटक नेपाललाई विश्वकपको यात्रामा लैजान सफल भएका खेलाडीहरूप्रति सर्वसाधारणले देखाएको सम्मान देखेर उनलाई नेपालमा पनि क्रिकेटको भविष्य उज्ज्वल छ भन्ने त्यतीबेलै लागेको थियो।

रुपन्देही स्थित लुम्बिनी इन्जिनियरिङ कलेजबाट वि.इ. सकेपछि भने क्रिकेट मोहलाई थाती राख्दै  सुनौलो भविष्यको खोजीमा उनी अस्ट्रेलिया उडे। सुरुमा क्लिनिङ र हाउसकिपिङको अनुभव समेत बटुलेका विनोदले निरन्तरको परिश्रमबाट दश वर्षमै आइटी कम्पनी एक्स्ट्राटेक ओभल प्रालि स्थापित गर्न सफल भए।

जुन कम्पनीमा अहिले पनि उनी दिनको १८ घण्टासम्म काम गर्छन्। उनको कम्पनीले सूचना प्रविधि सम्बन्धी तालिम, अध्ययन पुरा गरेका विद्यार्थीहरुको क्षमता अभिवृद्धि तथा योग्यता अनुरुपको काम दिलाउने गर्छ। 

उनी आफू पनि आइटी इन्जिनियर हुन। लगातारको मेहनत र लगनले कम्पनी सफल हुँदै गएपछि विदेशमा बगाएको पसीनाको केही प्रतिशत आफूले अति नै माया गर्ने क्रिकेटको विकासमा लगाउने योजना ६ वर्ष अघि बनाएको विनोद सुनाउँछन्। जुन योजनाले अहिले सुन्दर आकार लिइसकेको छ।

विनोदको क्रिकेट मोहको त्यही सुन्दर उपहार हो, रुपन्देही स्थित तिलोत्तमा नगरपालिका वडा नं. १७ पूर्वदरखसवामा बन्दै गरेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला। हाल अस्ट्रेलिया बस्दै आएका गुल्मीका तिनै युवा विनोदले झण्डै ४० करोडको लागतमा क्रिकेट रंगशाला बनाउन सुरु गरेका हुन।

गत जेठ २९ मा शिलान्यास गरिएको रंगशालामा ९ महिनामै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान तयार भएको छ। नेपालमा सरकारी लगानीमा निर्माणाधीन खेल मैदानहरू वर्षौँ अलपत्र परिरहेका बेला कुँवरले ९ महिनामै क्रिकेट मैदान तयार गरी उद्घाटन गर्न सफल भएका हुन।

गत सोमबार लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले क्रिकेट मैदानको उद्घाटन गरेका थिए। त्यस दिन देशका लेजेन्ड्स खेलाडीहरु बिच प्रतियोगिता नै आयोजना गरी राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउन मैदान तयार रहेको सन्देश पनि दिइयो।

नेपालमा लगानीकालागि झन्झटिलो कानुन, सरकारी निकायको ढिलासुस्ती आदिलाई बाहाना बनाउँदै वर्षौँ आयोजनाहरू अलपत्र पार्ने परिपाटी छ। तर कुँवरको अनुभवले भने त्यसो भन्दैन।

‘केही गर्छु भन्ने दृढ इच्छा शक्ति हुनेहरूलाई काम गर्न केहीले रोक्दैन, नेपालमा त झन् सहज छ,  लगानीका अवसर र सम्भावना पनि थुप्रै छन्’ विनोदले भने। मान्छेले मनैदेखि चाह्यो भने हर कुरा सम्भव छ भन्ने लाग्छ विनोदलाई।

नेपालमा एक सिफ्ट मात्रै काम गर्ने परिपार्टीका कारण आयोजना निर्माणमा ढिलाइ हुने गरेको उनले बताउँछन्। ‘यहाँ एक सिफट मात्रै काम गरिन्छ, तर हामीले तीन सिफ्टमा काम गर्‍यौँ, जसले गर्दा ९ महिनामै मैदान तयार भयो’ विनोदले भने।

बलियो पूर्व तयारी, पर्याप्त अध्ययन अनुसन्धान, तराइको जमिन, नजिकको भन्सार नाका, स्थानीयको साथ, हौसला र टिमवर्क जस्ता कारणले आयोजनालाई सम्भव तुल्याएको विनोदको ठहर छ।

कार्यान्वयन पूर्व नै लामो समय अध्ययन अनुसन्धान गरी आवश्यक तयारी गरिएकाले रंगशालाको सम्पूर्ण काम तोकिएकै समयमा सम्पन्न भएको उनले बताए। ‘करिब पाँच वर्ष त क्रिकेट रगंशालाको अध्ययन अनुसन्धान गरेका थियौँ’ उनी भन्छन्। यो योजनामा उनकी जीवनसाथी (श्रीमती) सुदीक्षा गौतमको पूर्ण साथ र सहयोग छ। सुदीक्षा पनि इन्जिनियर हुन।

रंगशाला ५ बिघा क्षेत्रफलमा फैलिएको छ। जग्गालाई मात्रै १० करोड परेको छ। पहिलो चरणमा जग्गा बाहेकको ७ करोड लगानीमा मैदान तयार भएको हो। केही वर्ष पहिले न्युजील्याण्ड गएका बेला त्यहाँको क्रिकेट मैदान देखेपछि आफू निकै लोभिएको र त्यस्तै मोडलमा मैदान बनाउने अठोट लिएर फर्किएको कुँवरले सुनाए।

न्युजिल्याण्डको क्रिकेट मैदानमा जस्तै फराकिलो घाँसे चउर, ग्राउन्डमा बरमुढा ग्रास, फ्लड लाइट, स्कोर बोर्ड, पेभेलियन, प्याराफिट, स्तरीय चेन्जीङ रुम लगायत अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप नै सम्पूर्ण संरचना बन्ने उनले बताए।

अहिले ५ हजार क्षमताको प्याराफिट निर्माण सुरु भएको छ। हरेक वर्ष ५/५ हजार क्षमता गरी पाँच वर्षमा २५ हजार दर्शक क्षमताको प्याराफिट तयार गरिने कुँवरले बताए। रगंशालामा होस्टेल सहितको एकेडेमी र ट्रेनिङ सेन्टर बन्नेछ। रंगशालाका सबै संरचनाहरू पाँच वर्ष भित्रमा सम्पन्न भइसक्ने छ।

क्रिकेट एकेडेमीको ब्रान्ड एम्बेसडर पूर्व क्रिकेटर शक्ति गौचनलाई राखिएको छ। आर्थिक र ‘डिसिजन मेकिङ’ को पाटो सिड्नीबाटै विनोदले हेर्छन्। काठमाडौं र बुटवलमा विशेष टिम पनि छ। उनका दाजु सूर्य कुँवरले स्थानीय रुपमा रंगशाला निर्माणका लागि सम्पूर्ण व्यवस्थापन सम्हालेका छन्।

रगंशाला निर्माणको मुख्य उद्देश्य क्रिकेटको विकाससँगै नेपालमा स्पाेर्टस् बिजनेस भित्र्याउनु रहेको विनोदले बताए। जसले नेपालमा पनि खेल पर्यटनको विकास हुनेछ। यो रगंशाला भैरहवा–बुटवल ६ लेन सडकदेखि करिब ७ किलोमिटर पूर्वमा छ।

रगंशाला पुग्ने सडक सिंगल लेनको हुँदा समस्या भएको भन्दै कुँवरले डबल लेनको सडक बिस्तारमा सहयोग गरिदिन स्थानीय सरकारलाई आग्रह पनि गरेका छन्। कुँवरको परिवारमा श्रीमती, बुवा आमा, दुई दाइ र दुई जना बहिनी छन्।

पहाड घर गुल्मीको पुर्कोट र तराइमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ जानकी नगरमा उनको परिवार बसोबास गर्छन्।

प्रकाशित: ४ चैत्र २०८० २०:०५ आइतबार