कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चार दशकपछि घडियाल पुनः स्थापन गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन केन्द्रबाट ल्याइएका तीन भाले र २२ पोथी घडियाल आज एक कार्यक्रमकाबीच शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको चौधरी नदीमा छाडिएको हो।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले सन् १९९० अघि चौधर नदीमा घडियाल रहे पनि त्यसपछि लोप भएका बताए।
सङ्कटापन अवस्थामा रहेको घडियाल गोहीको वैकल्पिक बासस्थानका रुपमा पहिचान भएकाले चितवनबाट यहाँ ल्याएर पहिलो चरणमा पुनः स्थापन गरिएको जानकारी दिए।
‘बासस्थापनको पहिचान भएकाले विस्तृत अध्ययनका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कात्तिकमा निर्णय गर्दै वरिष्ठ इकोलोष्टि श्यामकुमार साहको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेर चौधर नदी क्षेत्रको १९.०३ किलोमिटर क्षेत्र सर्वेक्षण गरेको थियो’, प्रमुख संरक्षण अधिकृत भट्टराईले भने., ‘सो प्रतिवेदनका आधारमा वन मन्त्रालयले यहाँ गोही चरणबद्धरुपमा छाडने निर्णय गरेको हो।’
घडियाल गोही स्वच्छ बगेको पानीमा पाइने, आहाराका रुपमा साना माछा मात्र खाने र सामान्यतया मानिसलाई असर नगर्ने संरक्षित लोपोन्मुख घस्रिने प्रजाति हो। यसअघि चितवन राष्ट्रिय निकुञ्जबाट यहाँ एकसिङ्गे गैँडासमेत स्थानान्तरण गरिएको थियो भने चितवनबाट एक हात्ती पनि यहाँ ल्याइएको निकुञ्जले जनाएको छ।
तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ, गैँडा, बाह्रसिङ्गालगायतका वन्यजन्तुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ।
प्रकाशित: ३ चैत्र २०८० १८:१२ शनिबार