समाज

ग्रिल व्यवसायमा दुर्घटना बढ्दो

ग्रिल व्यवसायमा पछिल्लो समय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी पर्याप्त जानकारी नहुँदा दुर्घटना बढेको व्यवसायीहरूले बताएका छन्।

ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौं कमलपोखरी एकाइ समिति र स्वास्थ्य कार्यालय काठमाडौंले सयुक्त रुपमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी एकदिवसीय अभिमुखीकरण तालिममा उनीहरूले सुरक्षा र स्वास्थ्यसम्बन्धी जानकारी दिनुपर्ने खाँचो औंल्याए।

नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष एवं ग्रिल तथा स्टिल व्यवसायी महासंघका पूर्व केन्द्रीय अध्यक्ष मोहन कटुवालले ग्रिल व्यवसाय अन्य व्यवसायभन्दा जोखिमपूर्ण भएको बताए। यसकारण  यस्ता तालिम प्रदान गरी दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने उनको भनाइ थियो।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख अर्जुन सापकोटाले ग्रिल व्यवसायलाई व्यवस्थित गरी उत्पादकत्व बढाउन र जोखिम घटाउन तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे। आगामी दिनमा पनि ग्रिल व्यवसाय क्षेत्रमा स्वास्थ्य शिविर र अभिमुखीकरण तालिम आयोजना गर्ने उनले बताए।

आयोजक महासंघका उपाध्यक्ष समसुद्दिन शेखले वातावरणमैत्री उद्योग सञ्चालन गर्न यो तालिमले सहयोग पुग्ने बताए। कमलपोखरी एकाइ समितिका अध्यक्ष महेश ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौं जिल्लाका प्रथम उपाध्यक्ष राजुलाल श्रेष्ठ, पूर्व क्षेत्रीय अध्यक्ष विष्णुकुमार श्रेष्ठ, पश्चिम क्षेत्रीय अध्यक्ष शैलेस ठकुरीलगायतले तालिम ग्रिल व्यवसायका लागि  उपयोगी रहेकाले यसलाई निरन्तरता दिन आग्रह गरे।

काठमाडौं जिल्लाभित्र रहेका जिल्ला, क्षेत्र र १४ वटै एकाइ समितिका अध्यक्ष तथा पदाधिकारी सदस्य, ग्रिल व्यवसायी र श्रमिकको तालिममा सहभागिता थियो।

प्रकाशित: २ चैत्र २०८० १८:५० शुक्रबार

ग्रिल व्यवसाय दुर्घटना व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौं कमलपोखरी एकाइ समिति स्वास्थ्य कार्यालय काठमाडौं