समाज

कुवेतमा सवारी दुर्घटनामा परेकाको शव ल्याउन श्रममन्त्रीको निर्देशन

गाडीको ठक्करबाट कुवेतमा मृत्यु भएका तीन नेपाली युवाको शव तत्काल ल्याउनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले निर्देशन दिएका छन्।

वैदेशिक रोजगारीमा कुवेतको महाबुल्ला एरियामा मंगलबार बिहान बाटो काट्ने क्रममा गाडीको ठक्करबाट तीन जना नेपालीको ज्यान गएको थियो।  

गाडीको ठक्करबाट सानो भर्‍याङका सुजन कार्की, अछामका सुरत बहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको हो। कुवेतस्थित नेपाली राजदूतावासका श्रम काउन्सलर गिरीप्रसाद आचार्यका अनुसार पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रिया पुरा गरेर उनीहरूको शव नेपाल ल्याउने तयारीका रहेको हो। 

कुवेती महाबुल्लास्थित साथी भेट्न सुरतको कोठामा हवालीमा बस्दै आएका सुजन र धिरज गत सोमबार राती पुगेका थिए। मंगलवार बिहान आफ्नो कोठा फर्किने क्रममा बस चढाउन आएका सुरतसहित तीनै जनालाई कुवेती नागरिकले नै चलाएको गाडीले ठक्कर दिएकै भरमा उनीहरूको ज्यान गएको कुवेती राजदूतावासले जानकार दिएका छन्। 

उक्त घटनाबारे श्रममन्त्री अर्यालले समेत जानकारी लिएका छन्। कुवेतस्थित नेपाली दूतावाससँग मन्त्री अर्यालले मृतक श्रमिक र उनका परिवारको विषयमा जानकारी लिएका हुन्। मन्त्री अर्यालले मृतकको शव नेपाल ल्याउन दूतावास तथा वैदेशिक रोजगार बोर्डलाई आवश्यक पहल गर्न निर्देशन समेत दिएका छन्। मृतक श्रमिकको परिवारले पाउने राहत प्रक्रिया समेत अघि बढाउन श्रममन्त्रीले भनेका छन्। 

‘कुवेत पुगेका मृतक तिनै जना पापाजोन कम्पनीमा कार्यरत थिए,’ उनले भने, ‘उनीहरूको शव पोस्टमार्टमका लागि फरवानिया हस्पिटलमा राखिएको र पोस्टमार्टमपछि शवहरू नेपाल पठाइने छ।’

बाटो क्रस गर्ने क्रममा गाडीको ठक्करबाट तीनै जनाको घटनास्थलमै मृत्युको प्राप्त भएको सूचना नेपाली दूतावासले जनाएको छ।

प्रकाशित: २ चैत्र २०८० १५:१७ शुक्रबार

कुवेतमा सवारी दुर्घटना श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल सुरत बहादुर कडायत सुजन कार्की धिरज गुर्मछान मगर