समाज

नेपाल टेलिकमको टावरमा कुकर बम बिस्फोट, सामान्य क्षति

सिन्धुलीको दुम्जामा नेपाल टेलिकमको एक टावरमा अपरिचित समुहले बम बिस्फोट गराएको छ। सुनकोसी गाउँपालिका १ दुम्जास्थित बिपि पार्क नजिकै रहेको टेलिकमको टावरमा गयराति बम बिस्फोट भएको प्रहरीले जनाएको छ।

राति करिब ३ बजे तिर बिस्फोटको आवाज आएपछि प्रहरी चौकी दुम्जालाई स्थानीयले जानकारी गराएका थिए। सूचना पाए लगतै प्रहरीले अनुसन्धान गर्दा कुकर बम बिस्फोट भएको पाइएको छ।

दुम्जास्थित बिपि पार्कमा रहेको एनटिसीको टावरमा केही पड्किएको जस्तो आवाज आएको भन्ने खबर आएसँगै प्रहरी चौकी दुम्जाको टोली पुगेर अनुसन्धान गर्दा बम बिस्फोट भएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बिनोद शर्माले बताए।

एनटिसीको टावर रहेको कम्पाउण्ड भित्रको झ्यालमा अपरिचित समुहले कुकर बम बिस्फोट गराएको पुष्टि भएको प्रहरीले जनाएको छ। प्रहरी प्रमुख शर्माका अनुसार कुकर बमले टावरको कम्पाउण्डको झ्यालमा सामान्य क्षति पुगेको छ।

टावरको कम्पाउण्ड भित्र दुइओटा पेट्रोलको गन्ध आउने बोतल फेला परेको छ भने जनमुत्ती सेना नामक पर्चा फेला परेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ चैत्र २०८० ०९:३५ शुक्रबार

सिन्धुली नेपाल टेलिकम टावर कारबम बिस्फोट