भाईबहिनी बीचको प्रेमलाई दर्शाउने भिटौला पर्व सुरु भएको छ। चैत्र महिना सुरु भएसँगै सुदूरपश्चिम प्रदेशमा भिटौलो पर्व सुरु भएको हो।
विशेषगरी दाजुभाई तथा दिदीबहिनी बीचको प्रेम सम्बन्ध दर्शाउने पर्वका रुपमा रहेको भिटौलो बैतडी, दार्चुला, डडेल्धुरा, बझाङसहित सीमावर्ती भारतीय गाउँतिर विवाह भईसकेकी चेलीबेटीलाई माइतीका तर्फबाट दाजुभाईले भेट्ने चलनको रुपमा प्रचलित छ।
चैत्र महिनालाई खडेरीको महिनाको रुपमा पनि लिने गरिन्छ। म्हिना दिनसम्म मनाइने यस पर्वमा भण्डारण गरेर राखिएको खाद्यान्न पनि सकिएर जाने भएकाले चेलीबेटीलाई माइतीले मिठो मसिनो खानेकुरा कोसेलीसहित भेट्ने चलन रही आएको छ।
दार्चुला मालीकार्जुन ८ का लक्ष्मी राज पन्तका अनुसार पछिल्लो समय भिटौला पर्वको महत्त्व झन् बढ्दै गएको छ। पुरानो पुस्तादेखि नयाँ पुस्तासम्ममा यस संस्कृतिको हस्तान्तरण हुने क्रम बढेको उनको भनाइ छ।
परम्परागत कथनअनुसार भारतको कुमाउमा एक दाजुले आफ्नी बहिनीलाई चैत्र महिनामा भेट्ने बताएको र पछि व्यस्तताका कारण भेट्न नपाएको सत्य कथासँग यो भिटौलो अर्थात् चेलीबेटीलाई भेट्ने चलन जोडिएको छ। भिटौलोमा माइतीले मीठो खानेकुरा र लत्ताकपडा छोरीबहिनीको घरमा पुर्याउने चलन छ। माइतीबाट आएको कोसेलीलाई प्रेमपूर्वक गाउँ छिमेकमा बाँड्ने चलन रहेको पनि पन्तले बताए।
पहिले मानिस खेतीपाती र घरकै काममा व्यस्त हुने, सञ्चारको साधन नहुँदा वर्षभरि सञ्चो बिसञ्चोको खबर समेत थाहा हुँदैन थियो। वसन्त ऋतुमा पराई घरमा छोरी चेलीलाई माइतीको सम्झना बढी आउने हुँदा यो चलन बसेको बैतडी दोगडाकेदारका गणेशराज जोशीले बताए।
यस्तै, भिटौलोमा स्थानीय परम्पराअनुसार सेलरोटी, खीर, मालपुवा, हलुवा, गुड, मिश्री, फलफूल र क्षमताअनुसार लुगा र गहनासमेत दिने चलन रहेको छ।
पछिल्लो समय बजारबाट फलफूल, मिठाई, गुड लगेर दिने चलन झन् बढ्दै गएको छ। भाइटीकामा दिदीबहिनी माइत जाने र चैतमा दाजुभाइले दिदीबहिनीको घर गएर भेट्ने चलन छ।
दाजुभाई नभएका परिवारमा नजिकमा गएर भेट्ने चलन समेत रहेको छ। भिटौलो पर्वका कारण चैत्र महिनामा बजारहरुमा पनि चहल पहल बढ्ने गरेको त्यहाँका स्थानीय व्यापारीहरुले बताएका छन्।
यस्तै, चैत्र महिनामा चेलीबेटीलाई दान दिएमा राम्रो फल मिल्ने जनविश्वासका कारण पनि यसको महत्व बढ्दै गएको छ। यस महिनाभरि एकरात दिदीबहिनीको घरमा बास बस्ने चलन पनि रहेको छ। यसले दाजुभाइ र दिदीबहिनीको प्रेम सम्बन्धलाई झन् नजिक र आत्मीय बनाउने बताइएको छ।
सामाजिक मूल्य, मान्यता, आदर्श आदिका संवाहक यस्ता किसिमका संस्कृति जीवन्त राख्नुपर्ने संस्कृतिका जानकारहरु बताउँछन्। भौगोलिक विकटता, सञ्चार अभावमा विवाह पश्चात टाढा रहेका छोरीचेलीलाई माइती पक्षका भाइले वर्ष दिनमा एकपटक भेट्नुपर्ने परम्पराले सुख दुःख आदानप्रदानमा सहज बनाईदिएको छ।
प्रकाशित: १ चैत्र २०८० १३:५३ बिहीबार