समाज

ब्रासलेट लगाएको निहुँमा विद्यार्थीमाथि कुटपिट

शिक्षकको कुटाइपछि लागेको चोट देखाउँदै सीजन।

धादिङ – ब्रासलेट लगाएर विद्यालयमा आएको निहुँमा धादिङको एक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शिक्षकले कुटपिट गरेको छ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ७, खहरेमा रहेको अर्चने उच्च माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत सीजन अधिकारीलाई बुधबार सोही विद्यालयका प्रधानाध्यापक तथा अन्य शिक्षकहरुले कुटपिट गरेका हुन्। ।

शिक्षकको कुटपिटबाट सीजनको ढाडमा निलडाम बनेको छ भने अनुहारमा समेत चोट लागेको छ। विद्यालयमा चाँदीको ब्रासलेट लगाएर आउँदा सोही विद्यालयका सहायक प्रधानाध्यापक भीमबहादुर थापाले सुरुमा तीन थप्पड हानेको सीजनले बताए। त्यसपछि अन्य सरहरुले कुटेको सीजनको भनाई छ। ‘भोलिदेखि नलगाई आउँछु भन्दा अरु सरहरु पनि आएर पाइपै पाइपले कुटन थाल्यो’ सुजनले भने, ‘बालमैत्री विद्यालय भन्छन् तर गोरु चुटेको जसरी चुट्छन्।’ विद्यालयमा शिक्षकले सानो सानो कुरामा पनि विद्यार्थीहरुलाई धम्काइरहने गरेको विद्यार्थीहरुले बताएका छन्।

विद्यालयका प्रधानाध्यापक झयराम सिटौलाले आवेगमा आएर घटना भएको बताएका छन्। ‘विद्यार्थीलाई अनुशासनमा रहन हामीले पटक पटक भनिरहेका छौँ’ प्रधानाध्यपक झयरामले भने, ‘विद्यालयको अनुशासन नमान्दा हामीले आबेगमा पिट्यौ।’ उनले विद्यार्थीले पनि शिक्षकलाई अभद्र व्यवहार गरेको बताएका छन्। गल्ती दुवै पक्षको छ, गल्तीलाई आत्मसाथ गरेर घटनालाई सामान्य बनाउनु पर्छ – प्रअ सिटौलाले भने।

आमा बुबा सानैमा बितेकाले सीजन आफन्तको घरमा बस्दै आइरहेका छन्। उनी गाउँमा ज्याला मजदुरी गरेर पढ्दै आइरहेका छन्। सीजनका अभिभावकले दोषी शिक्षकलाई कारबाही हुनुपर्ने माग गरेका छन्।

 

प्रकाशित: २ चैत्र २०७४ ०९:३५ शुक्रबार