समाज

आप्रवासी श्रमिकलाई मलेसिया प्रवेशमा रोक

वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्यमध्येको एक मलेसियामा आप्रवासी श्रमिकले जेठ १८ गतेदेखि केही समयका निम्ति प्रवेश नपाउने भएका छन्। अहिले मलेसियामा आप्रवासी श्रमिक बिचल्लीमा पर्ने गरेपछि तत्कालका लागि त्यहाँको सरकारले यो उपाय अवलम्बन गरेको हो।

मलेसियामा आप्रवासी श्रमिकमा सबैभन्दा बढी बङ्गालीहरू छन्। उच्च लागत शुल्क तिरेर मलेसिया पुगेका आप्रवासी श्रमिकहरूले उचित तलबसहितको रोजगारी नपाउने अवस्था भएको हुँदा मलेसियाले आप्रवासी श्रमिक प्रवेशमा रोक लगाएको श्रम मन्त्रालय तथा रोजगार मन्त्रालयका अधिकारीहरू बताउँछन्।

वैदेशिक रोजगारीका क्रममा मलेसियामा जाने नेपाली श्रमिक २०७९/८० मा मात्रै २ लाख ५९ हजार रोजगारीका लागि पुगेका थिए। जसमा २ लाख ५२ हजार २ सय ९५ पुरुष र ७ हजार २ सय ९९ जना महिलाले श्रम स्वीकृति लिएका छन्। नेपालीहरूका लागि ६ वटा खाडी मुलुक र मलेसिया आकर्षक गन्तव्यका रूपमा रहेका छन्।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसियामा मागभन्दा आपूर्ति बढी भएको हुँदा त्यसको आन्तरिक सुरक्षामा समस्या सिर्जना गरेको भन्दै मलेसियाले आप्रवासी श्रमिकलाई भर्ना नलिने निर्णय गरेको छ।

मलेसियाको गृह मन्त्रालयले आवश्यक पर्ने आप्रवासी श्रमिकलाई मे ३१ अघि नै ल्याइसक्नुपर्ने रोजगारदाता कम्पनीलाई समय सीमा तोकिदिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता राजिव पोखरेलले बताए।

‘नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसिया हुँदै गर्दा मलेसिया सरकारले आप्रवासी प्रवेशमा अधिकतम सङ्ख्या २५ लाख ५० हजार निश्चित कोटा खुला गरिएको थियो। अहिले उक्त मलेसियामा आप्रवासी जानेको कोटा पुरा भइसकेको छ। जेठको अन्तिमबाट आप्रवासी कामदार नभित्र्याउने मलेसिया सरकारले निर्णय गरेको छ,’ प्रवक्ता पोखरेलले भने।  

मलेसियामा लामो समयपछि विदेशी श्रमिकको कोटा पूरा भएको हो। आर्थिक मन्दीले मलेसियाका उत्पादन र सेवा क्षेत्रमा असर पुगेपछि रोजगारदाताले काम दिन सकेका छैनन्। रोजगारदाताले ओभरटाइम दिन नसक्दा श्रमिकहरू न्यूनतम तलब १५ सय रिंगेटमा काम गर्न बाध्य भइरहेको उनले बताए।

पोखरेलका अनुसार मलेसियामा आप्रवासी प्रवेशमा रोक लगाउनु भनेको त्यहाँ विदेशी श्रमिकको शोषण रोक्नु पनि हो। मलेसियामा कमाउन गएका श्रमिकलाई रोजगारदाताले रोजगार दिन नसक्दा श्रमिकको व्यापक बिचल्ली भइरहेको थियो।

मलेसियाको गृह मन्त्रालयले मे १७ भित्रै आप्रवासी श्रमिकको भिसा लगाइसक्नुपर्ने जनाएको उनले बताए। ‘मलेसिया जाने श्रमिकले मार्चको अन्तिमसम्ममा कागज पेस गर्नुपर्ने छ। भिसा आए लगतै मे ३१ अघि मलेसिया जान पाइन्छ। त्यसपछि आप्रवासी श्रमिकले मलेसियामा प्रवेश पाउने छैनन्,’ उनले भने।

यसबारे काठमाडौंस्थित मलेसियाली दूतावासले अनलाइन भिसाको आवेदन लिन अनुमति पाएका भिसा सेन्टरहरूलाई औपचारिक जानकारी गराइसकेको छ । रोजगारदाता कम्पनीले आप्रवासी श्रमिक ल्याउन अनुमति पाएको कोटा प्रयोग नगर्ने भए सो मितिभित्र रद्द गरिसक्नुपर्ने पनि उल्लेख गरिएको छ ।

२०७५ मा शून्य लागतसहितको श्रम सम्झौता भएपछि मलेसियाले नेपाललाई प्राथमिकतामा राख्दै आएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा सुरक्षा गार्ड, पर्यटन क्षेत्र, फर्निचर, सरसफाइ र साना औद्योगिक उत्पादन लगायतमा गरी झन्डै ५ लाख नेपाली श्रमिक रहेको विभागको तथ्याकंमा उल्लेख छ।

नेपाली कामदारका लागि पहिलो गन्तव्य मुलुक मलेसिया हुदैँ गर्दा गत वर्षमा २०७९/८० मा मात्रै २ लाख ५९ हजार नेपाली वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर बिदेसिएका थिए। यसमा पुन: श्रम स्वीकृति समेत जोडिएको छ। नयाँ श्रम स्वीकृति मात्रै लिएर मलेसियामा २ लाख १९ हजार ३५७ जना गएका छन्। ती मध्ये २ लाख १३ हजार ५० जना पुरुष र ६ हजार ३०७ महिला रहेका छन्।

मलेसिया वैदेशिक रोजगारीमा जाने नेपालीहरूको आकर्षक गन्तव्य बनेको तथ्यांकले देखाएको छ। विभागको तथ्याकं अनुसार चालु आर्थिक वर्षको साउन देखि माघसम्ममा ५५ हजार ५९ जना नेपाली युवा वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका छन्। मलेसियालाई प्रमुख श्रम गन्तव्यको रूपमा लिनुमा न्यूनतम पारिश्रमिक बढाउनु, रोजगारीका पर्याप्त अवसर सिर्जना हुनु जस्ता कारण रहेका छन्।

मलेसियाको सहर पुत्राजयमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा मलेसियन गृहमन्त्री सेरी सैफुद्दीन नासुसन इस्माइलले भनेका थिए, ‘सरकारले निर्धारण गरेको विदेशी श्रमिक सङ्ख्याको सीमा पूरा भइसकेको छ। विदेशी श्रमिकका लागि तोकेको कोटा आउँदो मार्च ३१ सम्म पूरा हुनेछ।’

गृहमन्त्री इस्माइलका अनुसार मलेसियाले आफूसँग भएको कुल श्रम शक्तिको १५ प्रतिशत मात्रै विदेशी श्रमिक राख्ने नीति लिएको छ। मलेसियामा एक करोड ७० लाख श्रम शक्ति रहेको छ। जसअनुसार विदेशी श्रम शक्तिको अधिकतम सङ्ख्या २५ लाख ५० हजार हो। गत फेब्रुअरीसम्ममा मलेसियामा यस्ता विदेशी श्रमिकको सङ्ख्या २१ लाख ३० हजार ९ सय ३१ जना पुगिसकेको सरकारी तथ्याङ्क छ। जनवरी १७ देखि मार्च २३ सम्ममा नयाँ आप्रवासी श्रमिक ल्याउनका लागि बाँकी ४ लाख १२ हजार ११ जनालाई अनुमति दिइसकेको छ।

गृहमन्त्री इस्माइलका अनुसार विदेशी श्रमिक नल्याउने नीतिले मुलुकमा वैदेशिक श्रमको आवश्यकताको सही मूल्याङ्कन गर्न सहयोग मिल्नेछ । यसले विदेशी श्रमिकको उचित व्यवस्थापन गर्न सरकारले समय पनि पाउनेछ।

वैदेशिक रोजगारीमा श्रमिकको रोजाई खाडी मुलुक भन्दा मलेसिया रहेको श्रम मन्त्रालयका प्रवक्ता पोखरले बताए। ‘गत वर्षमा प्रमुख गन्तव्य मलेसियामा सबै भन्दा धेरै श्रमिक गएका थिए,’ उनले भने, ‘मलेसियाले विदेशी आप्रवासी कामदार नलैजाँदा अब अप्ठेरोमा पर्ने देखिएको छ। श्रमिकका लागि खाडी मुलुक भन्दा राम्रो मलेसिया हो। त्यहाँ अदक्षलाई पनि राम्रो अवसर मिलेको थियो।’

त्यसैले अदक्ष श्रमिकलाई सीप सिकाएर युरोपको मार्केट तथा नयाँ गन्तव्य मुलुकमा नेपाली श्रमिक पठाउने तयारीमा श्रम मन्त्रालय रहेको पोखरेलले जानकार गराए।  

प्रकाशित: २९ फाल्गुन २०८० १७:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App