समाज

सुरु भयो एकमहिने पर्व रमजान

मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व रमजान आजबाट सुरु भएको छ। एक महिनासम्म चल्ने यस पर्वमा मुस्लिम सुमदाय दिनभर पानी समेत नपिई व्रत बस्ने गर्छन्। जसलाई रोजा पनि भन्ने गरिन्छ।

सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाजको आजान सुनेर खोल्ने चलन छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका पनि परिवर्तन भइरहन्छ।

रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिइन्छ। उर्दू पात्रोअनुसार हिजरी सम्बत्को रमजान नवौँ महिना हो। रमजानमै मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यस महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइन्छ।

दान गर्न, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो। रमजान व्रत बस्न आज साँझ चन्द्रमा हेर्ने प्रचलन छ।

शरीरलाई शुद्ध राखेर मात्र रोज बस्नुपर्छ भन्ने मान्यता छ। त्याग, तपस्या र बलिदान सबै जोडिने यस पर्वमा मुसलमानहरु रोजा बस्नुलाई गर्व गर्दछन्। नाबालक, बिरामी, जटिल रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य गरिएको छैन।

रमजानको अन्तिम दिन फेरि चन्द्रमा हेरेर ईद मनाउने गरिन्छ।  

साउदी अरबसहित अन्य मुलुकमा भने सोमवारबाटै रमजान सुरु भएको छ। साउदी अरबमा आइतवार साँझै चन्द्रमा हेरेको हुँदा सोमवारबाट रामजान सुरु भएको हो।

प्रकाशित: २९ फाल्गुन २०८० ०७:५४ मंगलबार

मुस्लिम धर्मावलम्बी रमजान मुस्लिम सुमदाय रोजा