समाज

किन मनाउने सेना दिवस?

नेपालमा सेनाको विकास क्रमको रूपरेखा तयार गर्ने हो भने बाइसे चौबीसे राज्यहरू सबैको सैनिक संस्कार खोज्नैपर्छ। अहिलेको इतिहास केबल गोर्खा शाहवंशीय राज्यको मात्र हो।

विकासक्रम खोतल्दा मध्यकालमा सैनिक कारबाही सञ्चालन गरी आयआर्जन गर्ने दृष्टतापूर्ण कार्य हुन थालेको देखिन्छ। पूर्व मध्यकालमा यहाँ तीन राज्य-त्रिशूलीदेखि कुमाउँ गढवालसम्मको खस मल्ल राज्य, त्रिशूलीदेखि कोसीसम्मको पहाडी इलाकामा नेपाल मण्डल राज्य र महाभारतदेखि दक्षिणमा बोधगया र गंगा, पूर्वमा कोसी र पश्चिममा गण्डकी नदीबीचमा अवस्थित सिमरोन गढबाट प्रशासित कर्णाट वंशी राज्य थिए।

ती राज्यमा पनि विशेषगरिकन सम्पन्न नेपाल मण्डल राज्यका शासक परिवारहरूबीच झगडाका कारण काठमाडौँ उपत्यकाले धेरै आक्रमण भोग्नुपर्‍यो।

सबल सैनिक शक्ति भएकाले नै खस मल्ल साम्राज्य स्थापना भयो। पूर्व मध्यकालको अन्तमा खस मल्ल र कर्णाटवंशी राज्यहरू अन्त भई नेपाल देश अझ विभाजित भई बाइसी, चौबीसी, तीन नेवार मल्ल तर जयस्थिति मल्ल क्षत्री वंशीय थिए।

नेवार मल्ल राज्य र पूर्वी सेन तीन राज्यहरू गरी ६० वटा राज्य स्थापना भए। उत्तर मध्यकालमा भुरे राज्यहरूमा स्थायी सेना राख्नुको सट्टा आवश्यक पर्दा जनसहभागिताको आधारमा जम्मा गरिएका सेना नै प्रयोग गरी समस्या सुल्झाइन्थ्यो।

वि.सं. १६१६ मा भगीरथ पन्तको नेतृत्वमा खडा भएको गोरखाली सेनाले परम्परागत रूपले सैनिक व्यवस्था कायम गरी आएकामा १८१९ मा राजा पृथ्वीनारायण शाहको नेतृत्वमा २०३ वर्षपछि मात्र नेपाली (गोर्खाली) सेनामा पहिलोपटक पाश्चात्य पाराको १०० नाल हतियारको १०० जना संख्या रहने गरी कम्पनी खडा भएको थियो।

विश्वको इतिहासले यो प्रमाणित गरेको छ कि कुनै पनि जाति आफ्नो राष्ट्रको रक्षाका लागि दत्तचित्त र प्रतिभाशाली हुन्छन्। तर वास्तविकतामा मानव समाजको विकासको इतिहासले यो प्रमाणित गरेको छ कि जुन जाति युद्धकलामा निपुण हुन्छ सोही जातिले विजय हासिल गर्छ। यही तथ्य हाम्रो सैनिक इतिहासले प्रमाणित गरेको छ।

नेपाल देशको इतिहासमा पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरू जुन किसिमले युद्धकला र रणनीतिमा लगनशील भई दक्षता हासिल गरे। त्यसैको फलस्वरूप गोरखाली सेनाले सफलता हासिल गर्दै अगाडि बढे।

शाह राजाहरूले पराजित क्षेत्रका युवाहरू पनि आफ्नो सेनामा संलग्न गराए। यही अवधिमा नेपाली सेनाले गुर्गिन खाँ र क्याप्टेन किनलक, नेपाल (तिब्बत) चीन युद्धमा आक्रमणकारी विदेशी सेनाहरूलाई नराम्रोसँग पराजय गर्न सफल भए। त्यस्तै वीरता, साहस र सफलता हासिल गर्दै नेपाली सेना अगाडि बढ्दै गए।

अति नै जरुरी कुरो के हो भने नेपाली सेनाको जेष्ठता २०३ वर्ष कान्छो बनाइएको छ। किनकि सेनाले प्रधानसेनापतिकै मनासर विभिन्न स्थापना मिति राखेका छन् अनि जङ्गी आमा काम गर्ने लेखक विद्वान्हरूले पनि प्रधान सेनापतिहरूलाई खुसी पार्न लेखिदिएका छन्।

गणतन्त्रका एकजना प्रधान सेनापतिले नेपाली सेनाको स्थापना मिति वि.सं. १८२५ अर्थात् कान्तिपुर विजय भएपछि मात्र भएको हो भनी लेखेका छन्। अहिले आएर १८१९ स्थापना मिति बनाइएको छ।

पहिलो हो-नेपाली सेना श्री ५ पृथ्वीनारायण शाहको पालामा मात्र खडा भएको होइन। जुन दिन गोर्खा शाह वंशीय राज्य खडा भयो, उसै दिनमा यो सेना स्थापित भयो। अनि गोर्खाली राजा द्रव्य शाहदेखि अन्तिम राजा ज्ञानेन्द्रको राज्यकाल वि.सं. १६१६ देखि २०६३ सालसम्म यो वंश अविच्छिन्न रूपले नेपालमा रहेको प्रष्ट छ। जब राजनीतिक क्रमिकता भंग हुन्न भने सैनिक, आर्थिक, धार्मिक, सामाजिक इतिहास भंग कुनै हालतमा हुन्न।

दोस्रो हो-१८२५ मा गोर्खाली राजाले कान्तिपुर राज्य विजय गरेपछि मात्र गोर्खाली राजा र सेना नेपाली भाको भन्ने लेखै बिलकुल पूर्वग्राही छ। उपत्यकाका इतिहासकारहरूबाट नै यस्ता कुरा लेखिए। ताकि गोर्खालीलाई अवमूल्यन गर्नु नै ती लेखाइका उद्देश्य केन्द्रित थिए। सप्रमाण लेखकले ठोकुवा गर्छन् कि उपत्यकामा कुनै पनि राज्य नेपाल नामको थिएनन्।

कान्तिपुर, भक्तपुर र ललितपुर थिए। प्राचीनकालदेखि नै काठमाडौँ उपत्यका नेपालको राजाधानी रहेकाले र पछि बाइसे-चौबीसे कालसम्म पनि काठमाडौँ खाल्डोलाई जन जिब्रोमा नेपाल भन्ने गरिएको पक्का हो।

राजा महेन्द्रले अबदेखि मेची महाकालीभित्रको भूगोललाई नेपाल भन्नू भन्ने आदेश जारी गरेपछि मात्र आजको नेपाल भनिन थालेको हो। टुक्रिएका ६० वटा जति साना राज्यभित्र कान्तिपुर, ललितपुर र भक्तपुर पनि थिए।

बडामहाराजाले नै हो कान्तिपुर विजय गरेपछि भूगोलमा नेपाल दिएका, पहिलोपटक। तर त्यसमा सबै नेपाल थिएन। श्री ५ पृथ्वीनारायण शाहले आफू पनि नेपालभित्रकै गोर्खाली राजा भएको मानेर नै उनले आफूले जितेका सबै भूगोललाई नेपाल भने। अन्यथा, उनले सबै भूगोललाई गोर्खा नाम दिन कुनै आपत्ति थिएन।

अन्तमा, नेपाल राष्ट्रको गौरवशाली संगठनहरूमध्ये सबैभन्दा पुरानो संस्था हो नेपाली सेना। यस देशको इतिहाससंगै नेपाली सेनाको इतिहास थालनी भएको प्रमाणित भएको छ। यसको आफ्नै विशेषता छन्।

यो संस्थाले इतिहासको थालनीदेखि आजसम्म सरकारको आदेश पालना गरी राष्ट्रप्रति लगनशील, बफादार, राष्ट्रभक्त र कर्तव्यपरायण भई उच्चतम् कीर्ति र यश कमाएको छ।

नेपाली युवाहरू चाहे आफ्नै राष्ट्रको सेनामा होउन्, चाहे विदेशी सेनामा कार्यरत होउन्, आफ्ना इमानदारिता, कर्तव्यपरायणता र निस्वार्थ सेवाले ‘वीर गोरखाली’ भनी इज्जत कमाएका छन्। कुनै समयको युद्धमा नेपाली सेनाहरू ‘आयो गोरखाली’ भनी अगाडि बढ्दा कुनचाहिँ शत्रुको मुटु कम्पन नगरेको होला? यही हो नेपाली सैनिक इतिहासको वास्तविकता र गौरव।

प्रागइतिहासकालको कुरुक्षेत्रको युद्धभूमिदेखि २०औँ शताब्दीको फकल्यान्डको युद्धसम्म वीर नेपालीहरूले आफ्नै पौरख देखाउँदै आएको सत्य र तथ्य हाम्रासामु छ।

नेपाली वीरहरू बरु प्राण अर्पण गर्न तयार नै हुन्छन् तर पछि हट्दैनन्। यही वीर गाथा बोकेको छ नेपाली सेनाले यही वर्णन नै नेपाली सेनाको वास्तविकता हो।

 वि.सं. १६१६ देखि आजको दिनसम्म ४६४ वर्ष नेपाली सेनाले अविच्छिन्नरूपले नेपाली माटोको खातिर नूनको सोझो गर्दै आएको छ। लिगलिगकोटबाट सुरु भै बृहत् नेपाल बनायो, यो नेपाल बढाउन र बचाउन हजारौँ हजार नेपाली सपुतको बलिदानी छ।

माटोको सेवाका लागि जीवन आहुति दिने सम्पूर्ण ज्ञात/अज्ञात सिपाहीप्रति श्रदाञ्जलि र सलाम अर्पण गर्दै सेना दिवस २०८० मा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना!  

प्रकाशित: २५ फाल्गुन २०८० ०८:०० शुक्रबार

सेना दिवस सैनिक संस्कार