समाज

देशमा भान्सा निषेध, विदेशमा पूजाकोठामै प्रवेश

आफूले उत्पादन गरेका झोलासहित हरिमाया मल्ल। तस्बिर : नागरिक

वैदेशिक रोजगारीमा दु:ख मात्र छैन, कतिपय प्रसंगले जीवनमा सुखानुभूति पनि हुन्छ। यस्तै एउटा सुखद प्रसंग वैदेशिक रोजगारीका क्रममा पाइने गरेको छ। त्यो हो– भान्सा। स्वदेशमा भान्सामा प्रवेश नपाउनेले वैदेशिक रोजगारीका क्रममा सजिलै प्रवेश पाउन थालेका छन्। देश मात्र अर्को होइन, धर्म पनि अर्कै हो। देशभित्र एउटै धर्मभित्र पनि विभेद भोगेकासँग विदेशमा समानता महसुस गर्न पाएको अनुभव छ।  

उनीहरूले विदेशमा भान्सा मात्र होइन, पूजाकोठामा पनि प्रवेश पाउँछन्। जबकि देशभित्र कैयौंले मन्दिर प्रवेश र धारा पनि छुन नपाएका पीडादायी कथा छन्। तर विदेशमा यस्तो छैन। विदेशमा समानताको यस्तो सुखद अनुभूति बोक्नेमध्येकी एक हुन्– रूपन्देहीकी हरिमाया मल्ल। 

सन् २००२ मा उनी कामको सिलसिलामा साउदी अरेबिया गएकी थिइन्। साउदी अरेबियामा मुस्लिम धर्मावलम्बीका घरमा काम गरेको भए पनि उनले कहिल्यै विभेद सहनुपरेन। तर स्वदेशमा उनी आफ्नै घरको भान्सामा समेत पस्न पाउँदिनथिन्। ‘मलाई मगरकी छोरी भएकै कारण बिहे गरेर गएको घरको भान्सा कोठामा पस्न दिइएन,’ उनले भनिन्, ‘परिवारकै राजीखुसीमा मल्ल ठकुरीको घरकी बुहारी भएकी थिएँ।’

दुई सन्तान जन्मिसक्दा पनि उनलाई आफ्नै घरको भान्साकोठा आफ्नो हुन सकेन। ‘तल्लो जातकीले पकाएको खान हुन्न भनेर भान्सा कोठामै प्रवेश निषेध गरियो,’ उनले विगत सम्झिँदै भनिन्, ‘घरमा ससुरा सोझा भए पनि सासूको हैकम चल्थ्यो। मेरा बच्चालाई समेत कुजातको सन्तान भनेर वचन लगाउँथे।’ बिहे गरेर गएको घरसमेत उनका निम्ति आफ्नो जस्तो हुन सकेन।

सधैं अपशब्द सुन्नुपर्ने र घृणाको पात्र भएपछि उनी घर छाडेर साउदी अरेबिया गइन्। ‘आफ्नै देश, आफ्नै घर र भान्सामा विभेद हुन्छ,’ उनले भनिन्, ‘तर फरक धर्म (इस्लाम) र जात भएको विदेशमा फरक व्यवहार सहनु पर्दैन। यहाँ भने आफ्नै परिवारमा एक सदस्यले पकाएको भात अर्कोलाई चल्दैन। विदेशमा यस्तो हुँदैन। कसैका लागि भान्सामा विभेद र प्रवेश निषेध हुन्न, जसले पकाएको सबैलाई चल्छ।’ 

वैदेशिक रोजगारीमा जाँदा सधैं दुख मात्रै हुन्छ भन्ने होइन। त्यहाँ स्वदेशमै अनुभव गर्न नपाएका सुखहरू पनि पाइन्छन्। विदेशमा नेपालीलाई जसरी स्वीकार गर्छन् त्यो कुरा आफ्नै देशमा अनुभूति गर्न पाइँदैन। यसरी आफ्नै परिवारबाट अपहेलित भएका कारण हरिमाया बिदेसिनु पर्‍यो। आफ्नै घरमा विभेद सहेकी उनी साउदीमा भने समान व्यवहार पाएर हाँस्न पाएको बताउँछिन्। उनी भन्छिन्, ‘विभेद मात्र नहुँदा पनि जीवन बेल्लै हुने रहेछ।’  

आफ्नो घरमा अरूले पकाएर दिने खानाले पेट भर्न बाध्य थिइन् उनी। ‘सुत्केरी अवस्थामा कहिल्यै पेटभरि खान पाइनँ,’ उनले भनिन्, ‘कहिले अरूले पकाएर दिन्छन् र खान पाइन्छ भन्ने हुन्थ्यो। त्यो समय धेरै भोक लाग्थ्यो। पल्ला घरकी बुहारीले सुत्केरीमा दैनिक ६ पटकसम्म खाना खान्थिन्, मैले जम्मा दुईपटक, त्यो पनि आधा पेट। सासूले दिने चोटमा पतिको पनि सहमति हुन्थ्यो।’

विवाह गरेर ल्याएका नारी परिवारका अभिन्न सदस्य हुन्। बुहारीलाई पराई ठानेर मनमा ठेस पुर्‍याउने घरमा कसैको पनि इज्जत बढ्दैन। ‘यस्तो व्यवहार भएपछि अन्याय हो भनेर म घर छाड्न बाध्य भएँ,’ हरिमायाले भनिन्, ‘यस्तो कुरा अन्याय हो भनेर मेरा पतिले पनि कहिल्यै भनेनन्। पतिले यस्तो गर्नुहुन्न नभन्दा झनै दु:ख लाग्छ।’ आफूलाई अप्ठ्यारोमा साथ नदिएका कारण उनको पतिप्रतिको माया मर्दै गयो। ‘मेरै कोखबाट जन्मिएका बच्चा मेरा नहुने रे,’ उनले भनिन्, ‘मलाई मेरा बच्चासमेत दिएनन्। अरू साथीभाइको घरबार जोडिँदा मेरो भने चुँडियो। दुई सन्तानकै मायाले मर्न पनि सकिनँ।’

वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुगेर घरको काम गरेकी हरिमाया त्यहाँको व्यवहार र जीवन भने सुखद बताउँछिन्। ‘घर छाडेर माइतीमा बसिरहेका बेला गाउँकै एक दिदी विदेश गएर फर्किएकी थिइन्। उनकै सल्लाहमा म साउदी गएकी हुँ। त्यहाँ घरको काम खाना बनाउने, सफाइ गर्ने, लुगा धुने र बच्चा हेर्ने गर्नुपथ्र्यो। राम्रो काम गरेपछि तलब पनि बढाइदिन्थे। अर्काको देशमा कति धेरै सम्मान छ तर आफ्नै परिवारमा अपहेलना,’ उनले भनिन्।  

उनका अनुसार त्यतिबेला विदेश जाने महिला कम थिए र महिलामाथि गलत व्यवहार पनि कम हुन्थ्यो। ‘त्यो बेला विदेशमा महिला अप्ठेरोमा परेको, बलात्कृत भएको खबर सुन्न पाइन्नथ्यो। 

त्यतिबेला विदेश जाने महिला पनि धेरै कम थिए। अहिले हरेक घरको छोराछोरी सबै बिदेसिएका छन्। दुई/चारजना महिला अन्यायमा परे भने त्यो खबर आगोजस्तै फैलिन्छ। अहिले सुन्नै नसक्ने खबर पनि आउने गरेका छन्। अहिले त्यस्ता खबर सुन्दा मलाई आफू पनि साउदी गएर आएको हो र भन्ने लाग्छ।’

हरिमाया चार वर्ष साउदी अरेबिया काम गरेर फर्केकी थिइन्। विदेशमा कमाएको पैसा ल्याएर लगानी गरिन्। पौरखी नेपालको सहायताले विभिन्न तालिम लिइन्। उनले महिलाले बोक्ने झोला (ब्याग) बुन्ने तालिम पनि लिइन्। हरि हस्तकला नामक उद्योग रूपन्देहीमै खोलेर ३५ देखि ४० प्रकारका झोला बुन्न थालेपछि उनको जीवन बदलियो। ‘नेपालमा यस्तो झोला प्राय: कसैले बनाएका थिएनन्,’ उनले भनिन्, ‘कोभिड १९ अघिसम्म व्यापार व्यवसाय धेरै फास्टाएको थियो। आमदानी राम्रो थियो। तर कोभिडसँगै आर्थिक मन्दीले व्यापार खस्किएको छ।’  

व्यवसायबाट आर्जित खुसीले पारिवारिक खुसी पनि थपेको उनले बताइन्। ‘दुई छोरा बुझ्ने भएपछि हजुरबुबा, हजुरआमा र बाबुलाई छाडेर मलाई खोज्दै आए। दुवै छोराको बिहे भइसक्योे। अहिले हजुरआमा भइसकेकी छु। दुवै छोरा विदेश पुगेका छन्।’  

बिहे भएको घरको चुलो छुन नपाउने उनी अहिले सन्तान सुख पाउन भने योग्य भएकी छन्। अहिले सुखानुभूतिमै बाँचेकी छन् उनी। सायद उनले साउदी अरेबियामा गएर काम नगरेको भए यहाँजस्तो विभेद त्यहाँ नहुने थाहा पाउने थिइनन्। विदेश भन्नेबित्तिकै नराम्रो हुन्छ भन्ने भाष्य गलत भएको उनी बताउँछिन् । 

प्रकाशित: २३ फाल्गुन २०८० ०७:१९ बुधबार