समाज

नारायणगढ–बुटवल सडक खण्ड १५ घन्टादेखि अवरुद्ध

नारायणगढ–बुटवल सडक खण्डमा सवारी आवागमन अवरुद्ध बनेको छ। हिजो परेको सिमसिमे पानीका कारण पूर्वीनवलपरासीतर्फको दाउन्नेस्थित त्रियासी मोड र पश्चिम नवलपरासीको एसमोडमाथिको सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय कावासोतीका अनुसार १५ घन्टादेखि अवरुद्ध बनेको छ । गएराति १० बजेदेखि अवरुद्ध रहेको दाउन्ने सडक खण्डमा अहिलेसम्म पनि दुईतर्फी सञ्चालन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी निरीक्षक साजनकुमार शर्माले जानकारी दिए ।

’निर्माणाधीन सडकका कारण हिलो छ। राति सडक अवरुद्ध बन्यो’, उनले भने, ‘अहिले मुस्किलले एकतर्फी सञ्चालनमा आएको छ। पूर्ण सञ्चालनका हाम्रो थप टोली त्यसतर्फ जाँदै छ।’

अहिले डोजरले हिलो माटो हटाउने काम भएको उनले बताए। राजमार्ग विस्तारका क्रममा बनाइएको डाइभर्सनमा नयाँ माटो राखेका कारण पानीले हिलो बनाउँदा सडक अवरुद्ध भएको हो ।

सडक पूर्णरुपमा सञ्चालनमा आउन नसक्दा पूर्व–पश्चिम जाने सयौं यात्रु दुम्किवास, बर्दघाट र दाउन्नेमा अलपत्र परेका छन्। सडक समयमा बन्न नसक्दा यात्रुले सास्ती खेप्दै आएका छन्। यहाँ घाममा धूलो र पानी पर्दा हिलोले यात्रु हैरान छन्।

प्रकाशित: २१ फाल्गुन २०८० १२:५५ सोमबार

नारायणगढ–बुटवल सडक खण्ड सवारी आवागमन अवरुद्ध पश्चिम नवलपरासीको एसमोड पूर्वीनवलपरासीतर्फको दाउन्नेस्थित त्रियासी मोड