समाज

बाल विवाह रोक्न निमन्त्रणा ‘कार्ड’ मै बेहुला–बेहुलीको जन्ममिति अनिवार्य

रुकुमपश्चिमको आठबिसकोट नगरपालिका– ३ ले बाल विवाह न्यूनीकरण गर्न सक्रियता देखाएको छ। वडाले बाल विवाह हुन नदिन विवाहको निमन्त्रणा कार्डमा अनिवार्य बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्रावधान कार्यान्वयनमा ल्याएको छ।

आठबिसकोट– ३ का वडाध्यक्ष केशरमान विकले बाल विवाह हुन नदिन विवाहको निमन्त्रणा ‘कार्ड’ मा अनिवार्य रूपमा बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्रावधान कार्यान्वयनमा ल्याएको जानकारी दिए।

उनले वडामा बाल विवाहसँगै मदिरा र सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न पहल थालिएको बताए। विवाहका अवसरमा मदिरा र सुर्तीजन्य पदार्थको प्रयोग हुने भएकाले वडाले विवाह कार्डमै मदिरा र सुर्तीजन्य पदार्थ प्रयोग नगर्ने÷नगराउने प्रतिबद्धता जनाउनुपर्ने व्यवस्था लागु गरेको उनले बताए।

वडामा यस वर्ष १० जोडीले बाल विवाह गरेको तथ्यांक रहेको छ। यस वर्ष उमेर नपुगेर विवाह गर्न लागेका एक जोडीको विवाहसमेत वडा कार्यालयले रोकेको जनाएको छ। सामाजिक तथा आर्थिक रूपमा पनि बाल विवाहले समाजमा नकारात्मक प्रभाव पार्ने भएकाले वडामा बाल विवाह र मदिराजन्य पदार्थमा कडाइ गरिएको वडाध्यक्ष विकको भनाइ थियो।  

‘विवाह कार्डमा जोडीको सही जन्ममिति उल्लेख गरे÷नगरेको थाहा पाउन वडा कार्यालयमा जन्मदर्तालगायत अन्य विवरणको अभिलेख हुने भएकाले सजिलो छ। वडाभन्दा बाहिरबाट विवाह गर्नेको हकमा सम्बन्धित वडा कार्यालयसम्म समन्वय गर्ने गरी लागेका छौँ।

बाल विवाह रोक्न समुदायको पनि राम्रो साथ मिलेको छ’, वडाध्यक्ष विकले भने। वडाको नियम उल्लंघन गरेमा कानुनबमोजिम कारबाही गरिनेसमेत वडा कार्यालय जनाएको छ।

प्रकाशित: २० फाल्गुन २०८० १२:११ आइतबार

बाल विवाह न्यूनीकरण आठबिसकोट नगरपालिका बेहुला र बेहुलीको जन्ममिति विवाह निमन्त्रणा कार्ड