समाज

लागुपदार्थ सेवन गरी सवारी चलाउने चार जना पक्राउ

ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने चारजनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौंको नागढुङ्गामा शुक्रबार गरिएको जाँचका क्रममा बा १ प ७६४ नम्बरका पर्यटक माइक्रो चालक ललितपुर महानगरपालिका १४ का वासुदेव खड्का, बा ७ ख ९७ २१ नम्बरका ट्रक चालक पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका ८ का अमृत उप्रेती र ना ८ ख १६ ४६ नम्बरका ट्रक चालक मकवानपुरको मकवानपुरगढी गाउँपालिका ५ का पंकज चौलागाईंलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

त्यस्तै, प्रहरीले काठमाडौंकै बल्खुबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका बागमती प्रदेश ०१–०२५ च ७८ ७४ नम्बरका पिक अप भ्यान चालक सिन्धुपाल्चोकका सफल श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।

ट्राफिक प्रहरीका अनुसार पक्राउ परेका तीनजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट र श्रेष्ठालाई प्रहरी वृत्त कालिमाटी पठाइएको छ।

ट्राफिक प्रहरीले चालकहरुले लागुऔषध सेवन गरी सवारी साधन चलाए–नचलाएको सम्बन्धमा प्राविधिक टोलीसहित टिएचसी किट प्रयोग गरी २०७९ साउनदेखि चेकजाँच गर्दै आएको छ।

प्रकाशित: १९ फाल्गुन २०८० ०७:५८ शनिबार

सवारी चालक चारजना पक्राउ लागुपदार्थ सेवन ट्राफिक प्रहरी