समाज

दुई दर्जन फरार पक्राउ

जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न आपराधिक गतिविधिमा संलग्न भई अदालतबाट दोषी सावित भएका झन्डै २ दर्जन फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटबाट परिचालित विशेष टोलीले फरकफरक मुद्दामा दोषी साबित भई फरार रहेका प्रतिवादीलाई खोजबिनका क्रममा फेला पारी पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दुई दशकअघि फैसला भएर दोषी करार भएकसमेत छन्। प्रहरीले अदालतबाट फैसला भई दोषी साबित भए पनि फरार रहँदै आएका प्रतिवादीहरुको खोजी र पक्राउ गरी सजाय र जरिवाना भुक्तान गर्ने अभियानअन्तर्गत खोजी गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा चेक अनादर (बाउन्स), कुटपिट, सार्वजनिक अपराध, जालसाजी, लुटपाट, गाली बेइज्जती र झुटा बकपत्रलगायत मुद्दामा दोषी ठहर भए पनि वर्षौंदेखि फरार रहँदै आएकाहरु रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले बताए।

उनका अनुसार पक्राउ २१ जना फरार प्रतिवादी ०६४ देखि ०७७ सम्ममा फैसला भएर फरार रहेकाहरु छन्। चेक बाउन्स मुद्दामा त्रियुगा नगरपालिका १२ का ४१ वर्षीय क्षेत्रबहादुर खत्री, कुटपिट मुद्दामा त्रियुगा ११ कै ३४ वर्षीय मनोज कटुवाल पक्राउ परेका छन्। त्यसैगरी सार्वजनिक अपराध मुद्दामा त्रियुगाकै ४४ वर्षीय  टंकबहादुर कटुवाल, कुटपिटमै त्रियुगा ६ का ४२ वर्षीया सुरजु गियादेवी मलबार पक्राउ परेकी छन्।

त्यसैगरी जालसाजी मुद्दाकी पक्राउ परेकी प्रतिवादी त्रियुगा ९ की ३६ वर्षकी शर्मिला कार्की गालीबेइज्जती मुद्दामा समेत दोषी करार भएकी छन्। अर्का लुटपाट मुद्दामा पक्राउ सोही वडाकी ४७ वर्षीया कृष्णकुमारी बस्नेत, सार्वजनिक अपराध मुद्दामा सोही वडाकी २८ वर्षीया निराजन खत्री पनि पक्राउ परेकी छन्। पक्राउ पर्ने अर्का फरार त्रियगा नगरपालिका ५ का ५० वर्षीय तारा भुजेल छन्। उनीविरुद्ध अदालतले गाली बेइज्जती मुद्दामा पनि जरिवानाको फैसला सुनाएको छ।

पक्राउ अर्का प्रतिवाद त्रियुगा ११ कै २८ वर्षीय रमेश रोक्का सार्वजनिक अपराध मुद्दामा दोषी ठहरिएका छन्। जालसाजी मुद्दामै त्रियगा ११ का ४५ वर्षीय सन्तोषकुमार साह, त्रियुगा १२ का ६८ वर्षीय दाहुर साहु तेली पक्राउ पर्दा कुटपिट मुद्दामा त्रियुगा ५ की ३४ वर्षीया सीता मगर, कुटपिटमै त्रियुगा  ८ का ६५ वर्षीय टंकबहादुर राई पक्राउ परेका छन्।

त्रियगा ११ का ५७ वर्षीय अम्बर खत्री झुटा बकपत्र आरोपमा पक्राउ पर्दा त्रियुगा १२ का ३९ वर्षीया उमा कार्की गालीबेइज्जती मुद्दामा पक्राउ परेकी छिन्। गालीबेइज्जती मुद्दामा पक्राउ परेकी त्रियगा १२ की ४४ वर्षकी मानकुमारी कार्कीलाई कुटपिट मुद्दामा पनि अदालतले दोषी ठह¥याएको छ। सोही ठाउँका फरार २९ वर्षीय सागर विक सार्वजनिक अपराध र ८ नं वडाका ४२ वर्षीया मोहनकुमारी कोइराला सम्बन्ध–विच्छेद मुद्दामा पक्राउ परेका छन्।

पक्राउ सबै प्रतिवादीलाई जिल्ला अदालत पठाइएकोमा अदालतले तोकिएअनुसारको जरिवाना असुल गरी छाडेको डिएसपी चौधरीले बताएका छन्।

प्रकाशित: १८ फाल्गुन २०८० १८:५४ शुक्रबार

फरार प्रतिवादी पक्राउ जिल्ला प्रहरी कार्यालय उदयपुर आपराधिक गतिविधि