समाज

दूधको भुक्तानी नपाएका किसानहरू भैँसी डोर्‍याएर सडकमा

नेपाल दुग्ध विकास संस्थानबाट भुक्तानी नपाएका कृषकहरूले बिहीबार भक्तपुरमा भैँसीसहित सडकमा आएर विरोध गरेका छन्।

देशभरका कृषकहरूको भुक्तानी रोकेको भन्दै किसानहरूले दूध दिने भैँसी सडकमा ल्याई नाराजुलुशका साथ विरोध गरेका हुन्। उनीहरुले अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जगातीमा प्रदर्शन गरेका हुन्।

घरमा नुन किने पैसा छैन, डिडिसिले ४ अर्बबाट ६ अर्ब उधारो पुर्याएको भन्दै कृषकहरूले भक्तपुरको जगातीको च्याम्हासिंह जाने चोक सडकमा आएर सरकारको ध्यानाकर्षण गराएका हुन्। किसानलाई सत्तामा पुग्नु छैन, दूधको भुक्तानी चाहिएको छ भन्दै आन्दोलनमा आएका कृषकहरूले सिंहदरबार खाली गर, भैँसी पाल्न आउँदै छौँ नारा लगाएका थिए। विदेशबाट दूधजन्य पदार्थ खरिद नगर्न चेतावनी पनि उनीहरुले दिए।

फाल्गुण २१ गते देशभर निर्णायक आन्दोलन गर्ने चेतावनी दिँदै अभियन्ता प्रेमनारायण अधिकारीले किसानलाई आफ्नो समस्या लिएर सडकमा आउन बाध्य पारेको बताए। किसानका समस्या समाधान छिट्टै गरिदिन उनले आग्रह गरे। राष्ट्रिय किसान समूह महासंघका सदस्य कृषकहरूको समूहमा एमालेबाट बागमती प्रदेशका सांसद सरस्वती बाटीलगायतका एमाले नेता कार्यकर्ताहरू सहभागी थिए। 

प्रकाशित: १७ फाल्गुन २०८० १७:५८ बिहीबार

दूधको भुक्तानी किसान