समाज

'मन्त्रीको छोरालाई विदेश लैजाने' सचिव आचार्यले दिएनन् स्पष्टीकरणको जवाफ

अन्तत: खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले राष्ट्रिय सतर्कता केन्द्रका सचिव रामआधार साहले सोधेको स्पष्टीकरणको जवाफ दिएनन्।  

सतर्कताका सचिव साहले खानेपानी सचिव आचार्यलाई ‘खानेपानी मन्त्री महेन्द्र यादवका पुत्रलाई विदेश भ्रमणमा लगेको’ विषयमा स्पष्टीकरण सोधेका थिए।

सतर्कता केन्द्रले गत फागुन ९ गते एक हप्ताको म्याद तोकेर स्पष्टीकरण बुझाउन सचिव आचार्यलाई चिठी पठाएको थियो। आज बुधवार ८ दिन भइसक्दा पनि आचार्यले स्पष्टीकरणको जवाफ दिएका छैनन्।

केन्द्रका एक उच्च कर्मचारीले खानेपानी सचिव आचार्यले एक हप्ताभित्र स्पष्टीकरण नबुझाएका प्रस्ट पारे। ‘हामीले चिठीको प्रतीक्षा गरेका थियौ। तर सात दिन भित्र उहाँ (आचार्य) बाट स्पष्टीकरण आएका छैन’, ती कर्मचारीले भने।  

केन्द्रका सचिव साह यतिबेला काठमाडौँ बाहिर छन्। उनी अर्को हप्ता मात्र काठमाडौँमा फर्किँदै छन्।

खानेपानी सचिव आचार्य निकट एक कर्मचारीका अनुसार केन्द्रले सोधेको स्पष्टीकरणसँग आचार्य सन्तुष्ट छैनन्। पदीय मर्यादाका कारण एक सचिवले अर्को सचिवलाई स्पष्टीकरण सोध्न नसक्ने उनको भनाइ छ। केन्द्रका एक कर्मचारीका अनुसार नियम विपरीत काम गरेको शङ्का लागेमा केन्द्रले जुन सुकै तहका कर्मचारीलाई स्पष्टीकरण सोध्ने अधिकार छ।

गत माघको पहिलो हप्ता एक कार्यक्रममा सहभागी हुन आचार्य नेतृत्वमा मन्त्रालयको एउटा टोली भारतको उडिसा पुगेको थियो। उडिसा जाने टोलीमा खाानेपानी मन्त्री महेन्द्र यादवले कर्मचारीको कोटामा आफ्नो छोरा सुनिल यादवलाई पनि पठाएका थिए।

खानेपानी ढल निकास तथा सरसफाइ सम्बन्धी कार्यक्रममा सहभागी हुन सुनिल भारत गएका थिए। उक्त टोलीमा सह–सचिवद्वय मिना श्रेष्ठ, अर्जुन गौतम, खानेपानी विभागका महानिर्देशक कमल श्रेष्ठ, मन्त्रालयका उपसचिव द्वय रवीन्द्र पोखरेल र रितेश झा सहभागी थिए।  यो कार्यक्रम चार दिनको थियो।

आचार्यलाई सोधिएको स्पष्टीकरणमा विदेश भ्रमण गर्नु अघि मन्त्रिपरिषद्मा प्रस्ताव नलगेको विषयमा प्रस्ट पार्न भनिएको छ। यसैगरी कुन राहदानी प्रयोग गरेर विदेश भ्रमण गर्न गएको भनी आचार्यलाई प्रश्न गरिएको छ। आचार्यले बिदा स्वीकृति गराएर विदेश भ्रमणमा गएका थिए। ५ जना कर्मचारी जानु पर्ने कार्यक्रममा ८ जना कर्मचारी किन गएको भनी सतकर्ताले आचार्यलाई स्पष्टीकरण सोधेको थियो।

केही समय अघि मात्र केन्द्रका सचिव साह खानेपानीमै थिए। उनी खानेपानीबाट सतर्कता केन्द्रमा सरुवा भएका हुन।

युनएन ह्याविट्यासको आयोजनामा मन्त्रालयको टोली विदेश भ्रमणमा गएको थियो। मन्त्रालय स्रोतका अनुसार सुरुमा मन्त्रीको छोराको नाम विदेश भ्रमण टोलीमा थिएन। पछि मन्त्री यादवले आफै आयोजकलाई टेलिफोन गरी आग्रह गरे पछि सुनिलको नाम युएन ह्याविट्यासले राखेको थियो। सुनिल खानेपानी मन्त्री यादवका स्वकीय उपसचिव पनि हुन्।

मन्त्रीले छोरालाई विदेश पठाउने निर्णय राष्ट्रिय सतर्कता केन्द्रको निर्देशन विपरीत थियो। केन्द्रले केही दिन अघि मात्र सबै मन्त्रालयलाई परिपत्र गरी विदेश भ्रमण गर्ने टोलीमा मन्त्रीका सल्लाहकार तथा स्वकीय सचिवलाई नराख्न परिपत्र गरेको थियो।

प्रकाशित: १६ फाल्गुन २०८० १८:२२ बुधबार

सचिव सुरेश आचार्य