समाज

ब्राउनसुगरसहित तीनजना पक्राउ

भारतको जोगबनी नाका हुँदै आएका तीनजना युवकलाई लागुऔषध ब्राउनसुगरसहित प्रहरीले विराटनगरमा पक्राउ गरेको छ। विराटनगर महानगरपालिका– १३ बाट सोमबार बिहान उनीहरू लागुऔषधसहित पक्राउ परेका हुन्।

विराटनगर– १४ का २१ वर्षीय दीपेशसिंह ठकुरी, विराटनगर– १५ का २० वर्षीय सेजन राई र विराटनगर– १७ का १९ वर्षीय शिवम थापा मगरलाई ब्राउनसुगरसहित पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

उनका अनुसार जोगबनीबाट प्रदेश १–००१ ह १७८३ नम्बरको सिटी सफारीमा आउँदै गरेका उनीहरूलाई शंका लागी चेक गर्दा ब्राउनसुगर बरामद भएको हो। उनीहरूका साथबाट १४.४० ग्राम ब्राउनसुगर बरामद भएको छ।

डिएसपी दाहालले भने, ‘तीनजनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान थालेका छौं। पक्राउ परेकाहरूलाई लागुऔषध ऐनअन्तर्गत मुद्दा चल्ने छ।’

प्रहरीका अनुसार पक्राउ परेका तीनजना ब्राउनसुगर कारोबार गर्दै आएको र उनीहरूले जोगबनीबाट नेपालका विभिन्न स्थानमा बिक्रीवितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रकाशित: १४ फाल्गुन २०८० १२:१८ सोमबार

लागुऔषध ब्राउनसुगर तीनजना युवक पक्राउ विराटनगर महानगरपालिका– १३