समाज

बोलीबिनै सुनिएको आवाज

उद्यम

बोल्न र सुन्न सक्नेलाई मात्र सफलता हासिल हुँदैन। श्रवणशक्ति नभएका र बोल्न नसक्ने थुप्रैले आफ्ना जिम्मेवारी सहजै निर्वाह गरिरहेका छन्। देख्न नसक्ने आँखा, सुन्न नसक्ने कान र बोल्न नसक्ने ओठ भए पनि उनीहरूमा केही गर्छु भन्ने साहस र आँट हुन्छ। सक्रिय दिमाग भएपछि अरूको इसाराकै भरमा काम गर्न सकिन्छ।

उनीहरू सुन्दैनन् र सुनाउन पनि सक्दैनन्। पूरै सुन्न र बोल्न नसक्ने भए पनि यदाकदा आउने थोरै आवाजमा पनि उनीहरूका अभिव्यक्ति छन्। यस्ता व्यक्तिले अरूसरह बोल्न मात्र नसकेका हुन्। तर, आफूलाई अभिव्यक्त गर्न तिनलाई केहीले रोक्न सक्दैन। त्यस्ता व्यक्तिका आँखाको भाका, टाउको हल्लाइ र हातका इसाराले अरूलाई बुझाउने कोसिस गर्छन्।

उनीहरूले न आफ्ना खुसीका भावना व्यक्त गर्न सक्छन्, न त आफ्ना दुःख सुनाउन नै। आजको समयमा उनीहरूलाई सुन्ने आवाजविहीन समाज पाउन धेरै गाह्रो छ। बोल्न र सुन्न सक्ने भए पनि शारीरिक रूपमा अशक्तता भएका व्यक्तिलाई त रोजगारदाताले रोजगार दिलाउन सकेका छैनन् भने बोल्न र सुन्न नसक्ने व्यक्तिहरूलाई कसले रोजगार दिने ? हो, तर यहाँ त्यस्ता व्यक्तिलाई पनि रोजगारदाताले अवसर प्रदान गरिरहेका छन्।

लोकप्रिय रेस्टुराँ ‘बाजेको सेकुवा’ ले श्रवण शक्ति नभएका र बोल्न नसक्ने २५ जनाभन्दा बढी युवालाई रोजगार दिइरहेको छ। उनीहरू पटकपटक रोजगारीका लागि अन्तर्वार्ता दिन पुगे पनि असफल भइरहन्थे। बाजेको सेकुवाले भने उनीहरूलाई अन्य सबलाङ्गसरह सेवासुविधासहित काम दिइरहेको छ।

‘बाजेको सेकुवा’ मा काम गरिरहेका बोल्न नसक्ने ती कर्मदार अरूले बोलेको पनि सुन्न सक्दैनन्। अरूले माया गरी बोलाएको, गाली गरेको, रिसाएको, गिज्याएको छुट्याउन सक्ने अवस्थामा हुँदैनन्। तर, उनीहरू त्यसको भाव भने बुझ्न सक्छन्।

आजको आवाजको संसारसँग उनीहरू पूरै बेखबर छन्। आवाजमा सुरिलोपन, खरो बोली साथै आवाज कस्तो हुन्छ भन्ने अनुभूति नै उनीहरूमा हुदैन। तर, आफ्नो आवाजमा सबै कुरा प्रस्ट्याउन नसके पनि उनीहरू सांकेतिक भाषामा भने सबै बुझ्न र बुझाउन सक्ने क्षमताका हुन्छन्।

‘बाजेको सेकुवा’ मा १० वर्षदेखि काम गर्दै आएका पनौती स्थायी घर भई हाल काठमाडौंस्थित कोटेश्वरमा बस्दै आएका ३८ वर्षीय सानोभाइ तिमिल्सिना हुन्। जन्मजात सुन्न र बोल्न नसक्ने भए पनि उनी काममा अब्बल र क्षमतावान छन्। उनी हेर्नमा निकै फुर्ती देखिन्छन्। त्यस्तै फुर्तिलो उनको काम छ।

पिताविहीन सानोभाइको परिवारमा पाँच सन्तानबिचका जेठा छोरा हुन् उनी। केही वर्षअघि मात्रै आफूजस्तै बोल्न र सुन्न नसक्ने करुणा तिमिल्सिनासँग विवाह गरेर उनीहरूको एक छोरा पनि जन्मिएका छन्। त्यो सानो परिवारमा पतिपत्नी दुवै बोल्न र सुन्न नसक्ने भए पनि छोरा भने बोल्न र सुन्न सक्ने छन्।

नागरिकसँगको अन्तर्वार्ताका क्रममा उनले कापीमा लेखेर जवाफ दिए। उनी भन्छन्, ‘मेरी श्रीमतीको नाम करुणा तिमिल्सिना हो। मेरो सानो छोरा घरमा छ। साथै मेरी आमा, दिदी, दाइ र भाउजू पनि हुनुहुन्छ। बाबा बित्नुभएको धेरै वर्ष भयो।’

उनले हातको हाउभाउ लगाउँदै थपे, ‘धेरै वर्ष भयो बाजेको सेकुवामा काम गरेको। यहाँ काम गर्दा धेरै खुसी लाग्छ। मलाई काम राम्रो गर्नुपर्छ। यहाँको काम, तलब र म्यामहरूले दिने मायामोह राम्रो छ। यहींको कमाइले मैले परिवार पालेको छु।’

उनी अन्य मानिसभन्दा फरक क्षमताका छन्। उनको हात हल्लाइ, टाउकाको इसारा र अनुहारमा देखिने भावभंगीबाट आफूले भन्न खोजेको देखाउँथे। उनको अनुहारको भावबाट अभिव्यक्ति बुझ्न सकिन्छ। त्यो हेर्दै लाग्छ–उनको काम गराइ छरितो छ र उनी धेरै सक्रिय पनि छन्।

उनको पढाइ कक्षा तीनमै पूर्णविराम लागे पनि आफ्नो छोरालाई पढाउनुपर्छ भन्ने ज्ञान उनीमा छ। सानोभाइले सांकेतिक भाषामै पढाइ गरे पनि उनको नेपालीभन्दा अंग्रेजी भाषा राम्रो छ। उनले बाजेको सेकुवामा काम गरेरै पत्नी र बच्चालाई पालनपोषण गरिरहेका छन्। बाजेको सेकुवाले पनि बिनाविभेद अरू कर्मचारीसरह उनलाई सेवासुविधा दिएको छ।

सानोभाइजस्तै काममा अब्बल र कथा–व्यथाको अनुभव सँगाल्नेमा सुदूरपश्चिमका २१ वर्षीय भक्तबहादुर राउत पनि छन्। काठमाडौंस्थित कपनमा आफूजस्तै बोल्न र सुन्न नसक्ने साथीहरूसँगै कोठाभाडामा उनी बस्छन्।

उनी ‘बाजेको सेकुवा’ मा दुईवर्षअघिबाट काम गर्दै आइरहेका छन्। झट्ट हेर्दा उनको अनुहार खुसीले भरिपूर्ण देखिन्छ। दुई दुई दाजुभाइ–दिदीबहिनी र आमासहित पाँचजनाको परिवारका उनी कान्छा छोरा हुन्। राउतका परिवारका जेठा छोरा अमेरिका छन् भने अन्य परिवार नेपालमै रहेका उनले बताए।

१२ कक्षा पास गरेका भक्तबहादुर ड्राइभर पनि हुन्। उनी बाजेको सेकुवामा काम गर्न आउँदा मोटरसाइकल चलाएर आउने गरेका छन्। उनको सवारी चलाइमा धेरै वर्षदेखिको अनुभव छ।

भक्तबहादुर पनि सानोभाइ जस्तै काममा पोख्त छन्। उनलाई पनि काम सफा गर्नुपर्छ। बाजेको सेकुवामा आएका कर्मचारीलाई स्वागतका साथै आत्मीय सेवा गर्ने र सरसफारलाई पहिलो प्राथमिकता दिने गर्छन्। भक्तबहादुर बाजेको सेकुवामा काम गर्न पाउँदा आफूलाई भाग्यशाली ठान्छन्।

‘म यहाँ काम गर्न पाउनु भनेको खुसीको कुरा हो। मेरो बाँच्ने आधार भनेकै बाजेको सेकुवा हो,’ उनले पनि कापीमा लेखेर भने, ‘बुबा हुनुहुन्न। आमा बुढी हुनुहुन्छ। यो कमाइले आमालाई पाल्नु छ।’

भक्तबहादुर साह्रै मेहनती छन्, कामलाई माया गर्छन्। उनी आफ्नो काम सहजै पहिल्याउँछन्। कामप्रति उनी इमानदार छन्। अन्य व्यक्तिले सय वटा मम बनाउँदा सानो भाइले भने डेढदेखि दुई सयवटा बनाउने क्षमता रहेको बाजेको सेकुवाका फाइनान्स कन्ट्रोलर रविन चौहानले बताए।

‘त्यस्तै भक्तले पनि बाहिरको सबै काम एक्लैले भ्याउने गर्छन्। बाजेको सेकुवा सफा गर्नदेखि पूरै सर्भिसको काम पनि गर्छन्। घरमा हुने नित्य पूजाजस्तै बाजेको सेकुवामा पनि सानोभाइ र भक्तले नै पूजाआजा गर्छन्। उनीहरू धर्मकर्ममा पनि खुबै रुचि राख्छन्। उनीहरूमा त्यो आस्था छ,’ उनले भने।

बाजेको सेकुवामा हरेक कर्मचारीलाई बिहानै कसले के काम गर्ने भन्ने कार्यविधि तयार पारिएको हुन्छ। त्यसैअनुसार श्रवण शक्ति नभएका र बोल्न नसक्ने व्यक्तिलाई पनि त्यही निर्धारण गरिएको कार्य लागु हुने चौहानले बताए।

‘बोल्न र सुन्न नसक्ने भएर के गर्नु, यस्ता व्यक्तिहरू झन् धेरै फुर्तिला छन्। उनीहरूलाई एकचोटि भने पुग्छ,’ रविनले नागरिकसँग भने, ‘त्यही काम अन्य व्यक्तिलाई बारम्बार भन्नुपर्छ। उनीहरूलाई मौका दिए धेरै कुरामा फाइदा छ।

उनीहरूले अह्राएको काम पूरै गर्छन्। उनीहरूको काम अन्य कर्मचारीका भन्दा सफासुग्घर हुन्छ। अरूले गर्ने काम भनेको समय कटनी मात्रै हो। तर, उनीहरू हरेक कामलाई महत्त्व दिन्छन्। बिहान उनीहरूलाई कामको सूची बनाइदिए पुग्छ। त्यो काम पूरा गर्छन्।’

उनले थपे, ‘उनीहरूलाई दिएको काम गर्‍यागर्‍यै गर्छन्। अब नगर्नु एकछिन बस्नू भन्नुपर्छ। काम गरेपछि एकोहोरो गरिरहन्छन्। उनीहरूमा ठग्नुपर्छ भन्ने सोच कहिल्यै आएन। उनीहरूको काममा पूरै लगाव र झुकाव छ।’

नेपालभरि २० वटै शाखामा श्रवणशक्ति गुमाएका र बोल्न नसक्ने युवायुवतीलाई बाजेको सेकुवाले काम दिइरहेको उनले बताए। न्यूनतम एउटा शाखामा त्यस्ता व्यक्ति २ जना रहेका छन् भने कुनै शाखामा ४ जनासम्म रहेको उनले बताए।

उनका अनुसार बोल्न र सुन्न नसक्ने युवालाई पहिलो पटक बाजेको सेकुवा बत्तीसपुतलीको शाखामा राखेको हो। साथै बुढानीलकण्ठको बाजेको सेकुवामा त्यस्ता व्यक्तिलाई गास, वास र कपासको पनि व्यवस्था छ।

‘एउटा शाखामा कमसेकम दुई जना व्यक्ति हुन आवश्यक छ। उनीहरूलाई एकआपसमा बोल्ने साथी पनि चाहियो। उनीहरू आफूबिच सांकेतिक भाषाको प्रयोग गर्दै हास्ने जिस्कने साथै धेरै रमाइलो गर्छन्।

उनीहरू आफ्नै शैलीमा कुरा गर्छन्,’ चौहानले भने। ‘उनीहरू अन्य व्यक्तिभन्दा कम छैनन्,’ उनले भने, ‘उनीहरूले आफ्नो कमाइबाट परिवार पालेका छन्। बाजेको सेकुवामा काम गर्न आउँदा बाइक चढेर आउँछन्। उनीहरूको पनि छुट्टै सान छ।’

सुन्न र बोल्न नसक्ने त्यस्ता व्यक्तिलाई रोजगार दिन पाउँदा बाजेको सेकुवाकी सञ्चालक नितिमा कार्की साच्चै खुसी छिन्। समाजमा फरक तरिकाका मानिस हुन्छन्।

‘बाजेको सेकुवामा सबै थरीका मानिस आउँछन्,’ उनले भनिन्, ‘यहाँ आँखा नदेख्नेदेखि शारीरिक अपांगता भएका मानिस पनि खान आउने गर्छन्। उनीहरूलाई पनि सम्मान गर्नुपर्‍यो। हाम्रो त सेवा हो, राम्रो सेवा दिनै पर्‍यो।

आखा नदेख्ने, बोन्न नसक्ने र सुन्न नसक्ने व्यक्ति बाजेको सेकुवामा आएको खण्डमा पनि हाम्रो कर्मचारी जो सुन्न र बोल्न सक्दैनन्, उनीहरूले सहजै कुराकानी गर्न सक्छन्। त्यसैले हामीले सुन्न र बोल्न नसक्ने युवालाई रोजगार प्रदान गरेका हौं।’

उनले थपिन्, ‘उनीहरू शारीरिक रूपमा हृष्टपुष्ट, ज्ञानी, सबै कुरामा क्षमतावान मानिसहरू हुन्। एक मात्रै उनीहरू बोल्न र सुन्न सक्दैनन्। संवाद भनेको बोलेर मात्रै गरिन्छ भन्ने हुँदैन। संवाद इसाराबाट, हातको हाउभाउबाट, मुस्कानबाट, टाउको हल्लाइबाट र शरीरको भाषाबाट पनि गरिन्छ। त्यस्ता व्यक्तिलाई रोजगार दिँदा धेरै फाइदा छ। काम गर्छु भन्नेलाई काम दिनु नै फाइदा हो।’

शारीरिक रूपमा अशक्त भएका व्यक्ति तथा बोल्न, सुन्न र देख्न नसक्ने व्यक्तिलाई मनभित्रैबाट काम गर्नुपर्छ भन्ने चाहना हुन्छ। अपांगता भएका व्यक्तिलाई ‘द लेप्रोसी मिसन नेपाल’ले तालिम दिएपछि काम गरेको हो।

करिब पाँच दशक पुरानो ‘बाजेको सेकुवा’ अहिले उपत्यका बाहिर जनकपुर, पोखरा, नुवाकोट, विराटनगरमा समेत रेस्टुरेन्ट सञ्चालन छन्। अमेरिकाको न्युयोर्कलगायत अन्य तीन स्थानमा पनि बाजेको सेकुवा हिमालयन ग्रिल भनेर सञ्चालनमा छन्।

अस्ट्रेलिया, बेलायतमा पनि आगामी दिनमा विस्तार गर्ने योजना रहेको कार्कीले बताइन्। नेपालमा नेपालगन्ज, दाङ, धनगढी र सुर्खेतमा बाजेको सेकुवा शाखा सञ्चालनको तयारी भइरहेको छ।

‘द लेप्रोसी मिसन नेपाल’ले अपांगता भएका व्यक्तिलाई रोजगार तथा स्वरोजगारमा संलग्न गराइरहेको छ। बाजेको सेकुवामै ‘द लेप्रोसी मिसन नेपाल’ले बोल्न र सुन्न नसक्ने २५ जनाभन्दा बढी व्यक्तिलाई तालिम दिएर रोजगारीमा लगाएको छ।

अपांगता भएका व्यक्तिलाई मर्यादित र सम्मानित जीवन जिउने वातावरण सिर्जना गर्न र उनीहरूप्रतिको नकारात्मक सोच तथा भेदभाव हटाउन ‘द लेप्रोसी मिसन नेपाल’ले राष्ट्रिय अपांग महासंघ नेपाल र नेपाल उद्योग वाणिज्य महासघंसँगको सहकार्यमा काम गरिरहेको छ।

‘द लेप्रोसी मिसन नेपाल’ का ज्ञान व्यवस्थापन प्रबन्धक प्रतिज्ञा रिजालका अनुसार शारीरिक रूपमा अपांगता भएका तीन हजार दुई सय जना व्यक्ति ‘द लेप्रोसी मिसन नेपाल’मा जोडिएका छन्। उनीहरू सबैलाई सिपमूलक तालिम तथा रोजगार प्रशिक्षण तालिम दिइएको छ। तीमध्ये एक हजार तीन सय ८३ जना व्यक्ति रोजगारीमा आबद्ध छन्।

शारीरिक रूपमा अपांगता भएका ती व्यक्तिमध्ये आठ सय २५ जना अपांगता भएका व्यक्तिलाई ‘द लेप्रोसी मिसन नेपाल’ले व्यावसायिक तालिम प्रदान गरेको छ भने पाँच सय ५८ जना व्यक्तिलाई औपचारिक रोजगारीमा संलग्न गराएको ‘द लेप्रेसी मिसन नेपाल’ले जनाएको छ। यो मिसनसँग करिब पाँच सय रोजगारदाता संस्था आबद्ध छन्।

‘अपांगता भएका व्यक्तिलाई तालिम दिनुपूर्व उनीहरूको मनसाय बुझ्न जरुरी रहेको छ,’ रिजालले नागरिकसँग भनिन्, ‘तब, आय आर्जनको काममा लगाउन उनीहरूले इच्छाएका कामको तालिम दिने, अपांगता भएका व्यक्तिलाई स्वास्थ्य तथा सहायक सामग्री सहयोगका साथै आवश्यक परामर्श सेवा प्रदान गर्ने हो।’

प्रकाशित: १२ फाल्गुन २०८० ०८:०५ शनिबार

बोलीबिनै सुनिएको आवाज