जिल्लाको राप्ती सोनारी–१ कुसुमस्थित सिद्देश्वर महादेव माविका ५ जना छात्रामा आइतबार एकै प्रकृतिको लक्षण देखियो। उक्त विद्यालयको कक्षा ७ मा पढ्ने ४ जना र कक्षा १० की एक जना छात्रामा चिच्याउने, बरबराउने, अर्धअचेत हुने र मुर्छा पर्ने जस्ता लक्षण देखा परेपछि केही बेरसम्म शिक्षकहरू डराए।
विद्यालयका प्रधानाध्यापक आदित्य जिसीका अनुसार ५ जना छात्रामा एकै पटक एउटै प्रकृतिको लक्षण र समस्या देखा परेपछि अन्य विद्यार्थी समेत त्रसित भए। त्यसदिन विद्यालयको पठन पाठन नै प्रभावित बन्न पुग्यो। घटनाको तीन दिनपछि बुधबार न्युरो विशेषज्ञ चिकित्सक सहितको टोली पुगेर ती छात्रालाई परामर्श दियो।
‘नेपालगन्ज न्युरो ट्रमा एण्ड मल्टिस्पेस्यालिटी हस्पिटल’ का चिकित्सकले छात्रालाई परामर्श मात्रै दिएनन्, विद्यालयमा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय जनप्रतिनिधिलाई समेत राखेर सचेतना जगायो। त्यसपछि विद्यालयको वातावरण केही शान्त बनेको छ। यद्यपि, अझैपनि कतिपय विद्यार्थीमा छाएको त्रास हटेको छैन।
यो समस्या सिद्धेश्वर महादेव माविको मात्र होइन। जिल्लाका अन्य थुप्रै विद्यालयका छात्राहरू पनि यस्तो समस्याबाट वर्षौँदेखि पीडित रहेको पाइएको छ। तर, विविध कारणले गर्दा उनीहरुले आफ्नो समस्यालाई बाहिर ल्याउन सकेका छैनन्। बाँकेका धेरैजसो विद्यालयमा छात्रा बेहोस हुने समस्या दिन प्रतिदिन बल्झिँदै गइरहेको छ।
राप्ती सोनारीकै वडा नम्बर ९ मा पर्ने गणेश मावि ढकेरीका छात्राहरू पनि बेहोस हुने, मुर्छा पर्ने जस्ता समस्याबाट लामो समयदेखि पीडित छन्। उक्त विद्यालयका प्रधानाध्यापक खडानन्द डाँगीले केही वर्षयता यो समस्याबाट छात्राहरू पीडित हुँदै आएको बताउँछन्। ‘पोहोर साल सम्म धेरै जना छात्रा यो समस्याबाट पीडित थिए, अहिले दुई जना छात्रा बेला–बेलामा बेहोस र मुर्छा परिरहन्छन्,’ उनले भने ‘केहीले उपचार गराएर निको भएका छन्, आर्थिक अवस्था कमजोर भएका र अभिभावकको साहारा नपाएका कतिपयले नेपालगन्जसम्म पुगेर उपचार गर्न सक्ने आँट गरेका छैनन्।’ प्रअ डाँगीका अनुसार कक्षा कोठामा पढ्दै गर्दा होस् या विद्यालयको कुनै कार्यक्रममा सहभागी हुने क्रममा छात्राहरू एक्कासि बेहाेस हुन्छन्। उनले थपे, ‘बेहोस भएपछि शान्त कोठामा लगेर सुताउँछौं, त्यसपछि उनीहरु आफै होसमा आउँछन्।’
राप्ती सोनारी–७ फत्तेपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गुलरीमा पनि यो समस्या बारम्बार बल्झिँदै आएको छ। विद्यालयका प्रधानाध्यापक किशुलाल चौधरीका अनुसार अहिले कक्षा ९ मा पढ्ने अन्दाजी १५/१६ वर्षका दुई जना किशोरीमा बरबराउने, मुर्छा पर्ने, नाप्ने र बेहोस हुने जस्ता समस्या केही वर्षदेखि बल्झिँदै आएको छ। छात्रामा बल्झिएको यो समस्या पूर्ण रुपमा निको नहुँदा जतिबेला, जहाँ पनि ढल्न सक्ने अवस्था रहेको उनले सुनाए। ‘कतिबेला यिनीहरूमा समस्या बल्झिन्छ थाहै हुँदैन,’ प्रअ चौधरीले भने ‘एक्कासि बरबराउँदै बेहोस हुन थालेपछि हामीलाई पनि डर लाग्छ।’
यो समस्याबाट जिल्लाका अन्य विद्यालयमा पढ्ने छात्राहरू पनि पीडित छन्, तर कतिपय विद्यालयले बाहिर ल्याउँदैनन्। छात्रामा देखिएको समस्यालाई सामान्य रुपमा लिँदा बाहिर नआएको हो। चिकित्सकका अनुसार यो समस्याको बेलैमा उपचार गरेपछि मात्र निको हुन्छ।
नेपालगन्ज न्युरो ट्रमा एण्ड मल्टिस्पेस्यालिटी हस्पिटलका वरिष्ठ न्युरो सर्जन डा. जोशन न्यौपानेका अनुसार छात्रामा देखा परिरहेको यो समस्यालाई मेडिकल भाषामा ‘कन्भर्जन डिसअर्डर’ भनिन्छ। ‘यो समस्या किशोरी अवस्थादेखि करिब ३०/३५ वर्षको उमेरसम्मलाई हुन्छ,’ डा. न्यौपानेले नागरिकसँग भने ‘उमेर बढेसँगै आत्मबल बढ्दै गएपछि यो आफै पनि निको हुन सक्छ।’ तर, समस्या बल्झिरहेमा समयमै चिकित्सकको परामर्शमा उपचार गर्नुपर्ने उनी बताउँछन्।
डा. न्यौपानेले थपे, ‘यस्ता समस्या भएका किशोरीको उपचारका लागि घर परिवार र शिक्षकहरूको सहयोग हुनुपर्छ, उहाँहरूले राम्रो वातावरण बनाइदिनुपर्छ।’ यो समस्याबाट कोही पीडित भएमा आफुले सक्दो सहयोग गर्न तयार पनि रहेको उनले बताए। ‘विद्यालयले हामीसँग समन्वय गर्नुपर्यो, हाम्रो सानो सहयोगले कसैको स्वास्थ्य राम्रो बन्छ भने साथ नै रहन्छ,’ डा. न्यौपानेले भने।
प्रकाशित: १० फाल्गुन २०८० १९:४८ बिहीबार