समाज

भुस्याहा कुकुरबाट मारिए चार लाख मूल्य बढीका कुखुरा

 शुक्लाफाँटा नगरपालिका– ११ अमरपुरस्थित आशा ऐरको कुखरा फार्मभित्र छिरेका भुस्याहा कुकुरले चार लाख मूल्य बढीका कुखुरा मारेर नोक्सान पुर्‍याएका छन्।

आज बिहान कुखुरा फार्मको तारजाली तोडेर भित्र पसेका भुस्याहा कुकुरको हुलले अनडा दिने लेयर्स जातका ६ सय कुखुरा मारिदिएको हो। सय बढी कुखुरा घाइते छन्।

‘बैंकबाट १२ लाख बढी कर्जा निकालेर एक हजार दुई सय अन्डा दिने कुखुरा पालेका थियौँ’, फार्म सञ्चालक आशाले भने, ‘दैनिक कुखुराले चार पेटी जति अण्डा दिँदै आएका थिए, भुस्याहा कुकुर फार्मभित्र छिरेर कुखुरा मारिदिएपछि निकै नोक्सानी व्यहोर्न बाध्य भएका छौँ।’

फार्ममा पाँच सयजति कुखुरा मात्रै बाँकी रहेको उनले बताए। फार्मभित्र कुकुरले कुखुरा मारेर खान थालेपछि कुखुराको आवाज सुनी कुकुर भगाउन सकिएको उनले बताए।

वडाध्यक्षको रोहबरमा प्रहरी मुचुल्का तयार गरिएको उनको भनाइ छ। नगरपालिका क्षेत्रमा भुस्याहा कुकुर नियन्त्रण नहुँदा किसानले सास्ती खेप्नुपरेको स्थानीय जयबहादुर ऐरले बताए।

‘पोल्ट्री फार्मभित्रै छिरेर आज ठूलो संख्यामा कुखुरा मारिदिए, बाटो हिँड्ने व्यक्तिाई पनि झम्टिने गरेको छ’, उनले भने, ‘धेरै व्यक्तिलाई टोक्दा रेबिज खोप लगाइरहेका छन्।’

नगरपालिकाले भुस्याहा कुकुर नियन्त्रण गरिदिनुपर्ने उनको भनाइ छ। कुखुरा फार्म सञ्चालकले सम्बन्धित निकायलाई क्षतिपूर्तिको व्यवस्था गरिदिन पनि आग्रह गरेका छन्। –रासस

प्रकाशित: १० फाल्गुन २०८० १२:५९ बिहीबार

भुस्याहा कुकुर आशा ऐर कुखरा फार्म अमरपुर शुक्लाफाँटा नगरपालिका मुचुल्का