समाज

स्वयम्भू घटनाः कारण बलात्कारको मुद्दा र पुरुष 'इगो'!

काठमाडौंको नागार्जुन नगरपालिका–६ स्वयम्भूमा बुधबार एक पुरुषले श्रीमती र छोरी र नतिनीको हत्या गरेर आत्महत्या गरेका छन्। सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–१० घर भई हाल स्वयम्भू भैरव टोलमा डेरा गरी बस्ने ३७ वर्षीय राजु घिमिरे (काजी विक)ले श्रीमती ३८ वर्षीया ईश्वरी श्रेष्ठ (प्रेमकुमारी श्रेष्ठ), आठ वर्षीया छोरी अनिशा श्रेष्ठ र अढाई वर्षीया नातिनी शिवानी श्रेष्ठको हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ।

ईश्वरीले राजुसँग दोस्रो विवाह गरेकी थिइन्। हत्या गरिएकी अढाई वर्षीया नातिनी उनको पहिलो श्रीमान्पट्टीका छोराकी छोरी हुन्। प्रहरीका अनुसार ईश्वरीका पहिलो श्रीमानपट्टीका छोराबुहारी पनि ईश्वरी र राजुसँगै स्वयम्भूमै बस्दैआएका थिए। छोरा भने हाल विदेशमा थिए, बुहारी बुधबार बिहानै काममा बाहिर निस्किएकी थिइन्। घरमा राजु र ईश्वरीबाट जन्मिएका १५ वर्षीय छोरा अनिश, आठ वर्षीय छोरी अनिशा र नातिनी शिवानी थिए।

राजुले बिहान छोरा अनिशलाई सामान किन्न बाहिर पठाएर श्रीमती, छोरी र नातिनीको घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीको निष्कर्ष छ।

हत्यालगत्तै अनिश डेरा आइपुगिसकेका थिए। त्यसपछि अनिशलाई मोबाइलमा भिडिओ रेकर्ड गर्न लगाएर राजुले हत्याको साबिती बयान दिएको प्रहरीले जनाएको छ। भिडिओमा उनले आफन्त, विदेशमा रहेको छोरा, बुहारी लगायतलाई सन्देश दिएको जनाइएको छ।

भिडिओ खिचेलगत्तै राजु डेराबाट आत्महत्या गर्न जाने भन्दै डोरी लिएर निस्किएका थिए। सोही क्रममा उनले ससुराली (ईश्वरीका माइती)पट्टीका आफन्तलाई पनि आफूले श्रीमती, छोरी, नातिनीको हत्या गरेको र आफू आत्महत्या गर्न हिँडेको भन्दै टेलिफोनमार्फत सन्देश दिएका थिए। उता छोरा अनिश पनि हतारिँदै नजिकै रहेको मावली गएका थिए।

ईश्वरीका माइतीले यस्तो सन्देश पाएलगत्तै प्रहरीलाई खबर गरेको थियो। सूचनालगत्तै प्रहरी टोली र आफन्त पुगेको थियो। कोठमा मृतकको शव फेला परेपनि राजु भने भेटिएका थिएनन्। करिब ११ः४० बजे उनी नागार्जुन नगरपालिका–५ ह्वाइट गुम्बा जंगलमा सल्लाको रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

राजुले श्रीमती, छोरी र नातिनीको हत्यापछि आफूले आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ। ‘घटना विवरण हेर्दा र प्राप्त प्रमाणका आधारमा घटनामा लगभग राजुबाटै भएको देखिन्छ,’ जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) नवराज अधिकारीले भने, ‘प्रहरीले अझै विस्तृत अनुसन्धान गरिरहेको छ।’

कारण बलात्कारको मुद्दा र पुरुष ‘इगो’ !

चारजनाको ज्यान जानेगरी भएको यो घटनाको सम्भावित कारण ‘बलात्कार’सँग पनि जोडिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनामा हत्या गरेको अवस्थामा फेला परेकी ईश्वरीले केही समयअघि आफू बलात्कृत भएको भन्दै एकजना ५१ वर्षीय पुरुषविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन्।

बलात्कार भएको भनिएको दुई महिनापछिको जाहेरीमा अभियुक्तलाई प्रहरीले मुद्दा चलाएको थियो। यो मुद्दामा फागुन १ गते जिल्ला अदालत काठमाडौंले अभियुक्तलाई पाँच लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

त्यही बलात्कार घटनाले पुरुष ‘इगो हर्ट’ भएर राजुले उक्त घटना घटाएको हुनसक्ने घटनाको अनुसन्धानमा सक्रिय प्रहरी अधिकारीले अनुमान गरेका छन्। ‘कहीँ न कहीँ यो घटनाको कारण त्यो बलात्कार मुद्दासँग पनि जोडिएको हुनसक्छ। त्यसअघि उहाँहरूबीचमा कुनै त्यस्तो ठूलै विवाद वा झैझगडा भएको देखिन्न,’ बलात्कार घटना र बुधबारको घटनामा अनुसन्धान गरिरहेका एकजना प्रहरी अधिकारी भन्छन्, ‘बलात्कारको घटनापछि पुरुष इगो हर्ट भएको हुनसक्छ। हिजो(मंगलबार) राति त श्रीमान–श्रीमतीबिचमा केही झगडा पनि भएको देखिन्छ।’

यद्यपि बलात्कार मुद्दाका बेला भने दुवैले सँगै आएर जाहेरी दिएको, न्यायिक प्रक्रियामा सँगसँगै हिँडेको देखिएको ती अधिकारी बताउँछन्। 

प्रकाशित: १० फाल्गुन २०८० ०८:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App