समाज

ठेचोमा मनाइयो ‘माधव नारायण जात्रा’ (तस्बिरहरु)

ललितपुरको ठेचोमा हरेक वर्ष श्री स्वस्थानी व्रत कथाका समयमा माधव नारायण जात्रा मनाइन्छ। त्यसो त यो जात्रा उपत्यका अन्य स्थानहरूमा पनि मनाइँदै आइएको छ। हरेक वर्ष हुने यो जात्रालाई निरन्तरता दिँदै बुधवार पनि त्यहाँ स्थानीयहरूले बढो हर्सोल्लासका साथ यो जात्रा मनाएका छन्।

माधव नारायण मेला र जात्रा पुस शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म मनाउने श्री स्वस्थानी व्रत कथाका समयमा हुने गर्छ। यो ललितपुरको ठेचोबाहेक साखु, भक्तपुरलगायत विभिन्न ठाउँमा मनाइन्छ। 

माघ शुक्ल द्वादशी र माघ शुक्ल त्रयोदशीको दिन विशेष झाँकीसहित जात्रा निकाल्ने चलन छ। यही क्रममा ललितपुर ठेचोका स्थानीयले विभिन्न रूप धारण गरेर आफ्नो शरीरमा दियो, कलश बोकेर नगर घुम्छन्।

जात्राका सहभागीहरूले हात, काँध र टाउको दियो बालेर टोल घुम्ने चलन छ भने केहीले माधव नारायणको स्वरूप धारण गरी घैँटामा छ्वालीको पाइप राखेर स्थानीयलाई जल सेचन गर्दै नगर परिक्रमा गर्छन्। कोही भने खटमा पानीले भरिएको खड्कुँलो राखेर शङ्ख फुक्दै स्थानीयले चढाएको जलले नुहाउँदै घुम्ने गर्छन्।

यसैगरी भगवानको मूर्ति खटमा राखेर भजन कीर्तन गर्दै टोल–टोलमा घुम्ने चलन पनि छ। बालबालिकालाई राम। सीता, लक्ष्मण र हनुमानको रूपमा श्रृगांर गराई नगर परिक्रमा गराउने चलन पनि छ। 

प्रकाशित: ९ फाल्गुन २०८० १७:२७ बुधबार

माधव नारायण जात्रा