समाज

कलैयामा धार्मिक सामाजिक सद्भाव र्‍याली

जिल्ला प्रशासन कार्यालय बाराले आज कलैयामा निकालेको धार्मिक सामाजिक सद्भाव र्‍याली।

जिल्ला प्रशासन कार्यालय बाराले आज सदरमुकाम कलैयामा धार्मिक, सामाजिक सद्भाव र्‍याली आयोजना गरेको छ।

छिमेकी जिल्ला रौतहट र पर्सामा दुई समुदायबीच झडप भएर सामाजिक सद्भाव बिग्रेको देखेर बारामा आपसी धार्मिक, सद्भाव कायम राख्न सद्भाव र्‍याली आयोजना गरिएको हो।

बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जिल्लामा पहिल्यैदेखि कायम रहेको धार्मिक, सामाजिक सद्भाव बिग्रन नदिन सद्भाव र्‍याली निकालेर सबै समुदायलाई मिलेर बस्न सनदेश दिएको बताए।

छिमेकी जिल्ला रौतहट र पर्सामा दुई समुदायबीच वर्षौंदेखिको आपसी सद्भाव बिग्रेर झडपको स्थिति बनेको देखेर बारामा त्यसको प्रभाव पर्न नदिन सबै समुदाय र दलहरूबीच आपसी सद्भाव कायम राख्न जरुरी रहेको प्रजिअ घिमिरेले बताए।

जिल्ला प्रशासन कार्यालय बारा, कलैयापरिसरमा निकालिएको सर्वपक्षीय सद्भाव र्‍यालीले कलैया बजार परिक्रमा गरेको थियो।

र्‍यालीमा जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साह, कलैया उपमहानगरपालिका प्रमुख विनोद साह, बाराका प्रहरी प्रमुख सुरेश काफ्ले, सामाजिक व्यक्तित्व जंगबहादुर यादव, महमद सगिर मन्सुरलगायत दलका प्रतिनिधि, जनप्रतिनिधि, धार्मिक संघसंस्था, नागरिक समाज, सञ्चारकर्मी, उद्योगी व्यवसायी, शिक्षक, कर्मचारी, सुरक्षाकर्मीहरूको सहभागिता थियो।

प्रकाशित: ९ फाल्गुन २०८० १२:५९ बुधबार

धार्मिक सामाजिक सद्भाव र्‍याली कलैया जिल्ला प्रशासन कार्यालय बारा