समाज

करेन्ट लागेर एकजनाको मृत्यु

कैलालीको टीकापुरमा करेन्ट लागेर होटलमा कार्यरत एकजना कामदारको मृत्यु गएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा टीकापुर नगरपालिका १ स्थित होटल ग्रीन एसियामा कार्यरत ३५ वर्षका सैलेशकुमार भुल रहेका छन्।

मृतक भुल बर्दियाको राजापुर नगरपालिका २ भीमापुरका बासिन्दा हुन्। उनी विगत चार वर्षदेखि होटलमा काम गर्दै आएको बताइएको छ।  

विद्युत् पोलबाट भुइँमा खसेको तार हटाउने क्रममा उनलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।  

करेन्ट लागेर गम्भीर घाइते भएका भूलको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको हो। उनको शव टीकापुर अस्पतालमा राखिएको छ।

भुललाई बचाउने क्रममा स्थानीय एक व्यापारी सुरेन्द्र किशोर गिरीसमेत सामान्य घाइते भएका छन्।

प्रकाशित: ९ फाल्गुन २०८० ११:५३ बुधबार

करेन्ट कामदार मृत्यु टीकापुर होटल ग्रीन एसिया