समाज

चितवनबाट ५ सय ४२ किलो गाँजासहित २ जना पक्राउ

चितवनमा ठूलो परिमाणमा गाँजासहित दुई जना व्यक्ति पक्राउ परेका छन्।

जिल्ला ईलाका प्रहरी कार्यालय भण्डाराले राप्ती-३ स्थित पूर्व पश्चिम राजमार्गको झुरझुरेबाट आज बिहान ५ सय ४२ किलो गाँजा सहित २ जना व्यक्ति पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा धनकुटा स्थित छथर जोरपाटे गाउँपालिका ३२ वर्षिय रमेशनाथ दाहाल र कपिलवस्तु स्थित बुद्धभुमी नगरपालिकाका २५ वर्षिय खुशिराम थारु रहेका छन्।

प्रहरीले उनीहरूले ओसारपसारमा प्रयोग गरेका २ वटा ट्रक समेत नियन्त्रणमा लिएको छ।  झुरझुरे स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डको छेउमा रोकिराखेको ना ३ ख ६१२२  र ना ३ ख ७२४० नम्बरको डिब्बा ट्रकमा चेक जाँच गर्दा  गाँजा फेला परेको चितवन प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार, ना ३ ख ७२४० नम्बरको डिब्बा ट्रकबाट ३९ वटा पोका रहेको ५ सय ४२ किलो गाँजा फेला परेको हो।

यो गाँजा धादिङको मलेखुबाट ना ३ ख ६१२२ नम्बरको ट्रकमा लोड ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए। उनका अनुसार झुरझुरेमा सो ट्रकबाट ना ३ ख ७२४० डिब्बा ट्रकमा गाँजा पल्टि गरिएको थियो। अहिले घटनाको थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ फाल्गुन २०८० १२:४४ सोमबार

गाँजा