समाज

बिदेसिनेको व्यथा: ती लाहुरेदेखि यी लाहुरेसम्म

नेपाली समाजमा ‘लाहुरे’ परम्परा करिब दुई सय वर्ष पुरानो छ। अहिले वैदेशिक रोजगारीमा जाने नेपालीहरू कुनै न कुनै रूपमा त्यही लाहुरे परम्पराका निरन्तरता हुन्। विगतमा सुनौली सीमा काटेपछि लाहुर गएको मानिन्थ्यो। ब्रिटिस गोर्खा र भारतीय गोर्खा सेनामा भर्ना हुन जानुलाई अहिले पनि लाहुर जाने भनेर बुझिन्छ।

नेपाल–अंग्रेज युद्ध (१८७१–७२ साल) र त्यसपछिको युद्ध लडेका कतिपय नेपाली युवा पन्जाबका राजा रणजित सिंहको सेनामा भर्ना हुन लाहोर पुगेका थिए। त्यही लाहोर हुँदै लाहुरे शब्द आम रूपमा प्रयोग हुँदै आएको हो।

रणजितको सेनामा नेपाली भर्ना भएयता लाहुर परम्परा मात्र होइन, संस्कृति नै बन्न पुग्यो। लाहुरे शब्द मायाप्रेमदेखि दैनिक जीवनमा उत्तिकै प्रयोग हुँदै आएको छ।

गाउँघरमा परदेश गएर आउने व्यक्तिसँगै एक किसिमको उत्सवमय वातावरण बन्छ। रोजगारीको स्रोतका रूपमा सुगौली सन्धिपछि ब्रिटिसको सेनामा भर्ती हुने परम्परा बस्यो।

त्यसरी नै बेलायत र भारतीय सेनामा नेपाली युवा भर्ती हुन थाले। नेपाल, बेलायत र भारतबीच सन् १९४७ मा सम्पन्न त्रिपक्षीय सन्धिपछि बेलायत र भारतमा गोर्खा सैनिक जान थालेका हुन्। बेलायतले यसरी भर्ना गर्ने गोर्खा सैनिकमध्येबाटै सिंगापुर प्रहरी र बु्रनाईका निम्ति पनि सुरक्षाकर्मी पठाउने गरेको छ।

लाहुरे हुने घरको आर्थिक अवस्था स्वाभाविक रूपमा सबल हुन्थ्यो। घरपरिवारको लवाइखवाइ फरक हुन्थ्यो। अहिले देशमै व्यवसाय गरेर बसेका युवाका परिवारभन्दा मलेसिया, खाडी वा दक्षिण कोरियालगायत मुलुकमा पुगेर कमाउनेका परिवारले सुखद जीवन बिताएको देखिन्छ। तिनका सन्तानले राम्रो शिक्षा पाएका छन्। सानो टुक्रा भए पनि जमिन जोडेका छन्। घरको आर्थिक अवस्था सुध्रिएको छ।

देशका कतिपय सहर नै लाहुरेले बसाएको ठानिन्छ। पोखरा, धरान, बुटवललाई यस कोटिका सहरका रूपमा लिइन्छ। आफ्ना सन्तानको शिक्षादीक्षाका लागि सहर पसेजस्तै अहिले वैदेशिक रोजगारीमा जानेहरूले पनि सन्तानको शिक्षाका निम्ति विशेष योगदान गरेका छन्। लाहुरे हुन चाहनेहरू भारतीय र बेलायती सेनामा भर्ती भएका छन्। नचाहनेहरूले वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकलाई गन्तव्य बनाएका छन्।

बेरोजगार युवा ऋण काढेर भए पनि एकचोटि विदेश जान चाहन्छन्। त्यसैले गाउँघर कुनै पनि यस्ता परिवार छैनन्, जसका कुनै सदस्य विदेश नगएका हुन्। बरु युवाहरू विदेशी भूमिमा सेवाका निम्ति गएपछि देशभित्र खनीखोस्री गर्ने पाखुरी कम भएका छन्। जग्गा बाँझो भएका छन्।

सहर पसेका लाहुरे तथा वैदेशिक रोजगारीका निम्ति मुग्लान पुगेका युवाहरूको उद्देश्य श्रम हो। नेपाली बिदेसिनुको प्रमुख कारण रोजगारी हो। रोजगारीका निम्ति बिदेसिनु नेपाली युवाहरूको बाध्यता हो। धेरै युवा वैदेशिक रोजगारीमा गएनन् भने परिवारको चुलो बल्दैन।  

विगतमा नेपालीहरूका गन्तव्य मुलुक बर्मा, भुटान, भारत, थाइल्यान्ड, तिब्बत र मलेसिया थिए। वैदेशिक रोजगारका लागि संस्थागत रूपमा करिब १११ देश र व्यक्तिगत रूपमा भने विश्वका १७८ देशका श्रम बजारमा नेपालीले प्रवेश गरेका तथ्यांक छ।

हालसम्म खाडीका ६ वटा देश र मलेसियासहित ७ वटा देशमा ‘फ्री भिसा फ्री टिकट’ लागु भएको छ। त्यहाँका १२ वटा देशसँग दुई पक्षीय श्रम सम्झौता गरिएको छ।

विदेशमा गई नेपालीले काम गर्ने प्रचलन पुरानै भए पनि सरकारले २०४२ सालमा वैदेशिक रोजगार ऐन जारी गरेर नेपालमा वैदेशिक रोजगारीसम्बन्धी नीतिगत तथा संस्थागत प्रयास थालेको देखिन्छ।

वैदेशिक रोजगारीको महत्त्वलाई आत्मसात् गरी (२०४९–५४) देखि वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकहरूको खोजी गर्ने प्रक्रियालाई महत्त्व दिन थालिएको हो।

२०५४ फागुन १ गतेदेखि सर्वसाधारण नेपालीलाई जिल्ला प्रशासन कार्यालयबाट पनि राहदानी बनाउने सुविधा सुरु गरेपछि ग्रामीण क्षेत्रका नेपालीसमेत वैदेशिक रोजगारीमा जाने क्रम तीव्र बन्यो। अझ सन् १९९० पछि नेपालले विश्वव्यापीकरण, उदारीकरण नीति अवलम्बन गरेपछि वैदेशिक रोजगारीले झनै चर्चा पाएको हो।

बढ्दो जनसंख्या, स्वदेशमा कामको अभाव, राजनीतिक अस्थिरता, भ्रष्टाचार र २०५२ देखि सुरु भएको माओवादी सशस्त्र द्वन्द्वका कारण युवाहरू वैदेशिक रोजगारीमा जाने क्रमले तीव्रता पाएको हो।

एकातिर देशमा उद्योगधन्दाको अभाव अर्कातिर पारिवारिक दायित्वको बोझले किचिएका युवाको एक मात्र विकल्प वैदेशिक रोजगारी बनेको छ। उदार लोकतान्त्रिक शासन व्यवस्थाले कम्तीमा युवालाई सजिलै पासपोर्ट उपलब्ध गराएका कारण पनि बिदेसिन सहज भएको हो।

 वैदेशिक रोजगारसम्बन्धी कार्यको जटिलता र बढ्दो कार्यबोझलाई सम्बोधन हुने गरी समसामयिक सुधार ल्याउने उद्देश्यसहित वैदेशिक रोजगार ऐन, २०६४ जारी गरिएको छ भने २०६५ पुस १६ मा श्रम विभागबाट अलग गरी वैदेशिक रोजगार विभाग स्थापना भएको थियो।

नेपालमा जनसंख्यासँगै बेरोजगारहरूको संख्या बर्सेनि बढ्दो छ। मुलुकको आन्तरिक श्रमबजार र अर्थतन्त्रले यी सबै बेराजगारलाई धान्न नसक्ने भएकाले नेपालका लागि वैदेशिक रोजगारले एक विशेष ठाउँ ओगटेको छ।

कोरोना महामारी सामान्य बन्दै गएपछि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या उकालो लागेको छ। आर्थिक वर्ष २०७८÷७९ मा ६ लाख ३० हजार नेपाली कामको खोजीमा विभिन्न देश पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ। त्यस्तै गत वर्ष २०७९÷८० मा ७ लाख ७१ हजार ३२७ पुगेको छ भने दैनिक करिब ३ हजार युवा वैदेशिक रोजगारीमा जाने गर्छन्।

यसरी वैधानिक रूपमा दैनिक वैदेशिक रोजगारीमा गइरहेका छन् भने अभिलेखबद्ध नभई जानेहरूको संख्या पनि धेरै छ। छिमेकी मुलुक भारतका विभिन्न सहरमा गएर श्रम गरी धन लिएर फर्किने गरेको पुरानो परम्पराले त अझै पनि निरन्तरता पाइरहेकै छ। त्यस्तै भारत भएर वैदेशिक रोजगारमा जानेको तथ्यांक यकिन भने गर्न सकिएको छैन।

अहिले वैदेशिक रोजगारी राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनेको छ। नेपालको वैदेशिक रोजगारीको पछिल्लो यात्राले छोटो समयमा धेरै सम्भावनाका साथै जोखिमहरू पनि बोकिरहेको छ।

बिदेसिएकामध्ये केही खुसीका आँसु बोक्दै फर्केका युवाले परिवारको खुसीमा रम्न पाएका छन् भने केही बाकसमा बन्द भएर आएका छन्। बाध्यताकै कारण वैदेशिक रोजगारमा जानेहरू विभिन्न समस्या भोग्दै आएका छन्। कतिपयले भनेको काम नपाउने तथा रोजगारदाता कम्पनीबाट शोषणमा पर्नुपरेको अवस्था पनि छ।

‘नेपालमा केही हुँदैन’ भन्ने मानसिकताले पनि नागरिकहरूमा गहिरो प्रभाव पारेको सजिलै बुझ्न सकिन्छ। देशभित्रै व्यक्तिले आफ्नो ज्ञान, सीप, योग्यता र क्षमता अनुरूपको काम नपाउँदा नेपाली बिदेसिन बाध्य छन्।

विगतमा विदेश गएर फर्किनेको समाजमा निकै ठुलो इज्जत र प्रतिष्ठा हुन्थ्यो। उनीहरूले पनि आफूलाई आर्थिक रूपमा सम्पन्न भएको देखाउने चलन अब भने पुरानो भइसकेको छ। केही वर्षयता देशको अर्थतन्त्र नै वैदशिक रोजगारीमा गएकाहरूले पठाएको विप्रेषण (रेमिट्यान्स) मा भर परेको तथ्यले समग्र नेपालको वैदेशिक रोजगारीको अवस्थालाई प्रस्ट्याएको छ।

वैदेशिक रोजगारीमा जानेमध्ये खाडी मुलुक (कतार, साउदी अरेबिया, युएई, कुवेत, बहराइन र ओमान) तथा मलेसिया जानेहरूको संख्या झन् बढ्दो छ। अमेरिका अस्ट्रेलिया क्यानडालगायत मुलुकहरूमा पनि बहुसंख्यक नेपाली कामदारहरू वैदेशिक रोजगारका लागि पुगेका छन्।

खासगरी मध्यपूर्व कोरिया र मलेसियामा सीमित नेपालीहरूको वैदेशिक रोजगारी अवस्था अब भने युरोपतिर मोडिरहेका छन्।

युरोपतिर वैधानिक रूपमा मोडिनु नेपाली युवाका लागि सकारात्मक पक्ष नै हो। दुई दशकदेखि खाडी क्षेत्रमा रहेको चाप बिस्तारै युरोप र पूर्वी एसियाली मुलुकतिर सर्न थालेको तथ्यांकले देखाएको छ।

यसैअनुरूप युरोपतिर मोडिनुका निम्ति उत्साह नै हो। विभागका तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनामा युरोपका क्रोएसिया, माल्टा, पोल्यान्ड र रोमानिया जाने युुवाको संख्या १८ हजार १७९ जना पुगेको छ।

नेपाली श्रमिकका लागि वैदेशिक रोजगारीको गन्तव्य फेरिन थालेको छ। दुई दशकअघि नगण्य संख्यामा नेपाली वैदेशिक रोजगारीमा जाने गरेकामा पछिल्ला वर्षहरूमा यो संख्या निरन्तर बढ्दै गएको छ।

आर्थिक वर्ष २०५०/५१ देखि २०५४/५५ सम्ममा वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिनेको संख्या २ हजार १३४ देखि ७ हजार ७४५ रहेको थियो। त्यसको चार वर्षपछि आर्थिक वर्ष २०५८/५९ सम्म आइपुग्दा सो संख्या तीव्र गतिमा बढेर वार्षिक १ लाखभन्दा माथि पुगेको देखिन्छ। गत आर्थिक वर्ष २०७९/८० मा यो संख्या अझै बढेर ७ लाख ७१ हजार ३२७ पुगेको छ। विभागका अनुसार आर्थिक वर्ष २०५१/५२ देखि आर्थिक वर्ष २०७९/८० सम्म ९० लाख ५९ हजार ६६२ जना श्रमस्वीकृति लिएर विदेश गएका छन्।

गाउँदेखि सहर र सहरबाट लाखौं युवा कामको खोजीमा विदेश गएका छन्। अदक्षभन्दा दक्ष बनेर विदेश जाने हो भने त्यसले फाइदा पुग्छ। तर मुलुकले वैदेशिक रोजगारीको विकल्प खोज्न थालिहाल्नु आवश्यक छ।

युवालाई विदेश पठाउनेभन्दा स्वदेशमै रोजगारी सिर्जना गर्नेतर्फ राज्यको ध्यान पुग्नुपर्छ। राम्रो अवसर पाउँदा विदेश जानु स्वाभाविक हो। लोकतान्त्रिक मुलुकका नागरिकले स्वतन्त्र रूपमा विदेश गएर रोजगारी गर्ने स्वतन्त्रता पाउँछन् नै। तर अब लाहुरेको इतिहास फेर्ने बेला भइसकेको छ। नेपाली श्रम नेपाली भूमिमै सिञ्चित हुने वातावरण बनाउनु लोकतान्त्रिक समाजको उद्देश्यअनुरूप हुन्छ।

प्रकाशित: ७ फाल्गुन २०८० ०६:४० सोमबार

बिदेसिनेको व्यथा ती लाहुरेदेखि यी लाहुरेसम्म