समाज

ईशनाथ नगरपालिकाको चार वटा वडामा पनि लगाइयो कर्फ्यु

रौतहटको ईशनाथ नगरपालिकाको चार वडामा पनि कर्फ्यु लगाइएको छ।

सरस्वती पूजाको मूर्ति सेलाउनको लागि लैजाने बाटोको विषयमा भएको विवादले ईशनाथ नगरपालिका ६ र ७ मा शनिवार साँझ पाँच बजेदेखि लगाइएको कर्फ्यु आइतबार वडा नम्बर २, ३, ४ र ५ मा पनि विस्तार गरिएको हो।

शान्ति र सद्भाव कायम नहुन्जेलसम्मको लागि सोमवारदेखि अनिश्चित कालको लागि ईशनाथ नगरपालिकाको ६ ओटा वडामा कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

ईशनाथ नगरपालिकामा शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरीका मधेस प्रमुख डिआइजी यज्ञ विनोद पोखरेल तथा सशस्त्र प्रहरीका मधेस प्रदेश प्रमुख डिआइजी दीपेन्द्र शाहसहित सात सय प्रहरी परिचालन गरिएको छ।

सरस्वती पूजाको भोलिपल्ट चलनअनुसार मूर्ति सेलाउन जाँदा एक पक्षले बाटो रोकेपछि सुरु भएको विवाद समाधान हुन सकेको छैन। दुवै पक्ष आफ्नो अडानमा कायम रहँदा समस्याको समाधान हुन नसकेको हो।

आइतबार पनि सदरमुकाम गौरमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको पहलमा सर्वपक्षीय सहमतिको प्रयास भएको थियो। दुवै पक्ष आफ्नो अडानबाट पछाडि हट्न नसकेपछि पाँच दिनदेखि रहेको विवाद झन् बल्झिएको छ।

दुवै पक्षबिच ठाउँ ठाउँमा झडप हुने स्थिति भएकोले शनिबारदेखि दुई ओटा वडामा रहेको लगाइएको अनिश्चितकालीन कर्फ्यु आइतबारदेखि थप चार ओटा वडामा विस्तार गरिएको प्रजिअ रेग्मीको भनाइ छ।

कर्फ्यु लगाइएको क्षेत्रमा धेरै मात्रामा प्रहरी परिचालन गरिएको छ। सर्वसाधारण घरबाट बाहिर निस्कन सकेका छैनन्। कर्फ्यु लगाइएको क्षेत्रमा आवतजावत गर्न, हिँडडुल गर्न, सभा तथा जुलुस गर्न, घरबाहिर निस्कन पनि निषेध गरिएको र आदेशको पालना नगर्नेलाई प्रशासन ऐनअनुसार कारबाही गरिने चेतावनी प्रजिअ रेग्मीले दिएका छन्।

कर्फ्यु जारी गरिएको भए पनि वार्ता र सम्वादमार्फत समस्या समाधानको पहल भइरहेको प्रजिअ रेग्मीको भनाइ छ।

प्रकाशित: ६ फाल्गुन २०८० १९:४९ आइतबार

ईशनाथ नगरपालिका सरस्वती पूजाको मूर्ति कर्फ्यु