समाज

माघमा तीनजनाले पाए वैवाहिक अंगीकृत नागरिकता

 जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले माघ महिनामा तीनजनालाई वैवाहिक अंगीकृत नागरिकता प्रदान गरेको छ। योसहित ताप्लेजुङ प्रशासन कार्यालयबाट १ सय ८७ जनाले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले जानकारी दिइन्।

नेपालको संविधान २०७२ को भाग (२) मा नागरिकतासम्बन्धी व्यवस्था उल्लेख गरिएको छ। जसअनुसार नेपालको नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानुनबमोजिम अंगीकृत नागरिकता लिन सक्ने व्यवस्था गरिएको छ।

संविधानअनुसार वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गरेका व्यक्ति, कुनै व्यक्तिको जन्म हुँदाका बखत निजका बाबु वा आमा नेपालको नागरिक रहेको छ भने त्यस्तो व्यक्तिका सन्तान वालिग भएपछि उसलाई वंशजका आधारमा नेपाली नागरिकता प्रदान गर्न सकिने छ।

यस्तै नेपालभित्र फेला परेका पितृत्व र मातृत्व ठेगान नभएका प्रत्येक नाबालक निजको बाबुआमा फेला नपरेसम्म वंशजका आधारमा नेपालको नागरिक ठहर्ने छ। संविधानमा नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोवास गरेको र बाबु पहिचान हुन नसकेको व्यक्तिलाई वंशजका आधारमा नेपाली नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ।

तर, बाबु विदेशी नागरिक भएको ठहरेमा यस्तो व्यक्तिको नागरिकता संघीय कानुनअनुसार अंगीकृत नागरिकतामा परिणत हुने संवैधानिक व्यवस्था रहेको छ। अहिलेसम्म तीनजनाले गैरआवासीय नागरिकता लिएका छन्।

प्रकाशित: ६ फाल्गुन २०८० १४:०३ आइतबार

वैवाहिक अंगीकृत नागरिकता माघ महिना जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ