समाज

मलमूत्र खुवाएर यातना दिएको आरोपमा एक महिला पक्राउ

महिलालाई बोक्सीको आरोप लगाउँदै मानव मलमूत्र (दिसा–पिसाब) खुवाएको आरोपमा बुढीगंगा गाउँपालिकाकी एक महिला पक्राउ परेकी छन्।

मोरङको बुढीगंगा गाउँपालिका ७ मा कुटपिट र यातना दिँदै ५५ वर्षीया महिलालाई बिहीबार दिउँसो मानव मलमूत्र खुवाइएको प्रहरीले जनाएको छ। बोक्सीको आरोप लगाएर महिलामाथि अमानवीय व्यवहार गर्ने बुढीगंगा– ७ की ५० वर्षीया पारो माझीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। पक्राउ परेकी महिला गाउँघरमा धामीझाँक्रीको काम गर्दै आएकी छन्।  

पक्राउ परेकी माझी धामीझाँक्री काम गर्दै आएकी थिइन्। डिएसपी दाहालले भने, ‘बोक्सीको आरोप लगाउँदै कुटपिट गरेर र यातना दिएर मलमूत्र खुवाउँदै महिलामाथि अमानवीय व्यवहार गरेको पाइएको छ। माझीको घरमा अष्टजाम पूजामा प्रयोग गरेको दियो हराएपछि पीडित महिलालाई चोरीको आरोप लगाउँदै यातना दिइएको हो।’

पूजामा प्रयोग गरिएको दियो पीडित महिलाले चोरी गरेको आरोप लगाउँदै माझीले यातना दिएर उनलाई अमानवीय व्यवहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी दाहालले बताए। उनका अनुसार जोखाना र तान्त्रिक विधिबाट हेर्दा पीडित महिलाले दियो चोरेको थाहा भएपछि ‘बोक्सी’ भन्दै कारबाही गरेको प्रहरीसमक्ष स्वीकार गरेकी छन्।

पूजामा बोक्सी (पीडित) प्रवेश गरेको भन्दै कुटपिट गर्दै मलमूत्र खुवाउँदै अमानवीय व्यवहार गरेको खुलेको छ। पीडित महिलाले इलाका प्रहरी कार्यालय हरैँचामा उजुरी दिएकी छन्। पक्राउ परेकी माझीविरुद्ध बोक्सी आरोपको कसुरमा मुद्दा चलाउने प्रहरीले जनाएको छ।

प्रकाशित: ४ फाल्गुन २०८० १३:५९ शुक्रबार

मानव मलमूत्र बोक्सी आरोप यातना अमानवीय व्यवहार बुढीगंगा गाउँपालिका पारो माझी पक्राउ