समाज

वन्यजन्तुबाट बाली जोगाउन ‘धुआ’ र ‘बिजुली’

न दिन भन्न पाइन्छ, न रात। महोत्तरीका गाउँनगर बस्तीमा नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बाली सखाप पारेर हैरान बनाएपछि किसान परम्परागत साधनको सहारा लिन थालेका छन्। खेतबारीका सुरसुरमा ‘धुआ’ (मुर्कट, बुख्याचा, झिलुंगो ) ठड्याएर वन्यजन्तु तर्साउने यहाँको धेरै पुरानो चलन फेरि बाक्लिएको छ।

‘यो धुआ ठड्याउने त पुरानै चलन हो, बीचमा वन्यजन्तुको चहलपहल घट्दा हटेको थियो। अहिले फेरि हामीले यसको सहारा लिन थालेका छौँ’, भङ्गाहा– ५ कर्पुरगञ्जका ६० वर्षीय किसान रामजुलुम सर्दारले भने, ‘बाली माड्दै र उखेल्दै हिँड्ने वन्यजन्तु धुआ ठडिएको देखेपछि मान्छे हो भन्ठानेर हच्कँदा रहेछन्।’

पूर्वपश्चिम राजमार्गबाट करिब २० किलोमिटर दक्षिणतर्फिको यहाँको बस्तीमा नीलगाई र बँदेलले धुरुक्क रुवाएका उनको भनाइ छ। ‘बाँदर र दुम्सी त यता देखिएका छैनन्, तर घोडगदाहा (नीलगाई) र जङ्गली सुँगुर (बँदेल) ले भने हुर्मत लिएका छन्’, उनले भने।

महोत्तरीका मध्य र दक्षिणी क्षेत्रमा नीलगाई र बँदेल आतंकले आजित किसान बाली लागेका खेतबारीका सुरमा धुआ ठड्याउनसँगै ठाउँठाउँमा बिजुली बाल्न थालेका छन्। बिजुलीको चिम (बल्ब) को उज्यालोबीच हातमा छडी बोकाइएको मुर्कट अगाडि पर्दा वन्यजन्तु हच्केर भाग्ने गरेको पाइएको किसानको भनाइ छ।

जिल्लाको मध्य र दक्षिणी भेगसम्म नीलगाई र बँदेल आतंक छ भने वन क्षेत्र नजिकका उत्तरी क्षेत्रका बस्तीमा त बाँदर र दुम्सीले पनि हैरान खेलाएको किसानको गुनासो छ। बेलाबेलामा हुने हात्तीको आक्रमणबाट वाक्कदिक्क बनाएका बर्दिबास– ३ राईमण्डलका ६० वर्षीया कर्णमाया गुर्मछाने बताउँछन्। ‘बाँदरले त यी ठड्याएका मुर्कट केही गन्दैन, आँगनकै थाङ्राका मकैसमेत उधिन्छ, नीलगाई र बँदेल भने बिजुलीको उज्यालो र मुर्कट देख्दा हच्किदा रहेछन्’, गुर्मछानेले सुनाए।्

‘यो धुआ बाजेले ठड्याउनु भएको मलाई सम्झना छ’, विगत सम्झदै बर्दिबास–९ बनरझुल्लाका ७० वर्षीय रामचन्द्र महतो भन्छन्, ‘बीचमा वन्यजन्तुको हिँडडुल कम हुँदा यसको चलन हराउँदै गएको थियो।’

धुआ र बिजुलीको प्रबन्धले वन्यजन्तुको उपद्रव अलि कम भएको किसानको ठम्याइ छ। यसले बाली बच्ने र वन्यजन्तुलाई पनि चोट नलाग्ने भएपछि किसानले सन्तोषको श्वास फेर्न पाएका छन्। वन्यजन्तुले बाली खाएको देखेपछि लखेट्दा कैयौं बस्तीमा निलगाई मारिएका र बँदेललाई पासो थापेर मार्ने गरेका घटना पनि अब कम हुने किसानको विश्वास छ।

दिनभरि घारीतिर लुकेर मध्यरातपछि तरकारी बाली, गहुँ, उखुका बोट र केराका थामसमेत उखेल्ने बँदेलले हैरान नै पारेका बेला धुआ  र बिजुलीले आपूmहरुलाई राहत दिएको किसानको भनाइ छ। 

‘बिजुलीको चमकमा हातमा लौरो लिएको मुर्कट देखेपछि मान्छे ठानेर बँदेल र नीलगाई हच्कदा रहेछन्‘ बर्दिबास–७ प्रेमनगरका रामउद्गार महतोले भने, ‘खेतबारीमा बिजुलीको झलमल्ल उज्यालोमा जङ्गलीजन्तु हिँडेको पनि अलिक टाढैबाट देखिन्छ, देख्नासाथ हल्लीखल्ली गरिएपछि वन्यजन्तु भाग्ने भएका हुँदा अहिले क्षति कम भएको छ।’

महोत्तरीमा अचेल उत्तरदेखि दक्षिणसम्मकै किसानले धुआ र बिजुलीको बन्दोबस्त बढाएका छन्। बस्ती-बस्तीका किसानले खेतखेतमा बिजुली बालेपछि जताततै चहकिलो उज्यालो देखिन थालेको छ।  

‘खेतबारीमा झलमल्ल बिजुलीको उज्यालो हुन्छ, जङ्गली जनावरमात्र होइन, यसले चोर्न पल्केका पनि हच्कँदा रहेछन्’, भङ्गाहा– ४ रामनगरका किसान शुभनारायण ठाकुरले भने, ‘खेतमा बिजुली बल्न थालेपछि केराका घरी र तरकारी चोर्ने घटना पनि कम भएका छन्।’

सघन तरकारी खेती गरिने महोत्तरीका उत्तरीक्षेत्रका स्थानीय तह बर्दिबास, गौशाला, भङ्गाहा र औरहीसहित छिमेकको धनुषा जिल्लाको मिथिला र क्षिरेश्वर नगरपालिका एवम् बटेश्वर गाउँपालिकाका बस्ती-बस्तीमा पनि वन्यजन्तुबाट बाली जोगाउन किसानले धुआ र बिजुलीको उपाय बाक्लै अपनाउँदै छन्।  –रासस

प्रकाशित: ३ फाल्गुन २०८० १२:०१ बिहीबार

मुर्कट बुख्याचा झिलुंगो बाली सखाप वन्यजन्तु नीलगाई बँदेल दुम्सी र बाँदर