समाज

कर्णालीमा विशेषज्ञ सेवा

जुम्ला – सामान्य विरामी पर्दा महंगो खर्चेर सुर्खेत, नेपालगन्जका सुविधा सम्पन्न अस्पतालमा उपचार गराउँदै आएको कर्णालीमा अहिले विशेषज्ञ सेवा शुरु भएको छ। कर्णालीको हुम्ला, डोल्पा र जुम्लामा विशेषज्ञ चिकित्सक नै बसेर सेवा सञ्चालन गर्दै आईराखेका छन्। मुगु र कालिकोट जिल्लामा महिनामा दुई पटक सम्म जिल्ला अस्पतालमै पुगेर विज्ञषज्ञ सेवा दिँदै आएको छ।

यता जाजारकोट जिल्लामा पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले विशेषज्ञ सेवा सञ्चालन गरिरहेको शिक्षण अस्पताल जुम्लाका निर्देशक धर्मराज गोसाईले जानकारी दिए। उनका अनुसार सामान्य चोटपटकको उपचारका साथै जटिल खालको शल्यक्रिया कर्णालीमै हुने गरेको छ।

विशेषज्ञ सेवाका लागि निश्चित कार्यतालिका बनेको छ, उनले भने, आवश्यक परेमा कार्यतालिका भन्दा बढी पटक पनि  विशेषज्ञ सेवा प्रदान हुँदै आएको छ।  कर्णाली प्रदेशका कुनै पनि जिल्लामा महामारी फैलन सक्ने संकेत देखिने वित्तिकै विशेषज्ञ सहितको स्वास्थ्यकर्मीको टोली परिचालन गर्दै आएको अस्पताल निर्देशक गोसाई बताउँछन। पछिल्लो समयमा कर्णालीबाटै विशेषज्ञ सेवा शुरु भएपनि स्वास्थ्य अवस्थामा अपेक्षित सुधार हुँदै आएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुनु अघि जुम्लामा कर्णाली अस्पताल थियो। कर्णाली अस्पतालमा चिकित्सक नबस्ने र अहेव, स्टाफ नर्स बस्नाले ठुलो प्रकारको रोगको पहिचान हुन नसकी बाध्य भएर सामान्य खालका विरामी रेफर हुने गरेका थिए। तर पछिल्लो समयमा कर्णालीमा बाहिरका विरामी उपचार गराउन आउने खालको वातावरण सृजना भईरहको छ। स्थानीय सन्तबहादुर रावत, अस्पताल पुग्दा खेरी रोजीछानी चिकित्सकसँग परामर्श र उपचार सेवा लिन पाउँदा निकै खुसी लाग्ने गरेको बताउँछन।उनले भने, कर्णाली रोगको सिकार छैन, सुविधा सम्पन्न जिल्लावाट आउने विरामीलाई समेत औषधी गरेर निको बनाएर पठाउन सक्ने भइसकेको छ। कर्णालीको मौसम अनुसार विरामीको संख्यामा तलमाथि हुने गरेका छन्।  

विशेषज्ञ सेवालाई कर्णाली प्रदेशको सबै जिल्लामा पुर्याउने लक्ष्य रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले बताएको छ। उनले भने, अहिले स्टाफ, नर्स र एचएको पढाई भइरहेको छ, केही वर्षपछि एमबिबिएस पढाई गर्ने जमर्को हँुदैछ। एक दशकपछि चिकित्सक उत्पादन गर्ने कारखानाका रुपमा कर्णालीलाई लिन सकिने छ। यसका लागि कर्णालीका सबै सरोकारवालाको सकारात्मक भुमिका हुने आशा गरिएको छ।

पहिलो चरणमा जिल्ला अस्पतालमा विरामीको रोग पहिचान हुन्छ, अस्पताल निर्देशक गोसाईले भने, रोगको पहिचान भईसकेपछि सम्बन्धीत रोगका विशेषज्ञ चिकित्सकलाई सेवा सञ्चालनका लागि खटाइदै आएको छ। विशेषज्ञ सेवा सञ्चालनको लागि स्रोत साधनमा पूर्ण रहेको रजिष्टार विश्वराज काफ्ले बताउँछन। उनले, कर्णालीलाई मेडिकल राजधानीका रुपमा स्थापित गर्न प्रदेश सरकारले पहल गरेको खण्डमा कर्णाली क्षेत्रको विकासमा निकै ठुलो टेवा पुग्ने देखिन्छ।

२०६८ सालमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको स्थापना भएसँगै यहाँका विरामी रेफर हुन छाडेका छन्।  छनौट समितिका अध्यक्ष सहित ६ जना पदाधिकारी,विशेषज्ञ चिकित्सक १६ जना,मेडिकल अफिसर १६ जना लगायत प्रतिष्ठानमा १ सय १५ जना कर्मचारी छन। अहिले कर्णालीमा हाडजोर्नी,एनएसथेसिया,मेडिसिन,अर्थो,एमडिजीपी,गाईनो,बालरोग विशेषज्ञ र जनरल सर्जन लगायतका सेवा प्रदान हुँदै आएको छ। कर्णालीका पाँच, दैलेख, अछाम, बाजुरा र जाजरकोट जिल्लालाई कार्यक्षेत्र वनाएको छ।   

प्रतिष्ठान आफैमा अन्यौलमा
संघियताको कार्यन्वयनसँगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला आफैमा अन्यौलमा देखिएको छ। प्रदेश अन्र्तगत रहने होकी,केन्द्र मातहतमा चल्ने हो भन्नेमा अन्यौलता रहेको रजिष्टार काफ्ले बताउँछन। अहिले केन्द्र सरकारकै मातहतमा चलेको छ, तर प्रदेश सरकारले पनि एकद्धार प्रणालीबाट अघि बढौ भन्ने निर्देशन गरेको छ, उनले भने,प्रतिष्ठान जसको मातहतमा रहेपछि सक्दो सहयोग गर्ने सवैको प्रतिवद्धता आईसकेको छ।

प्रदेश सरकारको स्वास्थ्य नीति निर्माणमा सहयोग पुर्याउनका लागि क्षेत्रिय अस्पताल सुर्खेत र शिक्षण अस्पतालको संयुक्त कार्यदल बनेको छ। क्षेत्रीय अस्पताल सुर्खेत र जुम्ला प्रतिष्ठानकाबीच एक आपसमा समन्वय गरेर लैजाने भन्ने सवाललाई जोडदारका साथ अघि सारीएको छ। कर्णालीको विशेषज्ञ सेवा विस्तार गर्ने र शैक्षिक क्रियाकलाप अघि बढाउने भन्ने विषयमा क्षेत्रीय अस्पताल सुर्खेत सकारात्मक देखिएको छ।

प्रदेश सरकारसँगको छलफलमा कर्णाली प्रदेशको कुनै एक बस्तीलाई अनुसन्धानका लागि छनौट गर्न र बस्तीका हरेक स्वास्थ्य सुचकको पहिचान गर्न सुझाव आएको छ,उनले भने, कर्णाली अस्पतालले समग्र स्वास्थ्य अनुसन्धानका लागि यसअघि नै अभ्यास गरिसकेको छ। नेपाल मेडिकल काउन्सिलको नीति कर्णालीमैत्री हुनुपर्ने,कानुनी अड्चन फुकाएर एमबिबिएस कक्षा सञ्चालन गर्ने वातावरण सृजनाकोलागि माग गरिएको छ। कर्णालीलाई स्वास्थ्य पर्यटनको केन्द्र बनाउन सकेमात्र प्रदेशको आम्दानीमा वृद्धि हुने देखिएको छ।

प्रकाशित: २९ फाल्गुन २०७४ ०९:२० मंगलबार