जर्मन तानाशाह हिटलर भन्थे, ‘प्रेम होइन, युद्ध गर्नुस्। किनभने, युद्धमा तपाईं कि मर्नुहुन्छ कि बाँच्नुहुन्छ। तर, प्रेममा तपाईं न बाँच्नुहुन्छ, न मर्नुहुन्छ।’ अशोक सिंहले प्रेम गरे। र, उनले आफ्नो प्रेमलाई जीवन्त बनाए। उतिबेला प्रेमलाई जीवन्त बनाएकाले अहिले उनी खुसी जीवन बाँचिरहेका छन्।
पाँच दशकअघि मधेसमा ‘प्रेम’ शब्दको उच्चारणसमेत ‘अपराध’ मानिन्थ्यो। त्यतिबेला अशोकले प्रेम गरे। प्रेम प्रस्ताव गर्ने आँट जुटाए। र, आफ्नो प्रेमलाई सफल बनाए।
पूर्व–पश्चिम राजमार्ग निर्माण क्रममा भारतको पटनाबाट प्राविधिक इन्जिनियरका रूपमा नेपाल आएका थिए, अशाेक। ०२६ सालमा नेपाल आएका सिंह लहान हुँदै धनगढीमाई नगरपालिकाको मुसहरनिया गाउँमा मुकाम बनाएर बसेका थिए।
मुसहरनियामा बसेका बेला सोही ठाउँकी शशिकला चौहानलाई सिंहले देखे। कसहाको मेलामा सिंह साथीभाइसँग गएका बेला चौहानलाई मनमनै मन पराए।
सिंहले चौहानलाई मन पराएको कुरा साथीभाइलाई सुनाए। सिंहले चौहानलाई मन पराए पनि विवाहको प्रस्ताव राख्न उनलाई पाँच वर्ष लाग्यो। पाँच वर्षपछि ०३० सालमा सिंहले स्थानीय साथीमार्फत चौहान परिवारसमक्ष विवाहको प्रस्ताव राखे। तर, चौहानका पिता रामबहादुर गौतमले सिंहको प्रस्ताव ठाडै अस्वीकार गरिदिए। सिंह हरेस खाएनन्।
विवाहको प्रस्ताव पुनः शशिकलाका दाजु अशोक गौतमसँग राखे। अशोकले सिंहको विवाह प्रस्ताव स्वीकार गरे। त्यतिबेला ‘प्रेम’ र ‘अन्तरजातीय विवाह’ यहाँको समाजले कल्पना पनि गर्दैनथ्यो। सिंहले साथीमार्फत पठाएको विवाह प्रस्तावलाई चौहान परिवारले स्वीकार गर्दा सिंह कम्ता खुसी भएनन्।
भारतीय मूलनिवासी मधेसी समुदायका सिंहसँग रैथाने चौहान (पहाडी) समुदायबीच विवाहले यस क्षेत्रमा त्यतिबेला हल्लीखल्ली नै मच्चियो। विगत सम्झँदै सिंहले भने, ‘मैले धक मानेर पठाएको विवाह प्रस्ताव स्वीकार भएको पत्याउनै गाह्रो प¥यो। कारण पहिलोपटक शशिकलाका बुबाले ठाडै अस्वीकार गरिसक्नुभएको थियो। त्यो जमानामा पनि मधेसी समाजमा उदार र आधुनिक सोच राख्ने परिवार थिए, उनले सम्झे।’
सिंह र शशिकलाको अन्तरजातीय मात्र नभई अन्तर सामुदायिक विवाह थियो। ५० वर्षअघि यो विवाहले यस भेगमा मात्र नभई पटनासम्मै तरंग ल्याएको थियो।
‘जातपातका कुरा हाम्रो दिमागमै आउँदैन’, सिंह भन्छन्, ‘०३० सालदेखि गोलबजारमा घर बनाएर बसिरहेको छु। यहाँका सबै जातजातिसँग उत्तिकै राम्रो र घनिष्ट सम्बन्ध छ।’ यो समाजमा जातीय र सामुदायिक विभेद नरहेको उनलृे बताए।
सिंह परिवारका दुई छोरा र एक छोरी छन्। एउटा छोराले तामाङ परिवारमा विवाह गरेका छन्। अर्का क्षेत्री परिवारमा। छोरी माझी परिवारमा विवाह गरेकी छन्। तिनै छोराछोरीको ससुरालीसँग माइतीको सम्बन्ध राम्रो छ।
‘तिनै सम्धीसँग हाम्रो सम्बन्ध सुमधुर छ।’ उहाँहरूको चाडपर्वमा हामी जान्छौं र हाम्रामा उहाँहरू आउनुहुन्छ ’, सिंह भन्छन्, ‘जातीय समुदायको हिसाबले मात्र नभई सांस्कृतिक रूपमा पनि हाम्रो सम्बन्ध प्रगाढ छ।’ हाम्रो परिवार इन्द्रेणीजस्तो विभिन्न रङको संगम हो। हाम्रो परिवार विभिन्न फूलले सजिएको फूलबारी हो।’
सिंह दम्पतीका तीन सन्तान छन्। दुई छोरा एक छोरी। जेठी छोरी शिखा सिंह। माइलो छोरा विकास सिंह र कान्छो विवेक सिंह। विकासको विवाह धनुषा जिल्लाको तल्लो गोदार निवासी सुनिता अधिकारीसँग मागी बिहे भएको हो। विकास र अधिकारीबीच ०६० सालमा मागी बिहे भएको अशोक सिंहले बताए। उनको एक छोरा सिद्धार्थ सिंह १७ वर्षको भयो।
कान्छो विवेक गोलबजार नगरपालिका डोहटियाकी सुशीला लामासँग प्रेम विवाह गरेका हुन्। उनी ०५४ सालमा सुशीलासँग प्रेम विवाहमा बाँधिएको सिंह परिवारले बतायो।
‘हाम्रो परिवारमा विभिन्न जाति, धर्म र संस्कृति मान्ने सदस्य छन्, जसले यो परिवारलाई फूलबारी, इन्द्रेणीको जस्तो सुन्दर बनाएको छ’, अशोकले भने।
यस परिवारको जेठो छोरा विकास जागिरे छन्। उनकी पत्नी सुनिता काठमाडौंमै उद्यमी छन्। कान्छो विवेक भारतमा जागिर गर्छन्। उनकी पत्नी सुशीला गोलबजारमा सासूससुराको बुढेसकालको सहारा बनेकी छन्।
फूलबारीको जस्तो परिवारमा अशोक खुसी छन्। तर, कहिलेकाहीं भने विगत सम्झेर उनका आँखा रसाउँछन्। कारण हो, भारतीय सहर पटनाको रैथाने जमिनदार परिवारसँग दूर बस्नुपर्दाको दर्द। अशोकपत्नी शशिकला पटनाको ससुराली घर यसरी सम्झन्छिन्, ‘नोकरचाकर (कामदार) ले भरिएको पटना सहरको आलिसान महलमा प्रवेश गर्दा चकित परें’, प्रेमका लागि सुखसयल त्यागेका अशोक असल पत्नी र कुशल पिताको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको शशिकलाको अनुभूति छ।
भारतीय सहर पटनाका समृद्ध परिवार छाडेर मधेसको सहर गोलबजार बस्नुको पछाडि सिंह यसो भन्छन्, ‘त्यतिबेला यहाँको शान्तिसुरक्षा र सामाजिक सद्भावले मलाई यो ठाउँले लोभ्यायो।’ त्यतिबेला गाउँका रूपमा रहेको यो ठाउँ सहरीकरणतर्फ पाइला चाल्दै थियो।
त्यतिबेला भारतको बिहार राज्यमा शान्तिसुरक्षाको अवस्था नाजुक थियो। सिंह त्यतिबेलाको विहार सम्झन्छन्, ‘जे गर्नु पनि मामुली कुरा थियो त्यतिबेला।’ अराजकताबाट आक्रान्त सिंह विवाहपछि पाहुनाजस्तै घर जान्थे र एक दुई हप्ता परिवारसँग बसेर पुनः गोलबजार फर्किहाल्थे।
उनी यहाँ बसेपछि माओवादी लडाइँ सुरु भयो। ०६३ बाट मधेसमा सशस्त्र गतिविधि तेज भयो। अनि यहाँको शान्तिसुरक्षाको अवस्था खलबलिन थाल्यो। मधेसको सशस्त्र गतिविधि पनि विस्तारै शान्त भयो।
जहाँ सद्भाव र शान्ति हुन्छ त्यो समाज समृृद्ध हुन बेर लाग्दैन। परिवार पनि समाजजस्तै हो भन्छन् सिंह, ‘जुन परिवारमा सद्भाव र मिलाप हुन्छ त्यो परिवारलाई समृद्ध बन्न बेर लाग्दैन।’ गोलबजार नगर, जहाँ धेरै जातजाति, संस्कृति र धर्मका मानिसको मिश्रित बसोवास छ। अलग–अलग भाषा, धर्म र संस्कृतिका मानिसको संगम गोलबजार सहर सामाजिक सद्भावको हिसाबले बलियो छ। जसकारण यहाँको सामाजिक विकास तीव्र गतिमा अघि बढ्दै छ।
सिंहले भने, ‘जहाँ मिश्रित जातजाति, धर्म र संस्कृति मिलेर बसेको छ, त्यो समाज तुलनात्मक रूपमा समृद्ध छ। परिवार पनि त्यही हो।’ जुन सहरमा सामाजिक सद्भाव र आपसी भाइचारा हुन्छ, त्यो सहरले छिटै प्रगति गर्छ। शान्ति र सद्भावबिना न सहर समृद्ध हुन सक्छ न परिवार।’
‘हाम्रो परिवारमा एकले अर्काको धर्म, संस्कृति र संस्कारलाई महत्वका साथ सम्मान दिएका छौं’, सिंहले भने, ‘सांस्कृतिक घुलनले परिवारलाई कसिलो बनाएको छ।’
गोलबजार सहरसँग अशोक परिवारको सद्भाव, संस्कार, बसोवासको मात्र साइनो छैन। यद्यपि स्वरूपको समेत साइनो छ। अर्थात् जसरी फूलबारीमा थरीथरी फूल र इन्त्रेणीको सातै रङ गोलबजारको सामाजिक संरचनामा भेटिन्छ त्यस्तै रंग र फूल अशोक परिवारमा।
गोलबजारमा तामाङ, यादव, साह, महतो, क्षेत्री, बाहुन, लामा, मगर जातिको मिश्रित बसोवास छ। जसरी गोलबजारमा थरीथरी जातीय बसोवासले फूलबारी र इन्द्रेणी सहर बनेको छ। त्यसैगरी अशोक परिवार पनि सिंह, चौहान, अधिकारी, लामा जातिको गठजोरले फूलबारी र इन्द्रेणीजस्तो परिवार बनेको छ।
प्रकाशित: २ फाल्गुन २०८० ०९:२४ बुधबार