समाज

मोरङमा शंकास्पद वस्तु राख्ने व्यक्ति नेकपा माओवादी (महावीर) समूहका

विस्फोटक पदार्थसहित पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी माओवादी (महावीर) समूहका दुई जना कार्यकर्तालाई प्रहरीले सार्वजनिक गरेको छ।

सोमबार विराटनगर–३ र मोरङको बुढीगंगा स्थित नेमुवाबाट पक्राउ परेका दुबैलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा इलाम माङ्सेवुङ गाउँपालिका –१ गजुरमुखि घर भई हाल काठमाण्डौं स्थित भिमसेनगोला डेरागरी बस्ने ३८ वर्षीय प्रवीण मिश्र र पाँचथर चाङ्थापु १ घर भई हाल याङवरक गाउँपालिका १ बस्ने ३० वर्षीय विपिन अधिकारी पक्राउ परेका हुन्।

पक्राउ परेका मिश्रको साथबाट विस्फोटक पदार्थमा प्रयोग हुने डेटोनेटर ७ थान, १८ फिट ३ इन्च लम्बाइ रहेको डेडकर्ट, सोडा डेढ केजी, सहयोग रसिद ठेली २ बुक, खालीखाम ४ वटा ,मुक्तिनाथ प्रकाशन गृहको प्रेस कार्ड १ वटा ३ वटा मोबाइल ५ वटा सिमलगायत बरामद भएको छ।

यस्तै पक्राउ परेका विपिन अधिकारीको साथबाट काटिएको सहयोग रसिद १ र नकाटिएको १ ठेली, आर्थिक सहयोग सम्बन्धी पत्र ४ वटा, मुक्तिनाथ प्रकाशन गृहको प्रेस कार्ड १ वटा, डायरी, एसविआई बैकको चेकबुक, डिजिटल स्टाम्प १–१ थान, मोबाइल १ थान र सिम १ थान बरामद भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका एसपी दीपक पोखरेलका अनुसार विराटनगरका विभिन्न शैक्षिक संस्थाहरूमा चन्दा उठाउँदै आएको उनीहरूलाई प्रहरीले पक्राउ गरेको जानकारी दिए।

उनका अनुसार पक्राउ परेकाहरूसँगको सोधपुछ पछि उनीहरूले लुकाइ राखेको प्रेसरकुकर बम जस्तो देखिने बस्तु विराटनगर–३ स्थित वन कार्यालय पश्चिमतर्फको खाली चौरीबाट बरामद गरेको छ। बरामद गरिएको प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलिले मंगलबार डिस्पोज गरेको छ।

प्रकाशित: १ फाल्गुन २०८० १२:४३ मंगलबार

शंकास्पद वस्तु फेला