समाज

विराटनरमा शंकास्पद वस्तु भेटियो, २ जना पक्राउ

विराटनगर महानगरपालिका–३ दुर्गा चोक नजिक बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ। सोमवार साँझ आँपको रुख र एउटा घरको बीचमा प्रेसर कुकरमा टेपले बाँधेर राखेको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको हो।

शंकास्पद वस्तु फेला परेपछि प्रहरीले रातभर सुरक्षा दिएको र घटनास्थल वरपर मानिस आवतजावतमा रोक लगाइएको छ।

शंकास्पद वस्तु डिस्पोज गर्न नेपाली सेनाको टोली घटनास्थलमा आइपुगेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी छेदीलाल कामतीले जानकारी दिए।

सेनाले डिस्पोज गरिसकेपछि उक्त वस्तु बम हो कि हैन भनेर यकिन हुने उनले बताए।

निजी विद्यालय तथा विभिन्न क्षेत्रमा चन्दा आतंक मच्चाउने समूहले शंकास्पद वस्तु राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ समेत गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरु यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबाट आवद्ध रहेको खुलेको छ। उनीहरुको पूरा विवरण प्रहरीले सार्वजनिक गरेको छैन।

विप्लव समूहबाट अलग भएर विद्यालयलगायतमा चन्दा आतंक मच्चाइरहेको पाइएको प्रहरी स्रोतले बताएको छ। घटनास्थलमा ‘आर्थिक सहयोग गरिदिनु हुन’ भनेर लेखिएको पर्चा पनि फेला परेको छ।

प्रकाशित: १ फाल्गुन २०८० ०९:१२ मंगलबार

विराटनगर महानगरपालिका दुर्गा चोक शंकास्पद वस्तु आँपको रुख प्रेसर कुकर मानिस आवतजावतमा रोक