समाज

१ करोड नेपाली नक्कली नोटसहित एकजना भारतीय पक्राउ

सुनसरीको इनरूवाबाट प्रहरीले १ करोडभन्दा बढी नेपाली नक्कली नोटसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

भारत बिहार राज्य वीरपुरका २२ वर्षीय मोहम्मद सैयदलाई नक्कली नोटसहित पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए।

उनका अनुसार इनरूवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट आइतवार नोटहरू बरामद गरिएको थियो।

एक करोड ८२ लाख ५१ हजार वटा नेपाली १ हजार दरका नक्कली नोटहरू बरामद भएको बताउँदै एसपी रेग्मीले भने, ‘भारतबाट आएको भारतीय नम्बरको बिआर एक्स ३४२९ को गाडीलाई ट्राफिक प्रहरीले चेक गर्दा शंकास्पद बुझिए पछि खानतलासी गरिएको थियो। खानतलासीको क्रममा गाडीको पछाडिको भागमा बोराभित्र झोलामा राखेर लुकाईछिपाई ल्याएको अवस्थामा नक्कली नोट फेला परेको थियो।’

पक्राउ परेका सैयद चालक हुन् भने गाडीमा सवार अर्का व्यक्ति चेकिङ्ग हुन थालेपछि  फरार भएका छन्।

बरामद भएको रकम, गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। घटनाका विषयमा थप जानकारी सुनसरी प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरेर दिने जनाएको छ।

प्रकाशित: २९ माघ २०८० ०८:५३ सोमबार

सुनसरी इनरूवा १ करोडभन्दा बढी नेपाली नक्कली नोट नेपाली नक्कली नोट भारतीय नागरिक इनरूवा नगरपालिका