झापाकी एक महिला पतिसँग सम्बन्ध बिग्रिएपछि दुई छोराछोरीको भविष्य सम्झेर कुवेत पुगेको चार महिनामै स्वदेश फर्किइन्। साथीमार्फत चिनेका एक एजेन्टले उनलाई कुवेत पुर्याएका थिए। राम्रो तलबसहित कम्पनीको काममा लगाइदिने भन्दै एजेन्टले उनलाई कुवेत पठाए।
कुवेत विमानस्थलमा ती महिलालाई लिन कुवेती एजेन्ट आइपुगेका थिए। ‘एयरपोर्टबाट सिधै उनीहरूको अफिस लगे,’ उनले भनिन्, ‘त्यहाँ धेरै महिला थिए। कम्पनी होइन, कुवेतीको घरघरमा काम गर्न महिला जम्मा गर्ने रहेछन्। त्यहाँ पुग्नेबित्तिकै हाम्रा सबै कागजात खोसिए। घरमा काम गर्दिनँ भनेर प्रतिकार पनि गरें। त्यो सम्भव भएन, घरमा काम गर्न बाध्य भएँ।’
पीडित महिलाका अनुसार नेपालबाट कम्पनीमा भन्दै घरेलु काममा लगाउन त्यहाँ विभिन्न एजेन्ट क्रियाशील रहेका रहेछन्। कुवेत पुर्याउने एजेन्टले घरेलु कामदारको रूपमा बेचेका थिए। दुई बालबच्चालाई उच्च शिक्षा दिने सोचले विदेश पुगेकी ती महिलाको सपना सुखद रहेन।
कुवेतमा राम्रो आमदानी हुने विश्वासमा परेकी ती महिलाले बताइन्। ‘धेरै नेपाली महिलालाई कुवेत पठाएको छु,’ एजेन्टले आफूलाई दिएको आश्वासन सम्झिँदै ती महिलाले भनिन्, ‘तपाईं जानुहुन्छ भने कुवेतको राम्रो कम्पनीमा सरसफाइ गर्ने काममा पठाइदिन्छु। आम्दानी मासिक ११० दिनार (४६ हजार रूपैयाँ) हुन्छ। दैनिक १० देखि १२ घण्टा काम गरे हुन्छ। कुवेत पुग्न ६० हजार चाहिन्छ। तर त्यो रकम पछि कमाएर तिर्दा हुन्छ बरु प्रक्रिया सुरु गरौं।’
उनले भनिन्, ‘एजेन्टले भनेअनुसारको कागजात बुझाएँ। कागजात बुझाएको चारपाँच दिनपछि स्वास्थ परीक्षण भयो। करिब १५ दिनपछि एजेन्टले नै फोन गरेर भिसा र टिकट आइसक्यो। तिमी आजै घरबाट हिँड्नु भनेपछि बिदावारी भएर काठमाडौं आएँ।’
कुवेत उड्न काठमाडौं आएकी ती महिलाको एजेन्टसँग स्वयम्भू चोकमा भेट भयो। उनलाई एजेन्टले मोटरसाइकलमा राखेर आफ्नै कार्यालय पुर्याए। ‘एजेन्टको अफिसमा पुग्दा अन्य महिला पनि थिए। त्यस दिन त्यहीँ बस्यौं। भोलिपल्ट अन्तर्राष्ट्रिय एरपोर्टबाट कुवेत पुगियो,’ उनले भनिन्। कुवेती मूलका पुरुषले अरबी भाषामा कुरा गरेर अब काम गर्न जानु भन्दै गाडीमा हालेर घरमा पुर्याएको उनले बताइन्।
‘त्यहाँ मेरो काम बच्चालाई रेखदेख गर्ने, लुगा धुने, शौचालय सफा गर्नेलगायत थियो,’ उनले भनिन्, ‘खाना बनाउने कामसमेत लगाए। विदेशी भूमिमा मैले कुनै प्रतिकार गर्न सकिनँ। दिनमा १८ देखि १९ घण्टासम्म काम गर्दा पनि आराम पाइन्नथ्यो। खाना एक छाक मात्रै पाइन्थ्यो।’
उनको त्यहाँ काम गर्ने धोको पुगिसकेको थियो। जहाँ काम गर्थिन्, उनी त्यस घरकी मालिक्नीलाई स्वदेश फर्काइदिन दिनरात आग्रह गर्थिन्।
‘काम गर्दिनँ, नेपाल फर्कन्छु भन्दा पनि सुख पाइनन्। झन् घरकी साहुनीले मानसिक यातना दिन थालिन्। १२ दिन घरमै थुनेर जबरजस्ती काम गर्न लगाइन्। त्यसपछि साहुनीले मलाई कम्पनीमा जिम्मा लगाइन्,’ उनले भनिन्।
उनका अनुसार उनी मात्रै स्वदेश फर्किने पहलमा थिइनन्। त्यहाँ अन्य थुप्रै महिला स्वदेश फर्किने चाहनाले छटपटाइरहेका थिए। ‘हामी सहजै स्वदेश फर्कने अवस्था थिएन किनकि हामीलाई त्यहाँ पुर्याएबापत उनीहरूले नेपाली एजेन्टलाई ठुलै रकम बुझाएका रहेछन्। त्यहाँका एजेन्टले नेपाल फर्कने भए पाँच लाख रूपैयाँ दिन भनेका थिए।’
उनले थपिन्, ‘कुवेतको राम्रो कम्पनीमा सरसफाइको काममा लग्ने भनेर गएकी थिएँ। घरमा पैसा माग्ने ठाउँ थिएन। सोही कारण त्यही एजेन्ट अफिसमा बस्न बाध्य भएँ। एजेन्ट अफिस सञ्चालकले हामीले किनेर ल्याएका हौं। हामीले भनेबमोजिम काम गर्नुपर्छ भनी शारीरिक यातना वा कुटपिटसमेत गर्थे। साथमा मोबाइल, कागजपत्र केही थिएन। सहयोगका लागि सम्पर्क गर्न सकिने अवस्था थिएन।’
उनले बाँच्ने आशा मारिसकेकी थिइन्। तापनि उनले बारम्बार नेपाल फर्काइदिनू भनी अनुरोध गरिरहिन्। अन्तिममा सञ्चालक एजेन्ट जति सक्नुहुन्छ त्यति रकम दिनु भनेपछि पैसा खोज्नतिर लागेको उनले बताइन्।
नेपालमा भएका बुढा बाबुले ऋण गरेर दुई लाख रूपैयाँ एजेन्ट जीवन विश्वकर्माको बैंक खातामा जम्मा गरिदिए पनि उनी नेपाल आउन सफल भइनन्। विश्वकर्माले उक्त रकम कुवेतमा रहेको एजेन्ट अफिसमा नहालेपछि उनी झनै ठुलो समस्यामा परिन्।
उनलाई अफिसमा पुनः शारीरिक तथा मानिसक यातना दिन थाले। उनको अफिसबाहिर हिँडडुल गर्ने अवस्था पनि थिएन। उनीहरू बन्धकमा थिए। त्यहाँ रहेका सबै महिलाले स्वदेशबाट पैसा मगाएको उनले सुनाइन्।
‘राति थियो,’ उनले भनिन्, ‘सबै सुतिसकेका थिए। शौचालय जाने बहानाले म भागेर कुवेतस्थित नेपाली राजदूतावास पुगें। दूतावासका कर्मचारीको सहायताले स्वदेश फर्किएकी हुँ।’ नेपालमा आर्थिक अवस्था कमजोर हुनुका साथै शिक्षामा पनि राम्रो सुधार नभएको उनी बताउँछिन्।
विदेश जानपूर्व एउटा काम भनेर लगे पनि अर्कैमा लगाइदिने प्रवृत्ति धेरै छन्। दलालले गर्दा नेपाली युवायुवतीले विदेशमा दुःख पाइरहेका छन्। फ्री भिसा, फ्री टिकटमा उनी कुवेतको कम्पनीमा सरसफाइको कामका लागि गए पनि त्यहाँ भनेअनुसार काम नपाएपछि अहिले स्वदेश फर्किएर मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी दिएकी छिन्।
आर्थिक अवस्था कमजोर भएका, घरेलु हिंसामा परेका, पतिले छाडेर बालबच्चासहित बिचल्लीमा परेका कतिपय महिलाले वैदेशिक रोजगारीमा गएर परिवार धानेका छन्। उनी त प्रतिनिधि पात्र मात्र हुन्।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार उनीहरू जस्तै रोजगारीको खोजीमा बिदेसिने महिला संख्या पछिल्लो समय बढ्दै गएको छ। वैदेशिक रोजगारीलाई अँगालेर कुवेत पुगेका महिला कतिपय उहीँ बन्धक बनेका छन् भने कतिपयले अचानक स्वदेश फर्किनुपरेको छ।
उनीजस्तै फरक समयमा कुवेतको सोही एजेन्ट अफिसबाटै कसैले एक लाख ३५ हजार, कसैले दुई लाख ३० हजार र कसैले एक लाख ५० हजार रूपैयाँ तिरेर स्वदेश फर्किएका छन्। एजेन्ट जीवन विश्वकर्माले ती पीडित महिलालाई मात्रै अप्ठ्यारोमा पारेका थिएनन्। उनीलगायत अन्य महिलालाई पनि उही कम्पनी र उस्तै काममा लगाउने भन्दै कुवेत पुर्याएका थिए। त्यसमध्ये केही महिला आफ्नै पहलमा स्वदेश फर्किएका छन्।
‘नेपालबाट पैसा पठाएका दिदीबहिनीहरू नेपाल फर्किएका छन्। तर, पैसा तिर्न नसक्ने दिदीबहिनीको त्यहाँ बेहाल छ। कमाउन विदेश पुगेका धेरै महिलाको नेपालमा कोही आफन्त छैनन्, छोराछोरीबाहेक। उनीहरू त्यहीँ छन्,’ कुवेतबाट फर्किएकी अर्की एक महिलाले भनिन्। त्यसमध्ये मानव बेचबिखन अनुसन्धान ब्युरोमा चार जनाको जाहेरी परेको छ भने अन्य महिला पनि ब्युरोमा उजुरी दिन आएका ती महिला पीडितले बताए।
मानब बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी एसपी कृष्णप्रसाद पंगेनीका अनुसार खासगरी अध्ययन नगरेका भन्दा बढी अध्ययन गरेका महिला यतिखेर वैदेशिक रोजगारीको वातावरणले लोभ्याउँदा अप्ठ्यारोमा परेका छन्। अवैध बाटो प्रयोग गर्ने तथा पर्यटक भिसामा विदेश जाने महिलाको संख्या बढ्दो छ।
‘विशेषगरी घरेलु कामदारका रूपमा नेपाली महिलाको बढी माग हुने खाडी मुलुकमै हो,’ उनले भने, ‘वैदेशिक रोजगारीमा जाने भनेपछि अनेक बाटा अपनाउँदै नेपाली महिला घरेलु कामदारका रूपमा खाडी मुलुक गइरहेका छन्।
गाउँमा जति मेहनत गर्दा पनि विदेशमा कमाएको पैसा जस्तो हुँदैन। मेहनती महिलाले विदेशमा वर्षमै ३/४ लाख रूपैयाँसम्म कमाउन थालेपछि देखासिकी गर्ने क्रम बढेको छ। पछिल्लो समय महिला विदेश जाँदा समाजले पनि सामान्य रूपमा लिन थालेपछि वैदेशिक रोजगारीको खोजीमा उनीहरू पनि अग्रसर हुने गरेका छन्।
‘गाउँगाउँमा दलालको बिगबिगीका कारण सामान्य लेखपढ गरेका महिला सहजै प्रलोभनमा परी बिदेसिएका छन्। वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा महिला घरेलु कामदारका रूपमा जाने गर्छन्।
यसरी जानेमध्ये धेरैजसो घरेलु हिंसामा परेका, लेखपढ कम भएका, गरिब र पहुँच नभएका महिला हुन्। त्यस्ता महिलालाई वैदेशिक रोजगारीमा जाँदा कसरी सुरक्षित हुनुपर्छ भन्नेबारे ज्ञान हुँदैन,’ एसपी पंगेनीले भने।
चालु आवमा वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीका लागि पुसमा मात्रै ६ हजार ८४ जना महिला विदेश गएका छन्।
प्रकाशित: २८ माघ २०८० १०:१२ आइतबार