समाज

रोकिइराखेको ट्रकमा ठोक्किँदा बसका २० यात्रु घाइते

तस्बिर: रासस

चितवनमा रोकिराखेको ट्रेलर ट्रकमा यात्रुवाहक बस ठोक्किँदा २० जना घाइते भएका छन्। हिजो साँझ आठ बजे राप्ती नगरपालिका– २ गडौलीस्थित पूर्वपश्चिम राजमार्गमा रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा. प्र. ०१–००६ ख २००४ नं. को बस सोही दिशातर्फ साइड बाटोछेउमा पार्किङ गरेर रोकिराखेको प्र.२०३–००१ ख ७३१२ नम्बको ट्रली ट्रकको पछाडि ठोक्किँदा बसमा सवार २० जना यात्रु घाइते भएका हुन्। घाइते हुनेमा रौतहट र काठमाडौंका बढी छन्।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ। गम्भीर घाइते हुनेमा बारा भरतगञ्ज सिंगोल ३ का ३३ वर्षीया कल्पना कुमर र भरतगञ्ज सिंगोल वसन्तपट्टी १ का ३१ वर्षका आशानन्द प्रसाद रहेका छन्। उनीहरूको दुवैजनाको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

त्यस्तै रौतहटका सुबोध दुबे, निरज थापा, काठमाडौं जोरपाटी बस्ने सिखा बर्मा, सहचालक गोकुल ठकुरी घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको छ। यस्तै रौतहटका अमिला खातुन, मोहन ठाकुर, प्रिन्स श्रीवास्तव, रुपेश पण्डित, खेदन शर्मा, अर्जुन साह, सैजाद शेष, शेष तलबेज, राम नारायण साह, विश्वनाथ साह, कमालु दिन, दोलखा चरिकोटका १८ वर्षीय दिपेश श्रेष्ठ, काभ्रे बनेपाका शिवजी कार्की, सर्लाही बयलवासका रुपेश राम रहेका छन्। उनीहरूको अवस्था सामान्य रहेको चितवन प्रहरीले जनाएको छ। बस चालक फरार छन्।  

बस, ट्रेलर र ट्रेलर चालकलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा राखेको जनाएको छ।

प्रकाशित: २७ माघ २०८० ०७:२१ शनिबार

पूर्व–पश्चिम राजमार्ग बस दुर्घटना चितवन २० जना घाइते गड्यौली ट्रेलर ट्रक