समाज

चुरे क्षेत्रमा गैरकानुनी राज

चुरे संरक्षित तथा वन क्षेत्रमा अनियन्त्रित दोहन

लहान नगरपालिका १५ मा रहेको खुट्टी खोलामा नगरपालिकाको संरक्षणमा चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुप कम्पनीले मच्चाइरहेको अवैध दोहनको तस्बिरःमिथिलेश/नागरिक

लहान नगरपालिका–१५ चुरे पर्वतको दक्षिण पश्चिम फेदीबाट खुट्टी खोला बगिरहेको छ। यो खोलाको पूर्व टाँसिएर झवाई खोल्सी चुरिया डाँडा सामुदायिक वन छ। चुरे र सामुदायिक वन टाँसिएरै चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुप कम्पनीले एक्स्काभेटरमार्फत  खोला खनिरहेको छ।

लहान नगरपालिका १५ स्थित खुट्टी खोलामा पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म चार लेन राजमार्ग निर्माणको काम गरिरहेको यस कम्पनीले नगरपालिका, वन, प्रहरी प्रशासन र जिल्ला समन्वय समितिसँग सेटिङ मिलाएर तीन वर्षदेखि अवैध दोहन गर्दै आएको छ। सम्झौतामा एक्स्काभेटरबाट खोला खन्ने उल्लेख छैन।

झवाई खोल्सी चुरिया डाँडा सामुदायिक वनका पदाधिकारी र स्थानीयहरू सुरुवातदेखि नै यस कार्यको विरोध गर्दै आएका छन्। तर, उनीहरुलाई प्रहरीले धम्क्याएर चुप लगाउँदै आएको स्थानीयहरू बताउँछन्।

गत मंसिर १४ गते चुरे तथा वन क्षेत्रमा उत्खनन गरिरहेको दुई वटा एक्स्काभेटर स्थानीयले नियन्त्रणमा लिएर डिभिजन वन कार्यालयलाई खबर गर्‍यो। डिभिजन वनबाट टोली उत्खनन स्थल पुगेर अनुसन्धान गर्दा आइइई नभएको पाइएपछि दुबै एक्स्काभेटर चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपले भाडामा लिएर दोहनमा संलग्न गराएको खुल्यो। सो एक्स्काभेटरका चालकहरू कर्जन्हा नगरपालिका २ का विन्देश्वरकुमार महतो, सप्तरीको सुरुंगा नगरपालिका १ का अजय चौधरी र चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपका फिल्ड इन्चार्ज चिनियाँ नागरिक हुस्या छ्याङलाई नियन्त्रणमा लियो । जिल्ला अदालत सिरहाले चिनिया नागरिक छ्याङलाई ३ लाख र दुई चालकलाई ५०÷५० हजार धरौटीमा रिहा गरिदियो।

चिनिया नागरिकसहित दुई चालक पक्राउ परेपछि केही दिन बन्द रहेको दोहन अहिले पुनः अनियन्त्रित बनेको छ।

झवाई खोल्सी चुरिया डाँडा सामुदायिक वनको ८ नम्बर बल्क टाँसिएर अहिले चार वटा एक्स्काभेटरले दिनरात खोला खनिरहेको छ। अदालतबाट धरौटीमा छुटेका चिनिया नागरिक छ्याङ आफै उभिएर खोलामा गहिरो खाल्डो खनेर नदीजन्य पदार्थ उठाइरहेको पाइएको छ। 

झवाई खोल्सी चुरिया डाँडा सामुदायिक वनका अध्यक्ष लगनलाल चौधरी भन्छन्,‘तीन वर्षदेखि निरन्तर चिच्याउँदै छौँ, कसैले सुन्दैनन्। दुई महिनाअघि वन कार्यालयले हामीले नियन्त्रणमा लिएर बुझाएको एक्स्काभेटरमाथि कारबाही चलाउँदै चिनिया नागरिकसमेतमाथि मुद्दा चलाएपछि आशा पलाएको थियो उनले भने,‘अहिले त पहिलाको भन्दा अनियन्त्रित दोहन भइरहँदा सब चुपचाप छन्। अहिले खनिरहेको क्षेत्र हाम्रो सामुदायिक वनको ८ नम्बर बल्क हो, उनले भने, पहिला दुई वटा एक्स्काभेटरले वन क्षेत्रको खोला खनिरहेको थियो अहिले चार वटा एक्साभेटरले दिनरात खनिरहेको छ। उनका अनुसार प्रहरीले र नगरपालिकाले त यो कुरा सुन्नै चाहँदैनन्। वन र जिल्ला समन्वय समितिका प्रमुखलाई यसबारे जानकारी गराइसकेका छन्।

सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल भने, ‘आफू भर्खरै कार्यभार सम्हालेको यस विषयमा बुझ्ने आवश्यक कदम चाल्छु। यसअघिका प्रजि राजेन्द्रदेव पाण्डे पटक पटक उत्खनन स्थल पुगेर फर्के पनि कुनै कारबाही नभएको स्थानीयको गुनासो छ।

वनका अध्यक्ष चौधरी भन्छन्,‘नियामक निकायका पदाधिकारीहरू उत्खनन स्थलमा आउने जाने भयो। नगरपालिकाको संरक्षणमा चाइना कम्पनीले विनाशलिला मच्चाएको क्षेत्र सरकारले घोषणा गरेको चुरे संरक्षित क्षेत्र हो। यस क्षेत्रमा एक्स्काभेटरमार्फत गहिरो खाल्डो बनाएर उत्खनन भइरहँदा नियामक निकाय मुकदर्शक बनेका छन्। नगरपालिकाले चाइना रेल्वे कम्पनीसँग सम्झौता गरे पनि उत्खनन स्थल तोकेको छैन। खुट्टी खोलाभरी घुम्दा कहीँ पनि संकलन÷उत्खनन केन्द्रको बोर्ड देखिँदैन। कुन स्थानबाट कति परिणाममा खोलाजन्य पदार्थ उत्खनन गरिँदै छ, त्यो कतै भेटिँदैन। नगरपालिकाले खोलामा सिमाङ्कन गरेको पाइँदैन।

स्थानीय तहले नदी/खोला पैदावारको ठेक्का लगाउँदा सबैले देखिने गरी ठेक्का लिने फर्म तथा व्यवसायीको नाम, ठेक्का अंक, परिमाणको साइनबोर्ड राखेर प्रत्येक १५/१५ दिनमा उत्खनन गरेको परिमाण नगरपालिकाबाट प्रमाणित गरी जिल्ला समन्वय समितिमा पठाउनुपर्ने व्यवस्था छ। तर स्थानीय तहले आफूखुसी खोला नदी दोहन गर्ने–गराउने गरेकाले उल्लिखित नियम पालना गरेको पाइँदैन। नगरपालिकाको आडमा चाइना रेल्वे कम्पनीले चुरे संरक्षित क्षेत्रमा अनियन्त्रित दोहन मच्चाइरहेको छ। स्थानीयले गरेको विरोधको स्वरलाई लोभ्याएर, धम्क्याएर दबाउने काम गरिरहेको छ।

विकासको नाममा भइरहेको सीमाविहीन दोहनले विनाश निम्तिने वनका अध्यक्ष चौधरी बताउँछन्। उनी भन्छन्, ‘सीमाविहीन दोहनको दुष्परिणाम सामुदायिक वनमा कटान तीव्र भएको छ।'

दोहनको गति यस्तै रहे झवाई खोल्सी चुरिया डाँडा सामुदायिक वनको अस्तित्व नै मेटिने चौधरी बताउँछन्। वन मात्र नभई खोला बस्तीतर्फ सोझिने खतरा बढ्दो छ। क्षणिक लाभका लागि मानव बस्ती र प्रकृतिको अस्तित्व संकटमा पार्ने खेल रोकिनुपर्ने उनको कथन छ।

लहान नगरपालिका–१५ बानो गाउँको सुकुम्बासीको जीवन खुट्टीखोलामा अडिएको छ। खुट्टीखोलाको पूर्वी डिलको यस बस्तीका मानिसको जीवन यसै खोलाको गिट्टी छानेर बिक्रीबाट हुने आम्दानीमा अडिएको छ।

बेल्चाबाट खोलाको बालुवा, गिट्टी छानेर बिक्री गरी जीवन बाँच्दै आएका यस बस्तीका मानिसहरू अहिले चिन्तित छन्। कारण हो खोलामा एक्स्काभेटर र लोडरको प्रवेश। पछिल्लो तीन वर्षदेखि यस खोलामा उपकरणले दोहन सुरु गरेपछि यस बस्तीका विपन्नको जीवन जिउने सहारा मात्र संकटमा परेको छैन असुरक्षित पनि बनाएको छ।

गत वर्षको बर्खामा खोलामा आएको बाढी पूर्वतर्फ हान्निएपछि ज्यान जोगाउन घर छोडेर भाग्नुपरेको बस्तीकी पवित्री सदायले बताइन्। ‘पर्तीमा (चौर) रहेको हाम्रो घरसम्मै खोला पुगिसक्यो । खोल मे मसिन सँ अहिना खुनैत रहलै त हम सब जल्दीए बेघर भ जेबै (खोलामा एक्स्काभेटर र लोडरले यसैगरी अनियन्त्रित दोहन भइरहे हामी चाडै बेघर हुन्छौ),’ सदाय भन्छिन्, ‘हमर सबके दुःख हरैबाला कोइ नै छै (हाम्रो दुःखमा मलम लगाउने कोही भइदिएन)।’

बिना वातावरणीय मूल्याङ्कन कुनै पनि खोलाबाट नदीजन्य पदार्थ निकाल्न पाइँदैन। यस खोलाको उद्योग दर्ता अनुमति प्राप्त गर्न वनक्षेत्र सिमाङ्कनका लागि डिभिजन वन कार्यालयको सहमति आवश्यक पर्छ। वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनलगायत मापदण्ड पूरा गर्नुपर्छ। तर चोरबाटोबाट क्रसर सञ्चालन गर्दा मापदण्ड, प्रतिवेदन, कानुनी प्रावधान केही पनि पूरा गर्नुपर्दैन।

दोहन मात्र होइन, क्रसर पनि अवैध

चाइना रेल्वे कम्पनीले खुट्टी खोलामा अनियन्त्रित दोहन मात्र गरिरहेको छैन। यो कम्पनीले कानुनमाथि नै क्रसर चलाउँदै छ। चाइना रेल्वेले कानुन विपरीत खुट्टी खोलामै गरेको ‘स्टोन क्रसिङ प्लान्ट’ नामक क्रसरको अभिलेख घरेलु तथा साना उद्योग कार्यालय लहानमा छैन। जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतोका अनुसार यस क्रसरको कुनै कानुनी कागजात छैन। न यसले क्रसर सञ्चालन सम्बन्धी कुनै मापदण्ड पुर्‍याएको छ। यो कानुनी हैसियत बेगर सञ्चालनमा रहेको पाइएको उनले बताए।

यो क्रसरबाट निस्किने फोहोर पानी तथा अन्य प्रदूषित पदार्थ ह्युम पाइपमार्फत खुट्टी खोलामा फालिरहेको छ। जुन कानुन विपरीत हो। ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ ले जिल्ला समन्वय समितिको प्रमुखको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, डिभिजन वन प्रमुख, प्राविधिक इन्जिनियर, राजस्व कार्यालय वा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख, जिल्ला समन्वय अधिकारीसहितको अनुगमन समितिको व्यवस्था गरेको छ।

यो समितिले वातावरणीय अध्ययन प्रतिवेदनका सर्त पालना गराउने, उत्खनन र सङ्कलनका लागि स्वीकृत विधि, प्रक्रिया र परीक्षणसम्बन्धी व्यवस्थाको पालना गराउने, राजस्व चुहावट तथा चोरी निकासी रोक्ने, ठेक्का सम्झौता पालना गराउने, सञ्चालित क्रसर उद्योगले तोकिएको मापदण्ड पूरा गरे नगरेको अनुगमन तथा नियन्त्रण गर्ने कानुनी अधिकार राख्छ। तर समितिले जिल्लाका खोला नदी र क्रसर उद्योग अनुगमन गरेर कारबाही गरेको रेकर्ड भने छैन। समितिले कारबाही गर्नुको साटो चुप लागेर बस्नुले सेटिङलाई प्रस्ट्याउँछ।

ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ मा राजमार्गको राइट अफ वेबाट ५ सय मिटर, खोला वा नदी किनारबाट ५ सय मिटर, पक्की पुलबाट ५ सय मिटर, हाइटेन्सन लाइनबाट २ सय मिटर, घना बस्तीबाट २ किलोमिटर, चुरे पहाडको फेदीबाट १५ सय मिटर टाढाको दुरी कायम गरेर मात्र क्रसर सञ्चालन गर्नुपर्ने उल्लेख छ। 

क्रसर उद्योग दर्ता अनुमति प्राप्त गर्न वनक्षेत्र सिमाङ्कनका लागि डिभिजन वन कार्यालयको सहमति आवश्यक पर्छ। वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनलगायत मापदण्ड पूरा गर्नुपर्छ । तर चोरबाटोबाट क्रसर सञ्चालन गर्दा मापदण्ड, प्रतिवेदन, कानुनी प्रावधान केही पनि पूरा गर्नुपर्दैन।

पूर्व पश्चिम राजमार्गअन्तर्गत पश्चिममा कमला नदी पुलदेखि पूर्वमा सप्तरीको कञ्चनपुरसम्म निर्माणको ठेक्का पाएको चाइना रेल्वे कम्पनीले क्रसर र खोला नदीजन्य पदार्थको उत्खनन पनि मनोमानी ढंगले गर्दै छ।

प्रकाशित: २६ माघ २०८० १४:१९ शुक्रबार

चुरे क्षेत्र