समाज

स्त्रीद्वेषी सञ्जाल

यस्ताे पनि!

पछिल्ला केही वर्षयता सामाजिक सञ्जाल स्त्रीद्वेषी हुन थालेको शोधमा संलग्न विज्ञहरूले जनाएका छन्। यस्ता सामाजिक सञ्जालले पस्कने मूलतः भिडियोहरू स्त्रीद्वेषी हुने र तिनले बालबालिकालाई नराम्रो प्रभाव पारिरहेको समेत अध्ययनले औँल्याएको छ।

विद्यालयका खेल मैदानमा प्रायः छात्राहरूमाथि विभेद, गालीगलौज लगायतका क्रियाकलाप पहिलेको तुलनामा बढेको पाइएको हो। खासगरी टिकटकले पस्किएका भिडियो बढीजसो स्त्रीद्वेषी हुने गरेको समेत औँल्याइएको छ।

यसरी सामाजिक सञ्जाल विषाक्त हुन थालेपछि ‘स्वस्थ डिजिटल पोषण’का लागि अध्येताहरूले आग्रह गरेका छन्। बालबालिकाहरूलाई मोबाइल चलाउन बन्द गर्नुको साटो बरु उनीहरूलाई स्वस्थ पोषणयुक्त डिजिटल कन्टेन्ट उपलब्ध गराउनेतर्फ सम्बद्ध पक्षलाई ध्यानाकर्षण गरिएको छ। नत्र बालबालिकासँग मोबाइल खोस्दैमा उनीहरूमा त्यसको कुप्रभाव नमेटिने अध्येताहरूको धारणा छ।

युनिभर्सिटी कलेज लण्डन र केन्ट विश्वविद्यालयले अध्ययन निष्कर्ष प्रकाशित गर्दै कलिला विद्यार्थीहरूमा सामाजिक सञ्जालको कुप्रभावबारे सचेत गराएका हुन्। जेनरेसन जेड भनी चिनिने नयाँ पुस्ता यसबाट बढी प्रभावित छन्।

पछिल्लो समय नारीवादमाथि नयाँ पुस्ताले तितो पोख्ने, नारीवाद वाहियात कुरा हो भन्ने धारणा बनाउने जस्ता धारणा नयाँ पुस्तामा देखिएको छ। जबकि वृद्ध पुस्ता र खासगरी ‘बेबी बुमर्स’भन्दा चर्को विरोधी जेन जेड देखिएकामा अध्ययनले चिन्ता जनाएको छ। यस्तोमा यसको समाधान १६ वर्षभन्दा मुनिका बालबालिकालाई मोबाइल चलाउन प्रतिबन्ध लगाइनुपर्ने कुरा पनि उठिरहेका छन्।

‘सुरक्षित स्क्रलिङ’ शीर्षकमा गरिएको सो अध्ययनमा हानिकारक कन्टेन्टहरूलाई मनोरञ्जनका नाउँमा अल्गोरिदमले पस्किरहेको पाइएको हो। ‘अनलाइनमा जे जस्ता सामग्री किशोरकिशोरीले बढीभन्दा बढी हेर्छन्, अफलाइन जीवनमा युवालाई नराम्रो प्रभाव पारिरहेको हुन्छ,’ युनिभर्सिटी कलेज लण्डनकी प्रमुख अनुसन्धाता डा. क्याटलिन रेगेर भन्छिन, ‘यसले खराब कामलाई पनि सामान्य रूपमा नै लिने बानी बस्छ। त्यसैले पछिल्लो समय विद्यालय हाताभित्र विद्यार्थीको व्यवहार बद्लिन थालेको हो।’

अध्येताहरूले किशोरकिशोरीका टिकटक अकाउन्टमा आएका हजार भिडियो र अल्गोरिदमले सिफारिस गरेका भिडियोलाई सात दिनसम्म लगातार अध्ययन गर्दा चार गुणा बढी स्त्रीद्वेषी, अब्जेक्टिफिकेसन (वस्तुकरण), यौन उत्पीडन, महिलाका धारणालाई महत्व नदिने (डिस्क्रेडिटिङ) सामग्रीको ओइरो लागेको पाएका हुन्।

यस्ता भिडियोको ओइरो ५६ प्रतिशतले बढेको अध्येताले पाएका हुन्। त्यसैले अल्गोरिदमलाई तुरुन्त सच्याउनुपर्ने अनि अनलाइन सुरक्षा विधेयक अघि बढाउन अध्येताले सुझाव दिएका छन्।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: २६ माघ २०८० १०:०२ शुक्रबार

यस्ताे पनि ! स्त्रीद्वेषी सञ्जाल