समाज

कपडा व्यापारी अग्रवाल अवैध कारोबारका एजेन्ट !

घरमै सुन तौलने मेसिन, दिनमै करोडौंको भुक्तानी

हुन्डी कारोबारको आरोपमा पक्राउ परेका कपडा व्यापारी नरेश अग्रवाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चोरी भएको ९ किलो सुन र सोही विमानस्थलबाहिरबाट बरामद करिब ६१ किलो सुनको पैसा भुक्तानी गर्ने आधिकारिक एजेन्ट रहेको पाइएको छ।

सुन जोख्ने मेसिन र ‘कल डिटेल’का आधारमा रकम भुक्तानीमा उनको संलग्नता देखिएको हो। उनी माघ ३ गते राति क्षेत्रपाटीबाट पक्राउ परेका थिए। त्यसक्रममा उनको घरबाट सुन जोख्ने मेसिन बरामद गरिएको थियो। उक्त मेसिन र कारोबारका क्रममा भएको ‘कल डिटेल’मा राजस्व अनुसन्धान विभागले अनुसन्धान गर्दा सुन तस्करीका दुवै प्रकरणमा रकम भुक्तानीमा उनको संलग्नता देखिएको हो।

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोको सहयोगमा राजस्व अनुसन्धान विभागले अग्रवाललाई पक्रेको थियो। विभागको टोलीले त्यतिबेला उनको घरबाट २ करोड नेपाली रुपैयाँसहित २ हजार अमेरिकी डलर र अन्य देशका मुद्रा पनि बरामद गरेको थियो। त्यसक्रममै उनको घरबाट सुन जोख्ने मेसिन पनि बरामद भएको थियो।

विभागको अनुसन्धानको दायरामा आएपछि सुन तस्करी प्रकरणहरूमा रकम भुक्तानी गर्ने कार्यमा उनको संलग्नता देखिएको हो। विभागका महानिर्देशक नवराज ढुंगानाले अवैध कारोबारमा ‘कनेक्सन’ देखिएपछि उनीमाथि गहिरो अनुसन्धान भइरहेको बताए।

‘सम्पत्ति शुद्धीकरण, अवैध कारोबार, सुन तस्करी, हुन्डी कारोबारमा उनीमाथि अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘क्रिप्टो करेन्सी कारोबारमा पनि संलग्न रहेको हो कि भन्ने आशंका छ।’

अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार अग्रवालले एक दिनमै करोडौं रुपैयाँ कारोबार गरेको पाइएको छ। ‘पक्राउ परेकै दिन पनि उनले करोडभन्दा बढीको कारोबार गरेको देखियो,’ स्रोतले भन्यो।

स्रोतका अनुसार रकम पठाउन क्रिप्टो करेन्सी कारबार गरेको हुन सक्ने देखिएको छ। ‘उनले चिनियाँ नागरिक ली हानसोङ लुईसँग कारोबार गरेको पाइएको छ,’ स्रोतले भन्यो। अघिल्लो वर्षको  पुसमा विमानस्थलबाट हराएको ९ किलो सुन तथा विभागले नै बरामद गरेको करिब ६१ किलो सुनको करोबारमा उनीहरू दुवै जना जोडिएका छन्।

अग्रवालले कहाँबाट कति सुन आएको भन्ने जानकारी पनि राख्ने गरेका थिए। ‘सुनको रकम भुक्तानी सुरक्षित रूपमा हुन्डीमार्फत नै हुने भएकाले अग्रवालले नेपालको प्रशासनिक र सुरक्षा निकायमा समेत राम्रो प्रभाव राखेको देखिन्छ। सुन तस्करले उनीमार्फत कारोबार गरेको पाइयो,’ विभाग स्रोतले भन्यो। अग्रवालका बारेमा विभागले यसअघि नै जानकारी पाइसकेको थियो तर प्रमाण अभावले उनी जोगिँदै आएका थिए।

‘विमानस्थलबाहिबाट बरामद सुनको रकम भुक्तानी अग्रवाल र उनको समूहबाटै भएको विभागमा जानकारी आएको थियो । पर्याप्त प्रमाण जुट्न सकेको थिएन। पछि सशस्त्र प्रहरी बलको सहयोगमा प्रमाणसहित पक्राउ गर्दा सुन तौलिने मेसिन पनि बरामद भयो ।

उनले कारोबार गर्दै गरेका अन्य प्रमाण पनि फेला परेका छन्,’ विभाग स्रोतले भन्यो । नेपालको बाटो भएर तस्करी हुने सुनको सबै रकम भुक्तानी हुन्डीमार्फत नै हुँदै आएको विभागका महानिर्देशक ढुंगानाले पनि स्वीकार गरेका छन्।

‘अग्रवालको कारोबार हेर्दा सुनको भुक्तानी हुन्डी र क्रिप्टोमार्फत भएको देखिन्छ तर विभागको अनुसन्धान जारी छ,’ महानिर्देशक ढुंगानाले भने। इलेक्ट्रिक सिगरेट (भेप) मा सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङ र ६१ किलो सुनमा संलग्न चिनियाँबीच सम्पर्क भेटिएको थियो।

६१ किलो सुन तस्करीमा तीन जना चिनियाँ नागरिकको मुख्य भूमिका देखिएको थियो। ‘एलेक्स’ भनेर चिनिने याओ पुचेङ र ‘अली’ भनेर चिनिने ली वेन सुङ र जिक्वान लिन अहिलेसम्मको अनुसन्धानबाट मुख्य भूमिकामा देखिएका छन्। अग्रवालको सम्पर्क र कारोबार पनि उनीहरूसँग देखिएको विभाग स्रोतको भनाइ छ।

विभाग स्रोतले दिएको जानकारीअनुसार अग्रवाल र उनका छोरा अभिषेक अग्रवालको बैंक खाता पनि प्रयोग भएको छ। ‘उनको आफ्नै र छोरा अभिषेक अग्रवालको खाताबाट पनि कारोबार भएको छ। अभिषेक भने अहिले फरार छन्,’ विभागका एक अधिकारीले भने।

ती अधिकारीका अनुसार भारतको राजस्व अनुसन्धान विभाग (आइआरडी) ले अभिषेकलाई पक्राउ गरी दण्ड–जरिवाना गरेर छाडेको पाइएको छ। ‘भारतमा अवैध कारोबारमा पक्राउ परेका रहेछन्। यता पनि उनको कारोबार शंकास्पद छ,’ ती अधिकारीले भने।

विभागले हुन्डी, सुन र क्रिप्टो तीन अवैध कारोबारसँग जोडेर उनको अनुसन्धान गरिरहेको छ। ‘उहाँलाई ६० दिनसम्म राखेर अनुसन्धान गर्न पाइन्छ। त्यसकारण सबै प्रकारका अवैध कारोबारमा उहाँको संलग्नताबारे अनुसन्धान हुन्छ,’ विभागका महानिर्देशक ढुंगानाले भने।

पक्राउ परेका बखत बरामद भएको मोबाइलमा आएको विवरणअनुसार सबै युएसडिटीमार्फत नै भुक्तानी भएको देखिएको विभागका अनुसन्धान अधिकृतको भनाइ छ। युएसडिटी भनेको नेपालमा क्रिप्टो करेन्सीको कारोबार भएको ती कर्मचारीको दाबी छ।

कपडा व्यापारका आडमा उनले नेपालमा रहेका भारतीय नागरिकको रकम पनि हुन्डीमार्फत पठाएको खुलेको छ। त्यसका लागि उनले कुलेश्वर र बल्खुमा छुट्टै काउन्टर राखेका थिए। तर चिनियाँ नागरिकलाई गर्ने भुक्तानीचाहिँ उनको घरबाट मात्रै हुने गरेको थियो।

‘सो विषयमा गहिरो अनुसन्धान भइरहेको छ,’ विभाग स्रोतले भन्यो। चीनका विभिन्न नाकाबाट नेपालको बाटो हुँदै भारततर्फ सुन तस्करी हुने भएकाले भारतीय व्यापारीले उनलाई नै विश्वास गरेर रकम पठाउने गरेको स्रोतको दाबी छ।

प्रकाशित: २६ माघ २०८० ०६:२१ शुक्रबार

हुन्डी कारोबार नरेश अग्रवाल अवैध कारोबारका आधिकारिक एजेन्ट कपडा व्यापारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चोरी बरामद सुन भुक्तानी