समाज

सुनिल र विकललाई तेस्रो पटक थप ७ दिन थुनामा राख्न अनुमति

नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तेस्रो पटक ७ दिन थुनामा राख्ने अनुमति लिएको छ।

एक साता अघि दोस्रो पटक विशेष अदालतबाट लिइएको ७ दिन हिरासतमा राख्ने अनुमतिको म्याद बुधबार सकिएको थियो। त्यसकारण अख्तियारले फेरि एक साताका लागि हिजो याद थपेको हो।

पौडेल द्वयलाई गैर कानुनी सम्पत्ति आर्जन गरेको भनी परेको उजुरीका सम्बन्धमा अख्तियारबाट अनुसन्धान भइरहेको जनाइएको छ। 

दुवै जनाले नेपाल राष्ट्र बैंकको स्वीकृतिबेगर विदेशी बैंकमा खाता खोली रकम जम्मा गरेको, नेपालको सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रूपमा नियुक्ति लिएको भेटिएको अख्तियारको दाबी छ।

विकल पौडेलको हकमा निजले संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमतिसमेत लिएको देखिएको र उनीहरूले कसुरसम्बद्ध प्रमाण नष्ट गर्न सक्ने र भागी जाने सम्भावना भएको भन्दै पक्राउ पुर्जी दिई अख्तियारले दुई साता अघि हिरासतमा लिइएको थियो।

प्रकाशित: २५ माघ २०८० १५:३४ बिहीबार