समाज

नक्कली छोरी बनाइ नागरिकता बनाइदिएको मेयर सिंहलाई कारबाही नगरेकाे भन्दै प्रदर्शन

नागरिकता काण्डमा मुछिएका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई कारबाही नभएको भन्दै सचेत नागरिक समाजका अगुवाहरू विरोधमा उत्रिएका छन्।

नक्कली छोरी बनाइ नागरिकता बनाइदिएको घटना बाहिरिइएको एक महिना बितिसक्दा पनि पावरको दम्भमा मेयर माथि प्रशासनले छानबिन प्रक्रिया अगाडी नबढाएको भन्दै बुधबार सचेत नागरिक समाजले जिल्ला प्रशासन कार्यालय पर्साको गेट अगाडी विरोध सहित धर्नामा दिएका हुन्।

किर्ते नागरिकता छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै ‘ नक्कली बुवा बन्न मिल्दैन, नक्कली नागरिकता खारेज गर, दोषीलाई पदमुक्त गर’, लगायतको नारा सहित जिल्ला प्रशासन कार्यालयको गेट अगाडी दुई घण्टा नागरिक समाजले धर्ना दिएका छन्। 

धर्नामा सहभागी पूर्व कृषिराज्य मन्त्री एवं संविधानसभा सदस्य तथा जनमत पार्टीकी केन्द्रीय सदस्य करिमा बेगमले आमा बुवा श्रीमानको नागरिकता हुने सर्वसाधारण महिलालाई प्रशासनबाट अनेकन प्रमाणको माग गर्दै नागरिकता लिन कठिनाइ भइरहेको बताइन्। तर महानगरका मेयर सिंहले अरूको छोरीलाई आफ्नो छोरी बनाई सहजै नागरिकता दिलाउनु भनेको अहिले प्रशासनको काम कारबाही माथि प्रश्न चिन्ह उठेको बताइन्। उनले ठुलालाई चैन र सानालाई ऐन किन? भन्ने प्रश्न गर्दै कानुन सबैमा बराबर हुनुपर्ने कुरामा जोड दिइन्।

वीरगंज महानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष राम किशोर सिंह परागले नागरिकता बनाउने बेला वडामा अनुसूची १ फारम भराइ वडा कार्यालयकै ढडामा सनाखत हुने गरेको र पुन जिल्ला प्रशासन कार्यालयमा सनाखत गरी नागरिकता दिने व्यवस्था रहेको बताए। अहिले जिल्ला प्रशासन कार्यालयबाट अनुसूची फारम गायब भएको हल्ला चलिरहँदा वडाबाट ती सहायक कागजातहरू प्रशासनले छानबिन गर्नुपर्ने बताए। एक मात्र छोरा भएको सबै प्रमाण र जानकारी हुँदा अहिले सम्म प्रशासनले सूचनाको मार्फत छानबिन प्रक्रिया अगाडी बढाइसक्नु पर्ने वडा अध्यक्ष परागले भने। उनले एक महिना बित्ती सक्दा पनि अहिले सम्म प्रशासनले ठोस रूपमा आफ्नो कारबाही प्रक्रिया अगाडी नबढाउँदा आफूहरू धर्ना कार्यक्रममा सहभागी हुनु परेको बताए।

जनमत पार्टीका जिल्ला सह–इन्चार्ज मुकेश द्विवेदीले आफूहरू बाध्यतावस जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिनुपरेको बताए। विभिन्न सञ्चार माध्यमबाट अहिले देश भरि नै चर्चाको विषय रहेको नागरिकताको विषयमा अहिले प्रशासन मौन बसिरहँदा यसको विरोधमा छानबिन गर्न धर्नामा बस्नुपरेको उनले बताए।

यस्ता प्रकृतिका अपराधमा सर्वसाधारण भएको भए कस्तो खालको कारबाही हुन्थ्यो र अहिले सम्म मेयरलाई कारबाही नहुनुको कारण के हो भन्दै धर्ना दिइरहेको नेपाली काँग्रेस पर्सा क्षेत्र नं २ का सभापति मोहम्मद सहाबुदिनलले बताए। 

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले अहिलेसम्म अनुसूची फर्मको खोजी जारी रहेको बताए। “हामीले यो केशलाई बडो सूक्ष्म ढङ्गले हेर्दैछौ र यसमा जो कोही दोषी भएतापनी हामीले कारबाहीको दायरामा ल्याउँछौ यसमा कहिकतै आशङ्का नगरियोस्, उनले भने।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार माथिल्लो निकायहरूबाट यो प्रकरणमा खोजबिन सुरु भइरहेकाले केही समय पछाडि सबैसँग सहकार्य गरेर अनुसन्धानको दायरा फराकिलो बनाइ बाँकी प्रक्रिया अगाडि बढाइने छ। 

प्रकाशित: २४ माघ २०८० १७:२१ बुधबार

मेयर राजेशमान सिंह वीरगंज महानगरपालिका