समाज

करेन्ट लागेर एक युवकको मृत्यु

करेन्ट लागेर कालिकोटमा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका ४ लयाँटीका २९ वर्षीय प्रकाश बुढा रहेको प्रहरीले जानकारी दिएको छ।

दैलेख र कालिकोटको सिमाना दहीखोलानजिकै एभरेस्ट नेटवर्क प्रालिको फाइबर विस्तार गर्ने क्रममा घाइते भएका बुढाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी पोषण थापाले बताए। मृतक एभरेस्ट नेटवर्ककै कर्मचारी रहेको प्रहरीले जनाएको छ।

सूचना अधिकारी थापाका अनुसार मंगलबार बेलुकी बिजुलीको पोलमा करेन्ट लागेको थियो। प्रहरीलाई बेलुका आठ बजे मात्रै घटनाबारे जानकारी भएपछि उनलाई प्रदेश अस्पताल ल्याइएको थियो। राति ११ बजे अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

राष्ट्रिय प्रसारण लाइनको पोलमा एभरेस्ट नेटवर्कको फाइबर विस्तारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २४ माघ २०८० १३:४६ बुधबार

प्रकाश बुढा करेन्ट कालिकोट पञ्चदेवल विनायक नगरपालिका लयाँटी