समाज

दृष्टिविहीनलाई सडकमा गाउनसमेत दिँदैनन् र्‍यापर मेयर बालेन

सल्यानका दृष्टिविहीन पूर्णबहादुर रोक्का सात वर्षदेखि राजधानीमा छन्। कोरोना अगाडिसम्म नोकरी गर्दै आएका उनी त्यसपछि बेरोजगार बने। स्नातक उत्तीर्ण उनले त्यसयता सडकमा गीत गाएर कलिला नानीहरूको पेट भर्दै आएका छन्।

काठमाडौं महानगरपालिकाले सडकमा दृष्टिविहीनलाई पनि बस्न नदिएपछि उनी विरोधमा उत्रिएका छन्। ‘राज्यले रोजगारी दिन सक्दैन,’ उनी भन्छन्, ‘सडकमा गीत गाएर परिवार पाल्छु भन्दा महानगरपालिकाले रोक लगाउँछ।’  

महानगरले सडकमा रोक लगाएको त एक वर्षभन्दा बढी भइसक्यो। तर रोक्का र उनीजस्तै दृष्टिविहीनले बाँच्न कहिले यताको सडकमा त कहिले उताको सडकमा गीत गाएर जीविका चलाउँदै आएका थिए। यहीक्रममा आफ्ना साथीहरूलाई पक्राउ गरेपछि रोक्काले मंगलबार सुन्धाराको बागदरबारस्थित महानगरको गेटमा धर्ना दिए।

‘हामीले रहरले हैन, बाध्यताले सडकमा गाउन थालेका हौं,’ उनले भने, ‘यहाँ पनि गीत गाउन रोक भन्छ सरकार।’ पढेर पनि रोजगारी नपाएपछि सडकमै बसेर गीत गाउन थालेको उनले सुनाए। ‘भोकै बस्नुभन्दा त गीत गाएरै भए पनि बाँच्नुपर्‍यो नि,’ उनले भने, ‘यसमा हामीले के अपराध गर्‍यौं र ?’

धर्नामा उनीसँगै दृष्टिविहीन शारदा भण्डारी पनि दुई वर्षको बच्चा बोकेर सहभागी भएकी थिइन्। आफ्ना पतिलाई महानगर प्रहरीले पक्राउ गरेर टेकु लगेपछि धर्नामा आएको उनले बताइन्।

‘धर्ना सकेर हामी अहिले टेकु जाँदैछौं,’ उनले भनिन्, ‘महानगरले सडकमा बसेर गीत गाउन रोक लगाएसँगै हामीले दिनहुँ दुःख पाउन थालेका छौं।’ महानगरले सडकमा गीत गाउन रोक लगाउनुअघि आफूहरूको व्यवस्थापनमा ध्यान दिएको भए समस्या नहुने उनको भनाइ थियो।  

धर्ना दिन झन्डै दुई दर्जन दृष्टिविहीन महानगरको गेटमा भेला भएका थिए। उनीहरूको माग परिवार पाल्न काठमाडौंका सडकमा बसेर गीत गाउन पाउनुपर्ने छ। महानगरले सडकमा गीत गाउन नदिने भए रोजगारी दिनुपर्ने उनीहरूको माग छ। ‘सडकमै बसेर गीत गाउनुपर्छ भन्ने पनि हैन,’ दृष्टिविहीन दीपराज भन्छन्, ‘तर राज्यले हामीजस्ताको माग सम्बोधन गर्नुपर्छ।’

दृष्टिविहीनलाई जिउने बाटो देखाउने जिम्मा राज्यको भएको उनले बताए। ‘सडकबाट हटाउनुअघि जीवन जिउने बाटो देखाइदेऊ,’ परियार भन्छन्, ‘नभए त्यही सडकमा हामी पनि सहज जीवन जिउन चाहन्छौं।’

प्रकाशित: २४ माघ २०८० ०७:०२ बुधबार

र्‍यापर मेयर दृष्टिविहीन सडक पूर्णबहादुर रोक्का राजधानी काठमाडौं महानगरपालिका