समाज

स्थानीय तहको पुँजीगत खर्च निराशाजनक, १५ प्रतिशत पनि कटेन

क्याप्सनः लिमचुङबुङ गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवन। तस्विरः महेश्वर

चालु आर्थिक वर्षको ६ महिनामा उदयपुरका स्थानीय तहरुले सन्तोषजनक रुपमा बजेट खर्च गर्न सकेका छैनन्। त्यसमा पनि पुँजीगत खर्च झन न्यून छ।

पुस मसान्तसम्ममा यहाँका स्थानीयतहले पुँजीगत खर्चको हिस्सा समग्रमा १५ प्रतिशत कटाउन सकेका छैनन्। चार नगर र चार गाउँपालिका रहेको उदयपुरमा चालु र पुँजीगतको समग्र खर्च प्रतिशत पनि ४० नाघेको छैन।

त्रियुगा, कटारी, बेलका र चौदण्डीगढी नगर तथा उदयपुरगढी, रौतामाई, ताप्ली र लिमचुङबुङ गरी ८ स्थानीय तह उदयपुरमा छन्।

सबै स्थानीय तहको समग्र बजेट खर्च न्यून छ भने पुँजीगत खर्च निराशाजनक छ। नगरभन्दा गाउँपालिकातर्फ खर्च प्रतिशत अलि बढी भएको पाइएको छ। सबभन्दा धेरै पुँजीगत खर्च लिमचुङबुङ गाउँपालिकाले गरेको छ भने सबभन्दा उदयपुरगढीले।

लिमचुङबुङले पुँजीगत खर्च ४०.७१ प्रतिशत र चालुतर्फ ३८.३९ प्रतिशत गरेको लेखापाल विवेक आचार्यले बताए। उनका अनुसार समग्रमा लिमचुङबुङले पुस मसान्तसम्म ४४.६८ प्रतिशत खर्च गरेको छ।

लिमचुङबुङका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले पुँजीगत खर्च योभन्दा बढी भएको तर, भुक्तानी गर्न मात्र बाँकी रहेको बताए। उनका अनुसार कतिपय कामको बिल भुक्तानीको पाईपलाईनमा रहेको हुनाले खर्च भएको नदेखिएको हो। अधिकृत गुरुङले चालु वर्षका लागि गाउँ सभाले ३६ करोड ३० लाख ८९ हजार ४ सय रुपैयाँको अनुमानित बजेट स्वीकृत गरेको बताएका छन्।

अर्को गाउँपालिका रौतामाईको पुस मसान्तसम्मको समग्र खर्च ३३.३० प्रतिशत छ। रौतामाईको पनि पुँजीगततर्फको बजेट खर्च भने १८.१७ प्रतिशतमा सीमित छ। चालुतर्फ खर्च प्रतिशत भने ३८.५१ पुगेको प्रमुख प्रशासकीय अधिकृत जनक बस्नेतले बताए। उनका अनुसार रौतामाईले पुँजीगत तर्फ १३ करोड ७५ लाख ८८ हजार २ सय ८५ विनियोजन गरेकोमा पुस मसान्तसम्म २ करोड ४९ लाख ९७ हजार ५ सय ३० रुपैँया खर्च भएको छ।

चालुतर्फ भने ३९ करोड ९१ लाख १३ हजार ७ सय १५ रुपैयाँ विनियोजितमध्ये १५ करोड ३७ लाख ७ हजार ८ सय ३२ रुपैयाँ खर्च भएको छ। लेखा अधिकृत भुपध्वज रायमाझीका अनुसार रौतामाईको चालु वर्षको स्वीकृत कुल अनुमानित आयव्यय ५३ करोड ६७ लाख २ हजार रुपैयाँ हो।

त्यसैगरी ताप्ली गाउँपालिकाले पुस मसान्तसम्ममा समग्र बजेटको ३१.५९ प्रतिशत खर्च गरेको छ। प्रमुख प्रशासकीय अधिकृत भक्त राईका अनुसार चालु वर्षका लागि गाउँसभाबाट पारित कुल ३८ करोड १९ लाख ९२ हजार ८ सय ६० रुपैयाँको अनुमानित आयव्ययमध्ये पुस मसान्तसम्म १२ करोड ६७ हजार ९ सय १० रुपैयाँ खर्च भइसकेको छ।  

ताप्लीले पुँजीगततर्फ २३.६२ प्रतिशत खर्च गरेको छ भने चालुतर्फ ३४.६५ प्रतिशत खर्च भइसकेको छ। पुँजीगततर्फ विनियोजित १० करोड ५८ लाख ९६ हजार १३ रुपैयाँमध्ये ताप्लीले २ करोड ५० लाख १२ हजार ६ सय ३८ रुपैयाँ खर्च गरिसकेको लेखापाल टीकाराम रहपालले बताए। चालुतर्फ विनियोजित २७ करोड ६० लाख ९६ हजार ८ सय ४६ रुपैयाँमध्ये पुस मसान्तसम्म ९ करोड ५६ लाख ५५  हजार २ सय ६२ रुपैयाँ खर्च भएको लेखापाल रहपालको भनाई छ।  

त्यसैगरी उदयपुरगढी गाउँपालिकाले ६ महिनाको अवधिमा समग्र बजेटको १५.९८ प्रतिशत खर्च गरिरहेको छ। पुँजीगततर्फ १०.२५ प्रतिशत खर्च गरेको उदयपुरगढीले यो अवधिमा चालुतर्फ १८.८६ प्रतिशत हिस्सा खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईँले बताए। हाकिम गुरागाईँका अनुसार चालु वर्ष उदयपुरगढीको कुल विनियोजित बजेट अंक ६४ करोड ९७ लाख ७१ हजार ६ सय ९० रुपैयाँ हो।

लेखा अधिकृत शेखर बुढाथोकीका अनुसार गाउँ सभाले चालुतर्फ ४३ करोड २६ लाख ९९ हजार १ सय १४ रुपैयाँ विनियोजन गरेको छ जसमध्ये पुस मसान्तसम्म १६ करोड ७६ लाख २० हजार ४ सय ३१ रुपैयाँ खर्च भएको छ। बुढाथोकीका अनुसार पुँजीगततर्फ विनियोजित २१ करोड ७० लाख ७२ हजार ५ सय ७३ मध्ये २ करोड २२ लाख ४१ हजार ९ सय ४७ रुपैयाँ खर्च भइसकेको छ।

बजेटको काम भइरहे पनि बिल भुक्तानी गर्न बाँकी भएकाले यकिन खर्च भने यो भन्दा बढी नै हुनसक्छ। विकास निर्माणका कामहरू धमाधम भइरहेको तर, बिल भुक्तानी गर्न बाँकी भएकाले पनि खर्च प्रतिशत कम देखिएको लेखा अधिकृत बुढाथोकीको भनाई छ।  

प्रकाशित: २२ माघ २०८० १२:४० सोमबार

चालु आर्थिक वर्ष उदयपुर स्थानीय तह बजेट खर्च पुस मसान्त