समाज

जलविद्युत आयोजनाले लाइन काटिदिए पछि गाउँमा पानीको हाहाकार

धारामा एक साता देखी पानी नआएको देखाउँदै दोलखाको तामाकोशी गाउँपालिका ५, शहरे स्थित खिम्ती डाँडा गाउँका स्थानीय। तस्बिर: रमेश/नागरिक
विद्युत उत्पादनमा कमी भएको भन्दै खिम्ती १ जलविद्युत आयोजनाले गाउँलेलाई वितरण गरेको खानेपानीको पाइपलाइन काटिदिए पछि खानेपानीको हाहाकार भएको छ।
 
वैकल्पिक व्यवस्था बिनै गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष समेतको सहमतिमा खिम्ती १ जलविद्युत आयोजनाले गाउँलेको खानेपानी लाइन काटिदिएपछि दक्षिणी तामाकोशी गाउँपालिकाको शहरे गाउँका ५ ओटा बस्तीमा एक सातादेखि खानेपानीको हाहाकार भएको हो। 
 
२०७२ सालको भूकम्पले गाउँका मुहानहरू खल्बलाईदिएपछि गाउँको बिचबाट गएको जलविद्युत कम्पनीको सुरुङबाट कम्पनी आफैले पाइप मार्फत गाउँलेलाई खानेपानी दिएको थियो। तर वैकल्पिक व्यवस्था गरेर पानी वितरण गर्न भन्दै आयोजनाको सञ्चालक कम्पनी हिमाल पावर लिमिटेडले डिप बोरिङबाट पानी निकाल्न ५० लाख रुपैंया दिएको भन्दै यही माघ १५ गते आफूले दिएको पानी काटेको थियो। पानी काट्ने सहमतिमा गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसी र वडा अध्यक्ष शम्भु फुयाँल लगायतले हस्ताक्षर गरेका थिए। 
 
उपभोक्ता समिति मार्फत डिप बोरिङबाट वैकल्पिक खानेपानी निर्माण भइसकेको दाबी सहितको सहमति पछि खानेपानीका लाइन काटिएको थियो। तर वैकल्पिक व्यवस्था भनिएको डिप बोरिङबाट धमिलो र पहेँलो पानी आइरहेको र उक्त पानी पशु चौपायाका लागी समेत खान योग्य नरहेको स्थानीय चन्द्र प्रसाद सुवेदीले बताए। 
 
भुईँचालो पछि सुरुङबाट जोडिएको थियो पानी 
 
छिमेकी रामेछापसँग सीमा जोडिएको शहरे गाउँको बिचबाट खिम्ती १ जलविद्युत आयोजनाको बिजुली बाल्ने ‘टर्बाईन’ घुमाउन पानी हिँड्ने सुरुङ गएको छ। पावर हाउस जाने त्यही सुरुङ वरपरका बस्ती सुक्खा भए पनि २०७२ को भूकम्प अघि सम्म गाउँमा पानीको खासै हाहाकार हुँदैनथ्यो। गाउँलेले सुरुङ माथि रहेका झन्डै आधा दर्जन मुहानबाट पानी खाइरहेकै थिए। 
 
७२ सालको भुईँचालोले शहरे गाउँलाई पनि राम्रै गरी हल्लाइदियो। झन्डै २८ वर्ष अघि नर्वेजियन कम्पनीले खिम्ती १ जलविद्युत आयोजनाको सुरुङ खन्न विस्फोट गराउँदा हल्लिएका गाउँका मुहानहरू भुईँचालोको कम्पनले थप खलबलिए। कम्पनले सबै मुहान सुकेपछि गाउँमा पानीको हाहाकार हुन थाल्यो।  भूकम्प पछि फुयालथुम्काका ३, ज्यामिरेको एक, पौवा खिम्तिडाँडा र च्यानडाँडाका ५ वटा मुहान सुकेको स्थानीय ७८ वर्षिया बृद्ध उत्तर बहादुर सुबेदीले बताए।
 
उनका अनुसार पानीको अभावले शहरेबासी काकाकुल बन्न थाले। तिर्खाएका गाउँलेले जलविद्युत आयोजनाको ठाडो सुरुङको ढोका फोडेर सुरुङ भित्र मेसिन हाली त्यही पानी तानेर गाउँमा वितरण गरे। आयोजनाले प्रशासन गुहा¥यो। आफ्नो सुरुङबाट पानी नतान्न दबाब बढायो। तर काकाकुल बनेका गाउँलेका अगाडी  विद्युत कम्पनीको केही लागेन। उसले अर्को सुरुङबाट ३२ ‘एमएम’को पाइप मार्फत पानी निकालेर गाउँभरी वितरण गर्न सहमति जनायो। गाउँलेले ८ वर्ष यता सोही पानी खाइरहेकै थिए। 
 
८ वर्षमा गाउँकै नेताहरूको पहलमा बृहत् शहरे खानेपानी योजनाका लागी डिपिआर बन्यो। छिमेकी रामेछाप तर्फको हलुवा खोलालाई गाउँको पुछारमा रहेको गोगनटारमा तारेर सिचाई गर्न ल्याइएको पानीलाई लिफ्टीङ गरेर शहरेमा चढाउने योजना अघि सारियो। 
 
गोगनटारबासीले यसमा सहमति नदिएपछि यो त्यसै तुहियो। गाउँलेहरूका अनुसार यो योजना पटक पटक विवादमा प¥यो। दुई ओटा ट्याङ्की बनाइए। यो योजनामा पालिका र सरकारको ठुलो रकम लगानी भए पनि पुरा भएको छैन। योजनामा भ्रष्टाचार भएको भन्दै अख्तियारमा मुद्दा समेत परेको थियो। यस्तै गाउँपालिकाको ५० लाख लगानीमा डिप बोरिङ मार्फत पानी निकाल्ने काम सुरु भयो। विद्युत कम्पनीले समेत गाउँकै खेल मैदान नजिक डिप बोरिङ बाट पानी निकाल्न भन्दै अर्को ५० लाख पठायो। डिप बोरिङको पानी परीक्षण गरियो। तर पानी पहेँलो र असाध्यै धमिलो आयो।  
 
यता गाउँलेलाई सुरुङबाट पानी दिएका कारण बिजुली उत्पादनमा असर परेको भन्दै विद्युत कम्पनीले पानी बन्द गर्ने भन्दै दबाब बढाउन थाल्यो। ५० लाख रुपैंया भुक्तानी दिएको र डिप बोरिङ मार्फत काम भएको भन्दै माघ १५ गतेबाट लाइन काटेको हो। लाइन काटेपछि गाउँमा खानेपानीको चरम अभाव भएको स्थानीय चन्द्र सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार गाउँमा चिम्थली मुहानबाट पानी ल्याईएपनि उक्त मुहानको पानी तिन दिनमा आधा घण्टा मात्र छाडिन्छ। 
 
गाउँपालिका अध्यक्ष प्रोण प्रताप केसीले विद्युत कम्पनी सँग यस अघिको सहमति अनुसार वैकल्पिक व्यवस्था गरेरै पानी काटिएको दाबी गरे। ‘वैकल्पिक व्यवस्था गरेरै पानी काटेका हौँ, तपाई कता कता डुल्नु भयो थाहा भएन तर घर घर जानुस् गाउँलेले चिम्थली मुहानको पानी खाइरहेका छन्’ उनले भने, ‘डिप बोरिङको पानी असाध्यै धमिलो आएका कारण खान योग्य नभएकाले गाउँलेलाई बाडिएको छैन।’ उनले गाउँलेलाई खानेपानी थप सुविधा हुने गरी व्यवस्था गर्न गाउँपालिका प्रयत्नशील रहेको सुनाए।  
 
सुरुङ मार्गबाट वितरण गरिएको पानी शहरेको फुयालथुम्काका २२, पौवाका ११, खिम्तिडाँडाका २२, ज्यामिरेका ९ र च्यानडाँडा बस्तीका ४ गरेर ६४ घरधुरीका स्थानीयहरूले प्रयोग गर्दै आएका थिए। तर आयोजनाले खानेपानीको लाइन काटिदिएपछि अहिले ती बस्तीहरू काकाकुल बनेको खिम्ति ग्रामीण विद्युत् सहकारीका उपाध्यक्ष समेत रहेका स्थानीय नेता भुवन केसीले बताए।
 
हिमाल पावर लिमिटेडको खिम्ती १ जलविद्युत केन्द्रका प्लान्ट म्यानेजर श्याम भट्टले वैकल्पिक व्यवस्था पछि मात्रै आयोजनाले सुरुङको पानी बन्द गरेको दाबी गरे। ‘पहिलो कुरा त के स्पष्ट हुनुस् भने भुईँचालोले मुहान सुकेपछि हामीले सुरुङबाट दिएको पानी पनि खान योग्य हैन, त्यो खोलाको पानी हो, खाने प्रयोजनका लागी नभई खेत तथा करेसाबारीका लागी पानी दिएका हौँ’ उनले भने, ‘अहिले हाम्रै लगानीमा डिप बोरिङ मार्फत पानी निकाल्न थालेपछि यो बन्द गरेका हा।ैं’ उनले डिप बोरिङ गरेर निकालिएको पानी धमिलो आए पछि बुझ्नका लागी गाउँमा कम्पनीले प्राविधिक टोली पठाएको बताए। ‘त्यो पानीलाई प्रशोधन गरेर खान योग्य बनाउन सकिन्छ भने उपाय खोज्छौँ’ उनले भने, ‘नसकिए पनि अरू थप मुहानबाट ल्याउनका लागी वैकल्पिक प्रयासहरू गर्छौ।’  

प्रकाशित: २१ माघ २०८० १८:०५ आइतबार