समाज

नारायणगढ–मुग्लिन सडक थप तीन साता दैनिक ४ घण्टा बन्द गरिँदै

नारायणगढ–मुग्लिन सडक खण्डमा पुल निर्माणका लागि भित्तो काट्ने काम नसकिएपछि थप तीन साता बन्द गरिने भएको छ। यस सडक खण्ड अन्तरगतको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि अन्तिम पटक भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न अनुमति दिएको हो।

यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम गर्ने भनिए पनि काम नसकिएपछि तेस्रो पटक थप गरिएको हो। अन्तिम पटक दिइएको म्याद भोलि सकिँदै छ। यसपटक भने समयमै सकिने सडक नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए। ‘जिल्ला प्रशासन कार्यालय चितवनबाट आज नै अन्तिम पटकको लागि भनेर फागुन १२ गतेसम्म २१ दिनको लागि चट्टान पहाड फोर्न म्याद थप भएको छ’, उनले भने ‘यही अवस्थामा दिएको म्यादसम्म सकिन्छ।’ उनका अनुसार हालसम्म २१ मिटर ढिस्को काटिएको छ। ‘३४ मिटरबाट ढिस्को काट्न थालिएको हो। अब १३ मिटर बाँकी छ’–उनले भने।

त्यहाँको ढिस्को ६० मिटर हाराहारी अग्लो थियो। गत साल २६ मिटर तल झारिएको थियो। बाँकी ढिस्को फागुन १२ गतेसम्म भत्काइने उनले बताए। सडक आयोजनाले मध्यान्न १२ बजेदेखि दिउँसो चार बजेसम्म सडक बन्द गरेर काम गर्दै आएको छ।

गत साल कडा चट्टान आएपछि विस्फोट गर्ने भन्दै काम रोकिएको थियो। यस वर्ष ३८ टनको ब्रेकर प्रयोग गरेर भत्काउन सुरु गरेपछि कामले गति लिएको उनले जानकारी दिए। आवश्यक परेको ठाउँमा चट्टानलाई चिरा पार्ने रक स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर काम गरिएको छ। गत साल २२ टनको ब्रेकर मात्र प्रयोग गरिएको थियो।

यस सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो। बाँकी १५ पुल एकै साथ ठेक्का लगाइएको थियो। विसं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो। पुलको लागत एक अर्ब २८ करोड रुपैयाँ छ। सडक विस्तार गरेसँगै नौदेखि ११ मिटर फराकिलो बनेको छ। राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रूपमा यो सडक रहेको छ। 

प्रकाशित: १८ माघ २०८० १३:३० बिहीबार

नारायणगढ–मुग्लिन सडक खण्ड