समाज

दोदा नदीमा बाढी पूर्वसूचना यन्त्र जडान

फाइल तस्बिर

कञ्चनपुरको दोदा (मछेली) नदीमा बाढी पूर्वसूचना यन्त्र (राडार लेभल सेन्सर) जडान गरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरिया कैलालीको प्राविधिक सहयोगमा १० लाख रुपैयाँको लागतमा सो यन्त्र जडान गरिएको हो।

जडान गरिएको यन्त्रले स्वचालित रुपमा नदीको पानी सतह बढे–घटेको जानकारी दिने फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जय शाहले जानकारी दिए। ‘बर्सेनि बाढीबाट हुने धनजनको क्षति कम गर्न पूर्वसूचना प्रणालीलाई व्यवस्थित गर्ने सुरुआत गरेका छौँ’, उनले भने, ‘अन्य बाढीबाट प्रभावित हुने क्षेत्रमा पूर्वसूचना यन्त्र थप्दै लैजान्छौँ।’

प्रमुख शाहले जडान गरिएका यन्त्रले १०÷१० सेकेनडमा नदीमा पानी सतह घटेबढेको जानकारी दिने बताए। उनका अनुसार यन्त्रले दिने सूचना तथा मौसम विभागको वेबसाइटमार्फत अपडेट भइरहन्छ। सबैले सजिलै वेबसाइट हेरेर पनि बाढीबारे जानकारी पाउने उनको भनाइ छ। नदीको बाढी सतर्कता, चेतावनी, खतरा तहमा पुगेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई बाढीबारे निरन्तररुपमा जानकारी दिन सजिलो हुने उनले बताए।

समूहगत रुपमा एसएमएस गरेर बाढीबारे प्रभावित क्षेत्रका बासिन्दालाई जानकारी दिन सकिने उनले उल्लेख गरे। बाढीबाट हुने धनजनको क्षति कम गर्न यन्त्रले सहयोग पु¥याउने उनको भनाइ छ। यन्त्र जडानले आपत्कालीन सञ्चालन केन्द्र राखिएको ‘डिस्प्ले’ मा बाढीको जानकारी अद्यावधिक भइरहने हुनाले पूर्वसूचना प्रणाली बलियो हुने निड्स कञ्चनपुरका विपद्सम्बन्धी कार्यक्रम संयोजक नवीन भट्टले बताए।

‘यस कार्यले नदीको तल्लो तटीय क्षेत्र लालझाडी, पुनर्वास, बेलौरीलगायतका पाँच हजार परिवारको बाढीबाट सुरक्षा हुन्छ’, उनले भने, ‘बाढी प्रभावित क्षेत्रका बासिन्दाले बाढी आउनपूर्व नै सूचना पाउने भएकाले सुरक्षित स्थानमा जान सक्ने हुँदा धनजन जोगाउन मद्दत पुग्छ।’ डुबान हुने क्षेत्रका बासिन्दा जोगिने उनले जानकारी दिए। दोदा जलाधार क्षेत्रका पालिकासँग सहकार्य गरी बढी पूर्वसूचनाबारे निड्सले कार्य गरिहेको उनले बताए।

‘दोदा नदीमा आउने बाढीले बर्सेनि तल्लो तटीय क्षेत्रका बासिन्दालाई पूर्वसूचना नहुँदा धनजनको क्षति हुँदै आएको थियो’, कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुन साउदले भने, ‘बाढी पूर्वसूचना यन्त्र जडान भएपछि बाढीबाट धनजन जोगाउन सकिन्छ।’

उनका अनुसार सर्भेको कामपश्चात् पूर्वपश्चिम राजमार्गको दोदा नदीको पुलको मध्य भागमा यन्त्र जडान कार्य गरिएको छ। पुनर्वास विपद् व्यवस्थापन शाखाका प्रमुख ओमनाथ ढकालले माथिल्लो तटीय क्षेत्रबाट नदीको बाढी नगरपालिका क्षेत्रमा पुग्न तीनचार घन्टा लाग्ने उल्लेख गर्दै यन्त्र जडान कार्यले बाढी पुग्नुपूर्व नै सतर्कता अपनाएर धनजनको क्षति कम गर्न सकिने बताए। –रासस

प्रकाशित: १८ माघ २०८० ०६:१८ बिहीबार

जल तथा मौसम विज्ञान विभाग पूर्वसूचना यन्त्र राडार लेभल सेन्सर जडान दोदा (मछेली) नदी महाकाली बेसिन फिल्ड कार्यालय अत्तरिया कैलाली प्राविधिक सहयोग